१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

उपत्यकामा रातमा सार्वजनिक सवारी नहुँदा यात्रु हैरान

उपत्यकामा रातमा सार्वजनिक सवारी नहुँदा यात्रु हैरान
अ अ+ अ-
तस्बिर : राजन के.सी

काठमाडौँ । महालक्ष्मीस्थानस्थित एक क्लिनिकमा कार्यरत चापागाउँकी मनिता न्यौपानले केही महीना पहिले जागिर छाड्नुभयो । राति ८ बजेसम्म काम गर्नुपर्ने भए पनि त्यहाँबाट घर फर्कन नियमितरूपमा बस नपाउँदा उहाँले जागिर नै छाड्नुपरेको हो ।

पहिले त्यस क्लिनिकमा काम गर्दा कहिले बस नपाएर ट्याक्सीमा त कहिले मोटरसाइकलमा ‘लिफ्ट’ मागेर जाने गरेको न्यौपानेले बताउनुभयो । रातको समयमा नचिनेको मान्छेसँग हिँड्न सुरक्षित महसुस नभएको उहाँको अनुभव छ । पारिश्रमिकका हिसाबले सन्तोषजनक भए पनि यातायातको साधन नपाउँदा जागिर छाड्नुपर्दा उहाँ दुःखी हुनुहुन्छ । उहाँले भन्नुभयो, “रातको समयमा नचिनेको मान्छेको साधनमा हिँड्न आफैँलाई पनि सुरक्षित महसुस हुँदैन र परिवारलाई पनि सधैँ चिन्ता हुन्छ ।”

कार्यालयमा साँझसम्म काम गर्दा यातायातका साधन नपाएर दैनिक हैरान भइरहेको भक्तपुर ताथलीकी सुनिता दुलालले सुनाउनुभयो । बागबजारस्थित एउटा निजी संस्थामा कार्यरत उहाँ कार्यालयबाट दैनिक साँझ ६ बजे निस्कनुहुन्छ । कार्यालयमा काम गरिरहँदा दिउँसो नै घर कसरी फर्कने भन्ने चिन्ता हुने गरेको उहाँले बताउनुभयो । कहिलेकाहीँ बस तोकिएको समयभन्दा पहिले नै गइसक्दा उहाँ हैरान हुनुहुन्छ । रातको समयमा बस नपाउँदा उहाँ बीच बाटोसम्मको बसमा जाने र त्यसपछि परिवारका सदस्यलाई लिन बोलाउनुहुन्छ । उहाँले भन्नुभयो, “हामी शहरी क्षेत्रबाट केही टाढा घर भएकालाई साँझमा गाडी नपाउँदा काम गर्न साह्रै गाह्रो छ ।”

काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सञ्चालन नहुँदा यात्रु हैरान छन् । उपत्यकाका शहरी क्षेत्रमा भन्दा पनि काँठ (काठमाडौँ आसपासका ग्रामीण क्षेत्र) मा जाने बस साँझ परेपछि चल्दैनन् । उपत्यकामा सार्वजनिक सवारीसाधन अपराह्न (कार्यालय छुट्ने समय) पछि पातलो हुँदै जाने र छरसात बजेपछि ठप्प नै हुने गरेको पाइन्छ ।

कतिपयले रातको समयमा सवारीसाधन नचल्ने कारणले गरिरहेको कामसमेत छाड्न बाध्य छन् । दिउँसो विद्यालयमा पढाउँदै आउनुभएका ललितपुर बाँडेगाउँका अमन कार्की केही समय पहिलेसम्म साँझमा दुई ठाउँमा ट्युसन पढाउनुहुन्थ्यो । घर फर्कनका लागि सवारीसाधन नपाएर पटकपटक समस्या भएपछि अहिले उहाँले एउटा ठाउँमा मात्रै पढाउने गर्नुभएको छ । काठमाडौँको महङ्गीका कारण अतिरिक्त काम गर्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । अहिले उहाँ मोटरसाइकल सिकेर पनि थप काम गर्ने सोचाइमा हुनुहुन्छ । मोटरसाइकल किन्ने रहर नभए पनि बाध्यता बनेको उहाँले बताउनुभयो । “आफ्नो साधन नहुँदा सार्वजनिक यातायात चढेर १० देखि पाँच बजेसम्म काम गर्न मात्रै ठिक्क हुन्छ”, उहाँले भन्नुभयो, “कि त अतिरिक्त काम नगर्ने कि आफूले साधन किन्नुपर्ने बाध्यता छ ।”

यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले अहिले काठमाडौँ उपत्यकाभित्रै चल्ने रात्रिबस नभएको र तत्काल चलाउन कुनै योजना पनि नभएको जानकारी दिनुभयो । होटल रेष्टुरेन्टलगायतका रातिसम्म सेवा दिनुपर्ने ठाउँमा काम गर्नेका लागि रात्रिकालीन यातायात आवश्यक भएको उहाँको जोड छ । रात्रिबस सञ्चालन सङ्घीय सरकारले मात्रै नभएर स्थानीय सरकारले समेत गर्नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारले पनि आपसमा समन्वय गरेर रात्रिकालीन सवारीसाधन सञ्चालन गर्न सक्छ ।”

राति अबेर मात्रै नभएर काठमाडौँवासीले साँझदेखि नै सार्वजनिक यातायात सजिलै नपाउने गरेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताउनुभयो । साँझ पाँचरछ बजेपछि नै सार्वजनिक यातायात कम हुँदा यात्रु अलपत्रमा पर्ने गरेको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकामा रात्रिकालीन बसको आवश्यकता बढिरहेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “साँझदेखि नै सवारीसाधन नपाएर कुरिरहेका यात्रुहरु चोकचोकमा भेट्न पाइन्छ ।”

काठमाडौँ र ललितपुर महानगरपालिकाको समेत शेयर रहेको साझा यातायातले २० नयाँ बस भित्र्याइरहेको छ । यी बसमध्ये कतिपय रात्रिकालीन सेवामा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको दुवै महानगरपालिकाले जनाएका छन् । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले नगरभित्र रात्रिकालीन सवारीसाधनको आवश्यकता रहेको बताउनुभयो । एउटा नगरपालिकाले मात्रै नभएर उपत्यकामा रहेका सबै नगरपालिका आपसमा मिलेर रात्रिबस सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “नगरपालिकाको फोरमको बैठकले निर्णय नै गरेर पनि चलाउन सक्छ ।”