काठमाडौं । चीनले नेपालसम्म रेल मार्ग बनाउन कठिन रहेको बताएको छ ।
बिहीबार काठमाडौंस्थित दूतावासमा पत्रकार सम्मेलन गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले क्रस बोर्डर रेलवे लाइन निर्माण भौगोलिक रुपमा धेरै कठिन र धेरै खर्चिलो रहेको बताइन् । उनले यसका लागि अझै विस्तृत र वैज्ञानिक अध्ययन आवश्यक रहेको बताइन् ।
उनले रेल ल्याउने कार्यमा चीन सरकार प्रतिबद्ध रहेको भन्दै उनले नेपाल सरकारको तर्फबाट पनि सकारात्मक पहल भइरहेको भन्दै खुसी व्यक्त गरिन् ।
यान्छीले भनिन्, ‘राजनीतिक सहमति भयो भन्दैमा भोलि नै रेलवे लाइन बनिहाल्छ भन्ने छैन । यद्यपि रेल नेपालसम्म ल्याउन चिनियाँ सरकार पूरै प्रतिबद्ध छ ।’
उनले नेपालमा रेल ल्याउन बिभिन्न चार चरणका काम पूरा गर्नुपर्ने भन्दै अहिले पहिलो चरणको प्रि–फिसिबिलिटीको काम मात्र सकिएको बताइन् । दोस्रो चरणमा फिसिबिलिटी अध्ययन, तेस्रो चरणमा डिजाइन र चौथो तथा अन्तिम चरणमा निर्माणको काम सुरु हुने बताइन् ।
यस विषयमा नेपाल सरकार, रेल विभागका अधिकारी र चिनियाँ टोलीबीच छलफल जारी रहेको जानकारी उनले दिइन् ।