९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट

प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट
अ अ+ अ-

सुनसरी।  नेपाल प्रहरीबाट अवकाश भएपछि के गर्ने होला ? भन्ने सोचले पिरोल्थ्यो । उमेर थियो, जोस बाँकी थियो । केही न केही त गर्नैपर्छ भन्ने लाग्थ्यो ।

विदेश जान मन थिएन । देशभित्रै रहेर आर्थिक उपार्जन गर्ने र धेरैका लागि उदाहरण बन्ने लक्ष्यका साथ सुरु गरेको कृषिले आज अर्जुन विष्टलाई नयाँ परिचय दिएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का विष्ट आज सफल व्यावसायिक कृषकका रुपमा स्थापित हुनुभएको छ । कृषि व्यवसायबाट वार्षिक रु २८ लाखसम्म आम्दानी गर्दै आएको उहाँले सुनाउनुभयो ।

विसं २०७७ मा प्रहरी सेवाबाट अवकाश लिएपछि उहाँले कृषि व्यवसाय सुरु गर्नु भएको हो । अवकाश हुँदा प्राप्त भएको रु १४ लाख लगानी गरेर व्यवसाय सुरु गर्नुभएका विष्टले अहिले पाँच बिगाहा क्षेत्रफलमा केरा, भुइँकटहर, खरबुजा, मेवा, सयपत्री फूल, दाल, तोरी, साग, मकै, धानलगायत खेती गर्दै आउनुभएको छ । उहाँले नेपाल प्रहरीमा १७ वर्ष सेवा गर्नुभएको थियो ।

केराको बिक्रीबाट मात्रै वार्षिक रु आठ लाख बढी आम्दानी हुने उहाँ सगौरव बताउनुहुन्छ । उत्पादित केराप्रति दर्जन होलसेलमा रु ५० बारीबाटै बिक्री हन्छ । उत्पादित केरा चक्रघट्टी, कालाबञ्जर, चतरालगायत स्थानीय बजारसँगै इटहरी, धरान र गाईघाटसम्म बिक्रीका लागि पठाउने गरिएको छ । उहाँले चिनियाँ चम्पा र कृष्णभोग जातका केरा लगाउनुभएको छ । एउटा केराको बोटबाट १५ देखि २० दर्जनसम्म फल उत्पादन हुने गरेको उहाँको भनाइ छ ।

केरा रोपेको एक वर्षपछि उत्पादन लिन सकिन्छ । केरा खेतीमा मेहनत धेरै छ । रोग किराको समस्या हुन्छ । गोडमेल गर्नुपर्छ र अनावश्यक बोट हटाउनुपर्छ । “खेतीमा आफैँ समय दिन सकिएन भने उत्पादन राम्रो हुँदैन,” उहाँले भन्नुभयो ।

यस्तै, भुइँकटहर बिक्रीबाट पनि राम्रो आम्दानी हुने उहाँले बताउनुभयो । गत वर्ष मात्रै करिब रु १५ लाख बराबरको भुइँकटहर बिक्री गरेको उहाँको भनाइ छ । यस वर्ष गत वर्षको तुलनामा कम क्षेत्रफलमा खेती गरिएकाले उत्पादन घटेको छ ।  भुइँकटहर प्रतिगोटा रु २०० मा बिक्री हुने गरेको छ । यसको मुख्य ‘सिजन’ असारदेखि भदौसम्म हुन्छ ।

बजारमा भुइँकटहरको मूल्य निर्धारणमा भारतीय उत्पादनले पनि प्रभाव पार्ने गरेको उहाँको भनाइ छ । भारतबाट ठूलो परिमाणमा भुइँकटहर भित्रिँदा स्थानीय उत्पादनको मूल्य घट्ने गरेको उहाँ बताउनुहुन्छ । “यस वर्ष नेपाली भुइँकटहरले राम्रो बजार मूल्य पायो, त्यसैले आम्दानी पनि राम्रो भयो,” उहाँले भन्नुभयो ।

त्यस्तै, विष्टले १२ कट्ठा क्षेत्रफलमा खरबुजा खेती गर्नुभएको छ । भारतबाट बीउ ल्याएर उक्त खेती गर्दै आउनुभएका उहाँले उत्पादित खरबुजा थोकमा प्रतिकिलो रु ५० मा बिक्री हुने बताउनुभयो ।

उहाँले उत्पादन गरेका कृषि उपज धरान कृषि बजार, इटहरी, दमक, विराटनगर तथा झापासम्म बिक्री हुने गरेको छ । मकै र धान बिक्रीबाट पनि वार्षिक रु दुई लाख बढी आम्दानी हुने उहाँले सुनाउनुभयो ।

विभिन्न बाली तथा फलफूल बिक्री साथै बजारसम्म पु¥याउन सहज होस् भनेर विष्टले करिब दुई वर्षअघि ‘विष्ट फलफूल पसल’ समेत सञ्चालन ल्याउनुभएको छ । पसल सञ्चालन गरेपछि आफ्नै उत्पादन आफैँ बिक्री गर्न सहज भएको उहाँको भनाइ छ ।

यस वर्ष फलफूल खेतीमा बाढीको असर नपरेको र रोगकिरोको समस्या पनि नभएकाले उत्पादन राम्रो भएको उहाँको भनाइ छ ।

गत वर्षको बाढीले रु १० लाख बराबरको क्षति पु¥याएको विष्टले बताउनुभयो । बाढीका कारण १२ कट्ठामा लगाइएको खरबुजा नष्ट भएको थियो । बिक्रीका लागि तयार भएको सयपत्री फूल डुबानमा परेर नष्ट भयो साथै केराखेतीमा पनि ठूलो क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

उहाँले अरूलाई पनि रोजगारी दिनुभएको छ । ज्यालादारी मजदुरका लागि मात्रै वार्षिक रु पाँच लाखसम्म खर्च हुने गरेको छ । गोडमेल, केरा काट्ने, फलफूल बोक्ने, भुइँकटहर ढुवानी गर्ने, जमिन जोत्ने तथा रोपाइँलगायत काममा मजदुर आवश्यक पर्ने उहाँको भनाइ छ । त्यसबाट स्थानीयलाई रोजगारी उपलब्ध भएको छ ।

प्रहरीबाट अवकाशपछि अन्य व्यापार व्यवसायबाट खासै आम्दानी नहुने देखिएपछि कृषि पेसामा लागेको विष्ट बताउनुहुन्छ । सुरुआती दिनमा भने कृषि व्यवसाय गर्न सहज नभएको उहाँको अनुभव छ । खेत तयार पार्नेदेखि सिँचाइको व्यवस्था गर्ने काममा निकै मेहनत गर्नुपरेको उहाँले बताउनुभयो ।

कृषिमा प्रभावकारी अनुदानको व्यवस्था खासै नभएको उहाँको भनाइ छ । “कृषिमा अनुदानको आश गर्नुभन्दा प्रविधि र बजारको ज्ञान भयो भने आफैँ राम्रो कमाउन सकिन्छ । कृषि गर्ने युवाले ठूलो ऋण लिएर व्यवसाय सुरु गर्नुभन्दा सानो क्षेत्रफलबाट थोरै लगानी गरे राम्रो आम्दानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

कृषि पेसामा सफल हुन आफ्नै मेहनत आवश्यक पर्ने विष्टको अनुभव छ । “कामदार राखेर अर्काको भरमा मात्रै कृषि गर्ने हो भने सफल भइँदैन । आफैँ मेहनत गर्नुपर्छ,” उहाँले भन्नुभयो । रासस