९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही

भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही
अ अ+ अ-

काठमाडौँ। भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ। काउन्सिलले त्यस्ता सामग्री हटाउन सम्बन्धित सञ्चारमाध्यमलाई निर्देशनसहित सचेत गराएको छ।

काउन्सिलले बाढीसम्बन्धी कुल २४ वटा सामग्री अनुगमन गरिएको थियो। तीमध्ये १४ वटा दर्ता भएका सञ्चारमाध्यम र १० वटा दर्ता नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री थिए। अनुगमन गरिएका २४ मध्ये २१ वटा सामग्री पत्रकार आचारसंहिता प्रतिकूल रहेको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने माध्यमलाई फोन, म्यासेन्जर तथा पत्रमार्फत निर्देशन र ध्यानाकर्षण गराइएको छ। अधिकांशले काउन्सिलको निर्देशनपछि त्यस्ता सामग्री सम्पादन वा हटाएका छन्।

अनुगमनका क्रममा बाढी तथा उद्धारसँग सम्बन्धित भन्दै अन्य देशका पुराना भिडियो तथा असम्बन्धित दृश्यलाई नेपालमा भएको घटनाका रूपमा प्रस्तुत गरिएको पाइएको छ।

विशेष गरी नेपाली सेनाले रसुवा बाढीमा उद्धार गरिरहेको, चिनियाँ टोलीले सुरुङमा फसेका नागरिकको उद्धार गरिरहेको तथा गृहमन्त्री उद्धारमा खटिएको भन्दै गलत भिडियो तथा सामग्री सामाजिक सञ्जालमा प्रसारण गरिएको काउन्सिलको विवरणमा उल्लेख छ।

काउन्सिलको अनुगमनमा अनलाइनखबर डटकममा प्रकाशित सामग्रीसमेत आचारसंहिता प्रतिकूल रहेको जनाएको छ। ‘सातौँ दिनमा सरकारले आयोजनाहरूलाई भन्यो– सुरुङबाट उद्धार गर्न सकेनौँ, आफैँ गर’ जस्तो शीर्षकबाट अन्योल, भ्रम तथा त्रास उत्पन्न हुने सामग्री सम्प्रेषण भएको काउन्सिलको ठहर छ।

उक्त सामग्रीको शीर्षकपछि सम्पादन गरिए पनि सम्पादन नगरिएको ‘ग्राफिक्स’ सामाजिक सञ्जालमा अन्यत्रबाट सेयर भइरहेको पाइएको काउन्सिलले जनाएको छ।

अनुगमनमा फेवा खबर, ई–मधेस, दृष्टि सञ्चार, पुलेसो टिभी, इच्छाकामना एफएम चितवन, सेतो खबर, स्टेट ७ खबर, द रिम अनलाइनलगायतका माध्यमबाट पनि आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण भएको उल्लेख छ।

तीमध्ये केहीले नेपाली सेनाले रसुवाको बाढीमा उद्धार गरिरहेको भन्दै अन्य देशका भिडियो प्रयोग गरेका थिए। केही माध्यमले बाढीका कारण एक व्यक्ति मानसिक समस्यामा परेको भन्दै नेपाली सेनाले देखाएको पुरानो ‘डेमो’ भिडियोलाई बाढीको पछिल्लो घटनासँग जोडेर सम्प्रेषण गरेका थिए।

त्यस्तै, सुरुङभित्र नेपाली सेनाले उद्धार गरिरहेको, चिनियाँ टोलीले सुरुङमा फसेका नागरिकको उद्धार गरेको तथा गृहमन्त्री उद्धारमा खटिएको भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण भिडियो प्रसारण गरिएको काउन्सिलको विवरणमा उल्लेख छ।

बाढीमा ज्यान गुमाएका व्यक्तिका शव तथा शवका टुक्रासँग सम्बन्धित बीभत्स भिडियो पनि सामाजिक सञ्जालबाट प्रसारण गरिएको काउन्सिलले जनाएको छ।

पुलेसो टिभी र इच्छाकामना एफएम चितवनलगायत माध्यमले बाढीबाट बगेका शवसँग सम्बन्धित बीभत्स दृश्य सम्प्रेषण गरेको अनुगमन विवरणमा उल्लेख छ। यस्ता सामग्रीले पीडित परिवार तथा आम नागरिकमा थप मानसिक पीडा र त्रास सिर्जना गर्न सक्ने भएकाले काउन्सिलले सम्बन्धित माध्यमलाई सामग्री हटाउन वा आवश्यक सम्पादन गर्न निर्देशन दिएको छ।

दर्ता नभएका सामाजिक सञ्जाल पेजबाट पनि यस्ता सामग्री प्रसारित भएका छन्। काउन्सिलको अनुगमनमा स्मार्ट नेपाल, एमओ नेपाल, सुदूर नेपाल, श्री अनलाइन एचडी, कुराकानी, तुफान न्यूज, द बागमती पोस्ट, टप १० न्यूज र डेली न्यूज एनपी लगायतका दर्ता नभएका माध्यमका सामाजिक सञ्जालबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको छ।

यीमध्ये कतिपयले नेपाली सेनाले रसुवाको बाढीमा उद्धार गरेको भन्दै अन्य देशका भिडियो प्रयोग गरेका थिए भने केहीले चिनियाँ टोलीले उद्धार गरिरहेको भन्दै अन्यत्रको भिडियो सम्प्रेषण गरेका थिए।

त्यस्तै, बाढीबाट बगेको शवको टुक्राको बीभत्स भिडियो सामाजिक सञ्जालमा राखिएको तथा बाढीपीडितविरुद्ध एक व्यक्तिले दिएको अभिव्यक्तिलाई अतिरञ्जित गर्दै सामाजिक सद्भाव भड्काउने, उत्तेजना र घृणा फैलाउने खालको सामग्री सम्प्रेषण गरिएको काउन्सिलको विवरणमा उल्लेख छ।

विपद्का समयमा सूचना सम्प्रेषण गर्दा तथ्य पुष्टि, स्रोतको विश्वसनीयता र संवेदनशीलतामा विशेष ध्यान दिन प्रेस काउन्सिलले सचेत गराउँदै आएको भए पनि दर्ता भएका र मूलधारका सञ्चारमाध्यामले पनि भ्रामक र अपुष्ट सामग्री समाचारका रूपमा सम्प्रेषण गर्दै आइरहेका छन्।

विशेष गरी उद्धार, मृत्यु, बेपत्ता तथा पीडितसँग सम्बन्धित सामग्रीमा अपुष्ट सूचना, पुराना वा असम्बन्धित भिडियो र बीभत्स दृश्यको प्रयोगले विपद्को अवस्थालाई थप जटिल बनाउन सक्ने देखिन्छ। काउन्सिलको अनुगमनको तथ्याङ्कले पनि विपद्का बेला क्लिक र भ्यू बढाउने उद्देश्यले भ्रामक शीर्षक, गलत भिडियो र संवेदनशील दृश्य प्रयोग गर्ने प्रवृत्ति अझै चुनौतीका रूपमा रहेको देखाएको छ।