१८ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेपाली कांग्रेसको उत्सव



अ+ अ-

तीन दिनसम्म चल्ने १४औँ महाधिवेशनमा सहभागी चार हजार सात सय प्रतिनिधि नीति र विधिको बहसमा नभई केन्द्रीय नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछन् । पार्टीको भावी नेतृत्व आफ्नो पक्षमा पार्न संस्थापन र इतर समूहबीच मात्र होइन, समूहभित्रै पनि शक्तिसंघर्ष छ । 

चार हजार सात सय मतदाताले छान्नेछन् नेतृत्व
– चार हजार सात सय प्रतिनिधिले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन् । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।

– शनिबार उम्मेदवारी टुंगिएपछि आइतबार मतदान र मतगणनाको कार्यक्रम छ । उद्घाटनपछि भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान हुनेछ । 

पटक–पटक कार्यतालिका हेरफेर हुँदै आए पनि अन्ततः शुक्रबारदेखि कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुँदै छ । १३औँ महाधिवेशन पनि ०७२ फागुनमा भृकुटीमण्डपमै भएको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको सम्पूर्ण तयारी सकिएकाले उद्घाटन समारोहलाई चुस्त र व्यवस्थित रूपमा सम्पन्न गर्ने बताए । उद्घाटन समारोह दुई घन्टाभित्रै सक्ने तयारी छ । शर्माका अनुसार उद्घाटनमा देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । 

उद्घाटनका लागि भृकुटीमण्डपको प्रांगणमा एक सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत उपस्थिति हुने भएका छन् ।

महाधिवेशनमा सहभागी कुल चार हजार सात सय महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश काठमाडौं आइसकेका छन् । उनीहरूका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहितको झोला बिहीबारदेखि नै पार्टी केन्द्रीय कार्यालय सानेपाबाट वितरण सुरु गरिएको छ ।

कोभिड– १९ महामारीका कारण काठमाडौं उपत्यकाबाहिरबाट सहभागी बोलाइएको छैन । पार्टीका महाधिवेशन प्रतिनिधि र स्वःस्फुर्त रूपमा आउने सहभागी मात्र उद्घाटनमा रहनेछन् । सहभागीलाई हेर्न सजिलोका लागि मञ्चबाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । महाधिवेशनस्थल पार्टीका झन्डा र चुनाव चिह्न रूखअंकित झन्डाले सिँगारिएको छ । वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ ।

महाधिवेशन प्रतिनिधिका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुनेछ । वासका लागि सुन्धाराका विभिन्न होटेलमा व्यवस्था गरिएको छ । बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार गरिएको छ । हलभित्र पनि सातवटा डिस्प्ले राखिएको छ । 

कांग्रेसले महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन मूल तयारी र अन्य नेताहरूको संयोजकत्वमा आर्थिकलगायत उपसमिति बनाइएको थियो । महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको व्यवस्थापनको प्रबन्ध मिलाएको छ । नेपाल प्रहरीले तीन तहको घेरा र उच्च प्रविधिसहित सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । 

विगतमा केन्द्रीय महाधिवेशनबाट पार्टीको नीति तथा कार्यक्रम पनि छलफल गरेर अनुमोदन गर्ने गर्दथ्यो । तर, यसपटक तोकिएको समयभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता रहेकाले कांग्रेसले नेतृत्व चयन र नीति तथा कार्यक्रम छुट्टाछुट्टै प्रक्रियाबाट टुंग्याउने निर्णय थियो ।

अडानबाट टसमस भएनन् प्रकाशमान र शेखर, पौडेलले दुखाए चित्त

कांग्रेस नेता प्रकाशमान सिंह र डा. शेखर कोइराला आ–आफ्नो अडानमा कायमै रहेपछि संस्थापनइतर समूहले सभापतिको साझा उम्मेदवार तय गर्न सकेन । महामन्त्री डा. शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिमा दाबी नगर्ने बताए पनि प्रकाशमान र शेखरबीच सहमति नभए आफ्नो पनि दाबी रहने अडान राखेका छन् । जसले गर्दा इतर समूहलाई साझा उम्मेदवार चयनमा थप सकस परेको छ । गणेशमान परिवारले सधैँ त्याग गरेकाले यसपटक आफ्ना लागि अरूले छाड्नुपर्ने भन्दै प्रकाशमानले शनिबार सभापतिको उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । उनले बबरमहलस्थित यलम्बर पार्टी प्यालेसमा अवधारणापत्र सार्वजनिक गर्दै छन् ।

नेता शेखर कोइरालाले पनि बिहीबारबाटै प्रचार अभियान थालेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘एकपटक, यसैपटक’ भन्दै सभापतिका लागि प्रचार अभियान सुरु गरेका हुन् । दुवै नेताले सभापतिका लागि प्रचार गरेपछि पौडेल बिहीबार दिनभरि कसैको सम्पर्कमा आउन चाहेनन् । कोइराला र सिंह सहमतिमा आउन नसकेको भन्दै उनले आफूनिकट नेताहरूसँग चित्त दुखाएका छन् । ‘यदि शुक्रबार बिहानसम्म कुनै सहमति नजुटे पौडेल महाधिवेशन उद्घाटनमा समेत सहभागी नहुने र राजनीतिबाटै अवकाश लिने मनस्थितिमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘शुक्रबार बिहान ८ बजे यसबारे सबैलाई जानकारी गराउने तयारी छ ।’ कांग्रेस महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ ।

इतर पक्षको दिनभर दौडधुप, तर सहमति जुटेन 

संस्थापनइतर पक्षका केन्द्रीय सदस्यहरूले बिहीबार दिनभर दौडधुप गरे पनि सभापतिको साझा उम्मेदवारमा सहमति जुटाउन सकेनन् । बिहान ८ बजे इतर पक्षका केन्द्रीय सदस्यहरू सभापतिका आंकाक्षीहरूलाई सहमतिमा ल्याउन बैठकमा बसेका थिए । सभापतिका आकांक्षीहरू वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता डा. शेखर कोइराला र प्रकाशमान सिंहबाहेकका केन्द्रीय सदस्यहरू अनुपम फुडल्यान्डमा जुटेका थिए । ‘हामीले नेताहरूलाई साझा उम्मेदवारका लागि आग्रह गर्‍यौँ, तर परिणाम आउन सकेन । शुक्रबार ८ बजे फेरि जुट्नेछौँ,’ नेता बद्री पाण्डेले नयाँ पत्रिकासँग भने, ‘बैठकमा उहाँहरूलाई सहभागी गराउने–नगराउनेबारे टुंगो छैन ।’

बैठकपछि नेताहरूले महामन्त्री कोइरालाबाहेकका आकांक्षीलाई सहमतिमा आउन आग्रह गरेका थिए । बिहान १० बजे नेता शेखर कोइरालाले काठमाडौंमा उपलब्ध आफूपक्षीय जिल्ला सभापतिहरूको भेला बोलाएका थिए । भेलामा पनि आफू उम्मेदवारीबाट पछि नहट्ने उनको अडान कायमै रहेको सहभागी एक जिल्ला सभापतिले जानकारी दिए । 

केन्द्रीय सदस्य गुरुराज घिमिरेले पनि दिनभरको दौडधुपबाट ठोस परिणाम आउन नसकेको बताए । केन्द्रीय सदस्यहरू साँझ पनि महामन्त्री कोइरालानिवास महाराजगन्जमा भेला भएका थिए । तर, नेताहरूबाट सहमतिको संकेत नदेखिएपछि शुक्रबार पुनः केन्द्रीय सदस्यहरूले बैठक बसेर दबाब दिने भएका छन् । महामन्त्री कोइरालाले प्रकाशमान र शेखरबीच सहमति भए आफू पौडेलका लागि बाधक नबन्ने बताइसकेका छन् ।

इतर पक्षले मंगलबार र बुधबार दिनभर साझा उम्मेदवारका लागि सहमति गर्न पटक–पटक बैठक राखेका थिए । सुरुमा पौडेलनिवास बोहराटारमा बैठक बसेको थियो । त्यसपछि नेता सिंहको चाक्सीबारीमा मंगलबार र बुधबार दुई दिनसम्म बैठक बसे पनि कुनै प्रगति हुन सकेन । इतर पक्षका गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, रामकृष्ण यादवलगायत १० युवा नेताले दुई दिनभित्रै सभापतिको साझा उम्मेदवार तय गर्न अल्टिमेटम दिएका थिए । उनीहरूले दिएको समयसीमा बिहीबार नै सकिएको छ ।

अनुपम फुडल्यान्डको बैठकले समेत कुनै ठोस निष्कर्ष ननिकालेपछि नेता पौडेल, सिंह र कोइराला कांग्रेसको केन्द्रीय समिति बैठकमा समेत अनुपस्थित रहे । पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई आफू बैठकमा आउन नसक्ने सन्देश सुनाए । जसकारण केन्द्रीय समिति बैठकमा खुलातर्फको सहमहामन्त्री थप गर्न विधान संशोधन गर्ने संस्थापन पक्षको प्रयासले मूर्त रूप पाउन सकेन ।

आफूनिकटका नेता–कार्यकर्ता  भेलामा सिटौलाले भने– म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस, यो अहंकार होइन 

पार्टीभित्र तेस्रो धारका रूपमा रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले १४औँ महाधिवेशनमा संस्थापन पक्षसँग सहकार्य गर्न सक्ने संकेत दिएका छन् । बिहीबार आफूपक्षीय नेता–कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिटौलाले नेतृत्व चयनमा आफूसँग निर्णायक शक्ति रहेको दाबी पनि गरेका छन् ।

‘म जहाँ छु, त्यहीँ रहनेछ कांग्रेस । यो अहंकार होइन । यस अर्थमा भनेको हो कि म जहाँ रहन्छु, त्यहीँबाट कांग्रेसभित्र सम्पूर्ण एकताको प्रारम्भ हुनेछ । सम्पूर्ण साथीहरूको मान, सान, इज्जत र प्रतिष्ठा बचाएर कांग्रेस पार्टी बलियो बनाउने मेरो अभियान र लक्ष्य रहनेछ,’ उनले भने । 

सिटौलाले उम्मेदवारी मनोनयनपूर्व मात्रै आफ्नो रणनीति खोल्ने बताए । तर, प्रदेशमा संस्थापन पक्षसँग समीकरण बनाएकाले सिटौलाले केन्द्रमा पनि त्यही रणनीति अंगीकार गर्न सक्ने संकेतचाहि“ दिएका छन् । ‘भोलि पनि उद्घाटन सत्रमा बोल्छु । चुनाव भनेको रणनीतिक दृष्टिकोणले बोल्ने हो,’ उनले भने, ‘रणनीतिक दृष्टिकोणबाट मात्रै बोल्ने भएकाले शनिबार मनोनयनअगाडि बोल्नेछु ।’ 

सिटौलाले आफ्नो लक्ष्य आफूसँग जोडिएकालाई स्थापित गर्ने र युवालाई जिम्मेवारी दिने रहेको बताए । सिटौलाले आफूभन्दा समीकरणका आधारमा आफ्नो टिमका नेताको व्यवस्थापनलाई महत्व दिएको बताए । उनको यो अभिव्यक्तिले सिटौलाले संस्थापनसँग समीकरणको जनाउ दिएका छन् । 

‘अभावमा, जाोखिममा र संकटमा जो मेरो साथमा अहिलेसम्म छ । र, भोलिसम्म रहन्छन् भन्ने मेरो विश्वास छ । म त्यसलाई छाड्दिनँ,’ सिटौलाले भने, ‘मेरोतर्फबाट युवाको नेतृत्व गर्ने जिम्मेवारी प्रदीप पौडेललाई दिएको छु । उहाँले कति गर्न सक्नुहुन्छ थाहा छैन । म युवाहरूलाई हिँडाउन चाहन्छु ,कुदाउन चाहन्छु । पार्टीमा मसँग जोडिएका साथीहरूलाई स्थापित गर्ने मेरो लक्ष्य रहनेछ ।’  सिटौला पक्षका एक केन्द्रीय सदस्यका अनुसार नेता गगन थापाले समूह छाडेपछि रुष्ट सिटौलाले पौडेललाई अगाडि सारेर आफूपक्षीय नेताको संरक्षण गर्ने सन्देश दिन खोजेका छन् ।  सिटौला समूहले आफूसँग रहेका महाधिवेशन प्रतिनिधि नै निर्वाचनमा निर्णायक शक्ति हुने आकलन गरेको छ ।

पदाधिकारी थप्ने देउवाको योजना पूरा भएन

आफ्नो समूहमा आकांक्षी धेरै भएपछि सभापति शेरबहादुर देउवाले बिहीबारको केन्द्रीय समिति बैठकबाट पदाधिकारीको संख्या बढाउने प्रस्ताव पारित गराउने तयारी गरेका थिए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएपछि देउवा पछाडि हटेका छन् । महाधिवेशन उद्घाटनको अघिल्लो दिन बसेको बैठकमा नेता पौडेलसँगै प्रकाशमान सिंह र डा. शेखर कोइराला पनि सहभागी भएनन् । संस्थापन पक्षले खुलातर्फ दुई सहमहामन्त्री थप्ने गरी विधान संशोधनको प्रस्ताव लैजाने तयारी गरेको थियो । तर, इतर पक्षले असन्तुष्टि जनाएपछि विधान संशोधन प्रस्ताव रोकिएको छ । बैठकले महाधिवेशनमा पेस गरिने उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

(नयाँपत्रिका दैनिकमा समाचार छ )