एक महिनाभित्रै २३–२४ अर्ब पुँजीगत खर्च बढाउने योजना
केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा ५ दशमलव ११ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । कात्तिक मसान्तसम्मको गतिविधि तथा आगामी दिनमा हुने आर्थिक क्रियाकलापका आधारमा विभागले यस्तो आकलन गरेको हो । सरकारको आन्तरिक प्रयोजनका लागि मात्रै गरिएको यस्तो आकलन सार्वजनिक भने नगरिने विभागको भनाइ छ । विभागले आठ महिनाको तथ्यांकका आधारमा वैशाखमा मात्रै चालू आर्थिक वर्षको वृद्धिदरको पहिलो प्रक्षेपण सार्वजनिक गर्छ ।
‘बेमौसमी बाढीले मुलुकको धान उत्पादनमा क्षति पुर्याएको छ, यद्यपि कोभिड–१९ का कारण प्रभावित आर्थिक क्रियाकलापहरू करिब शतप्रतिशत पुरानै लयमा फर्केका कारण आर्थिक वृद्धि सन्तोषजनक हुने आकलन गरिएको छ,’ योजना आयोग स्रोतले नयाँ पत्रिकासँग भन्यो । निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर उच्च रहेकाले पनि मुलुकमा आर्थिक क्रियाकलापहरू बढेको र त्यसले वृद्धिदरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा विभागले गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पनि बिहीबार संसद्को अर्थ समितिमा योजना आयोगको सर्वेक्षणले ५.२ प्रतिशत आर्थिक वृद्धिदर हुने देखाएको जानकारी दिएका छन् ।
सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । ‘बेमौसमी वर्षा र बाढीले ठूलो क्षति गरेका कारण लक्ष्य प्राप्ति गर्न केही कठिन रहे पनि सक्दै नसकिने अवस्था नभएको होइन,’ अर्थमन्त्री शर्माले भने, ‘लक्ष्य पूरा गर्नुपर्छ । त्यसका आधारहरू पनि छन् ।’ चालू आर्थिक वर्षको अहिलेसम्ममा निजी क्षेत्रतर्फ जाने कर्जा ३२ प्रतिशतले बढेको उनले जानकारी दिए । कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको हिस्सा ७० प्रतिशत हुने हुनाले त्यस क्षेत्रमा ऋण बढ्दा निश्चित रूपमा आर्थिक वृद्धिमा सकारात्मक असर पर्ने मन्त्री शर्माको दाबी छ । आर्थिक क्रियाकलापलाई थप चलायमान बनाउन सकिएमा ५ देखि ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सकिने आयोग स्रोतको दाबी छ ।
यसअघि एसियाली विकास बैंकको एसियन डेभलपमेन्ट आउटलुक २०२१ प्रतिवेदनले नेपालमा चालू आर्थिक वर्षमा ४ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । त्यस्तै, विश्व बैंकले भने ३ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ ।
गत आर्थिक वर्ष ०७७/७८ मा पनि ३ देखि ४ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको प्रारम्भिक तथ्यांक छ । तथ्यांक विभागले गत वैशाखमा ४ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने सार्वजनिक गरेको थियो । त्यसपछि लगत्तै मुलुकका धेरै स्थानमा लकडाउन भए पनि वृद्धिदरमा धेरै नकारात्मक असर नपरेको आयोग स्रोतको दाबी छ । त्यसअघिको आव ०७६/७७ मा भने इतिहासकै सबैभन्दा कम माइनस २ दशमलव १ प्रतिशतले अर्थतन्त्र नकारात्मक बनेको थियो ।
एक महिनाभित्रै २३–२४ अर्ब पुँजीगत खर्च बढाउने योजना
सरकारले एक महिनाभित्रै २३–२४ अर्ब पुँजीगत खर्च बढाउने योजना बनाएको छ । भुक्तानी गर्न बाँकी रकम भुक्तानी गरेर तत्कालै पुँजीगत खर्च बढाउने तयारी गरिएको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार काम सम्पन्न भएका आयोजनाको करिब ३० अर्ब भुक्तानी लिन बाँकी छ । ‘त्यसमध्ये २३ देखि २४ अर्ब रुपैयाँ तत्काल भुक्तानी गर्न सकिने अवस्था देखिएको छ,’ अर्थ मन्त्रालयको उच्च स्रोत भन्छ । त्यसमध्ये सबैभन्दा ठूलो रकम भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत भुक्तानी गर्न बाँकी छ । त्यसपछि सहरी विकास मन्त्रालय, सिँचाइ तथा खानेपानी मन्त्रालयबाट निर्माण व्यवसायीहरूले भुक्तानी लिन बाँकी छ । मदन भण्डारी राजमार्गलगायत केही ठूला आयोजनामा भने यस वर्ष कम बजेट भएकाले पनि भुक्तानीमा समस्या रहेको अध्यक्ष सिंहले बताए । ‘गत वर्ष बजेट भए पनि आयोजनाको म्याद सकिएका कारण भुक्तानीमा समस्या भयो, कोभिड–१९ का कारण रोकिएका आयोजनाको म्याद अहिले थपियो, त्यसैले आयोजनाको म्याद छ, बजेट छैन,’ अध्यक्ष सिंहले भने ।
तर, अर्थसचिव मधुकुमार मरासिनीले भुक्तानी गर्नुपर्ने आयोजनामा बजेटको कमी नहुने बताए । ‘अर्थ मन्त्रालयसँग पर्याप्त बजेट छ, जहाँजहाँ भुक्तानी गर्नुपर्नेछ, त्यो लगेर भुक्तानी गर्नुपर्यो,’ बिहीबार अर्थ समितिमा सचिव मरासिनीले बताए । हालसम्म सरकारले २६ अर्ब नौ करोड रुपैयाँ मात्रै पुँजीगत खर्च गरेको छ, जुन कुल विनियोजित बजेटको ५ दशमलव ९ प्रतिशत मात्रै हो ।
‘पुँजीगत खर्च कम भएको छ, तर अर्थ मन्त्रालयले विकासे मन्त्रालयसँग निरन्तर छलफल गरी पुँजीगत खर्च बढाउन प्रयास गरिरहेको छ,’ अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले भने । जति धेरै पुँजीगत खर्च बढाउन सकियो, त्यसले आर्थिक वृद्धि र वित्तीय क्षेत्रमा तरलता बढाउन उत्तिकै सहज हुने विषयमा अर्थ मन्त्रालय सचेत रहेको उनले बताए ।
अर्थतन्त्र संकटउन्मुख नभएको अर्थमन्त्रीको दाबी : ७% को आर्थिक वृद्धि गरेरै छाड्ने दोहोर्याउँदै अर्थमन्त्रीले भने, ‘अर्थतन्त्रमा चुनौती छ, चुनौतीहरू संकटतिर गइरहेका छैनन्, निराश हुने अवस्था छैन’
(नयाँपत्रिका दैनिकमा समाचार छ)