२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम

कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाद्वारा अवधारणापत्र सार्वजनिक

कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाद्वारा अवधारणापत्र सार्वजनिक
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार शेखर कोइरालाले अवधारणापत्र सार्वजनिक गरेका छन् । 

शुक्रबारबाट काठमाडौँमा जारी पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका कोइरालाले आइतबार अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

 ‘नेपाल पक्कै ब्यूँझिन्छ जय नेपालको नाराले, कांग्रेस पक्कै जाग्दछ युवाको आवाजले’ भन्ने नाराका साथ उनले अवधारणापत्र सार्वजनिक गरेका हुन्।

आफ्नो सभापति पदमा किन उम्मेदवारी भन्दै कोइरालाले सार्वजनिक गरेको अवधारणापत्र यसप्रकार छः 

नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवाई नेपाली कांग्रेसले विगत सात दशकभन्दा बढी समय देखि गर्दै आइरहेको छ। यसक्रममा हाम्रा अग्रज श्रद्धेय नेताहरुको संघर्षमय सक्रियता र नेतृत्वलाई म स्मरण गर्न चाहन्छु।

जननायक विपी कोइरालाको नेतृत्वमा नेपालको लोकतान्त्रिक आन्दोलनले वैचारिक, सांगठनिक र नेतृत्वदायी भूमिका पायो। आज कांग्रेस पार्टीको सभापतिमा मेरो उम्मेदवारी भैरहँदा म जननायक विपी कोइरालालाई स्मरण गर्न चाहन्छु, जस्को नेतृत्वमा वि.सं.२००७ सालको क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । नेपाली जनताले कोइरालाको नेतृत्व माथि विश्वास गर्दै देशमा वि.सं. २०१५ सालमा पहिलो पटक आम निर्वाचनमा दुई तिहाई बहुमतको सरकार सम्भव भयो। कोइरालाको जनहित कार्यबाट त्रसित भएर तत्कालीन राजा महेन्द्रले वि।सं। २०१७ सालमा प्रजातन्त्रको अपहरण गरे, देशमा निरंकुश शासन लागु भयो ।

निरंकुशता विरुद्धको तीन दशकको यात्रा सहज थिएन । यसमा कैयन युवाहरुले शहादत प्राप्त गरे, कैयन प्रवास र जेल जीवनमा दसकौं बस्न बाध्य भए, कैयन परिवारहरुको आफन्त गुम्यो । तर पनि लोकतन्त्रको पूर्नस्थापनाको अगुवा भएर दानवीर र त्यागी नेता सुवर्ण सम्शेर, वीर गणेशमान, सन्त नेता कृष्णप्रसाद भट्टराई, जुझारु एवम अथकित योद्धा गिरिजाप्रसाद कोइराला, निष्ठा र सादगीपूर्ण राजनीतिक जीवनको पथ प्रदर्शक सुशील कोइरालाको नेतृत्वमा कांग्रेसले निरंकुशता विरुद्धको सबै मोर्चामा लड्यो र सवै नेपालीलाई एकता, सदभाव र सहकार्यको राजनीतिक संस्कृति संस्कारलाई अगाडि बढायो ।

लोकतन्त्र पूर्नस्थापनाको मोर्चामा लडेका योद्धाहरु महेन्द्रनारायण निधि, मंगलादेवी सिंह, शैलजा आचार्य, योगेन्द्रमान शेरचन, देवानसिंह राई, नोना कोइराला, सरोज कोइराला, रामनारायण मिश्र, भिमबहादुर तामाङ्ग, भूविक्रम नेम्वाङ, चक्रप्रसाद बास्तोला, शेख इद्रिस, तुरसा हेमरम सतार लगायत कैयनका गौरवपूर्ण इतिहास र बलिदानलाई म आजको दिन स्मरण गर्न चाहन्छु ।

आज नेपाली जनतासंग सर्वभौमसत्ता र राजकीय सत्ता सम्पन्न नागरिक हुनुको गर्व छ भने त्यसको जग निर्माणमा हाम्रा ती अग्रज नेताहरुको त्याग र संघर्षलाई स्मरण गर्दै,

हाम्रा अग्रज नेताहरुको गौरवशाली इतिहास र त्यागलाई साक्षी राख्दै कांग्रेसको भविष्य युवाहरुको काँधमा मात्र सुरक्षित छ भन्ने विश्वासका साथ म कांग्रेस सभापति पदमा “एक कार्यकालको” लागि मात्र उठेको छु । चार वर्षको कांग्रेस सभापतिको कार्यकालमा पार्टीको विचार, संगठन, नेतृत्वमा नयाँधार र नयाँपन ल्याउने विश्वासको साथ आफ्नो उम्मेदवारी घोषणा गरिरहँदा संक्षिप्त विचार र कार्यक्रम सहित उभिएको छु । यसको विस्तृत रुप यथासमय ल्याउने बाचा गर्दछु ।

संकल्प
नेपाली जनताको लामो संघर्ष पछि प्राप्त संविधानसभा मार्फत जारी संविधान प्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै यसको सफल कार्यान्वयन र समयानुकुल संविधानमा सुधार र परिमार्जन गर्दै जाने ।

कांग्रेस पार्टीका अगुवा कार्यकर्ताहरुलाई राजनीतिक विचारबाट दिक्षित गर्न पार्टी विधान अनुरुप राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता कांग्रेसका आदर्शहरु प्रति निष्ठावान बनाउने अभियान चलाउने । पार्टी भित्रको सांगठनिक ढाँचालाई बैचारिक यात्रासँग जोडने कार्यलाई तिब्रता दिने र यसको लागि कार्यक्रमहरु निर्माण गरेर अगाडि बढ्ने ।

नेपालको सन्दर्भमा लोकतान्त्रिक समाजवादको स्पष्ट खाका तयार गर्ने र त्यसो गर्दा विपी कोइरालाको लोकतान्त्रिक समाजवादका बिचारहरुलाई आत्मसाथ गर्दै अगाडि बढ्ने ।

बैचारिक रुपमा अन्तराष्ट्रिय लोकतान्त्रिक समाजवादी राष्ट्रहरुसँग नयाँ ढंगवाट सम्वन्ध विकसित गर्ने र कांग्रेस पार्टीलाई अन्तराष्ट्रिय मञ्चहरुमा बैचारिक प्रष्टताको साथ उभ्याउने ।

लोकतान्त्रिक मूल्य अर्थात कानुनी शासन, जनता प्रति उत्तरदायी सरकार र पारदर्शी शासन पद्धतिलाई नेपाली कांग्रेसको मुलमन्त्र बनाईने छ । सरकार र पार्टी संचालनको विधि र प्रकृयामा लोकतन्त्रका यी तीन पक्षलाई मुलमन्त्रको रुपमा लागु गरिनेछ ।

कांग्रेस पार्टीको ध्येय कांग्रेसको विधानमा व्यवस्था गरे अनुरुप सम्पन्न नागरिक र समुन्नत राष्ट्र निर्माण तर्फ रहनेछ ।

देशको सार्वभौमसत्ता, अखण्डता र स्वाभिमानमा आँच आउने कुनै पनि देशी र विदेशी दबाव, प्रभाव र प्रलोभनलाई निरुत्साहित गर्ने र त्यस्ता कार्यहरु गर्न नदिन नागरिक सचेतनाको कार्यक्रमको लागि पार्टीले बहस छलफल र प्रशिक्षण संचालन गर्नेछ ।

पार्टी आन्तरिक निर्वाचन र राष्ट्रिय निर्वाचनको समयमा मात्र गतिशील र चलायमान बन्ने परम्पराको अन्त्य गर्दै जनताका बीच विविध कार्यक्रमहरु अगाडि सारेर बर्ष भरी नै पार्टीलाई गतिशील बनाउने परम्पराको बिकास गरिनेछ ।

पार्टीको विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेलाई “पव्लिक फोरममा” जनचासोको विषयलाई सम्वोधन गर्ने कला विकसित गर्न प्रशिक्षित गरिनेछ ।

पार्टीको सबै बिभागहरुको गठन ६ महिना भित्र गरिनेछ र यसरी गठन गरिने बिभागहरुमा व्यक्तिको क्षमता, अनुभव र उर्जा हेरेर गरिनेछ ।

संबैधानिक निकायहरुको नियुक्तिमा कांग्रेसले राष्ट्रहितलाई सर्वोपरि ठानी योग्यता र दक्षताको आधारमा छनौट गर्ने तर्फ पहल गरिनेछ ।

कांग्रेस पार्टी भित्र धनबली, बाहुबली र चाकडी चाप्लुसीको आधारमा अवसर पाउने परम्परालाई बन्द गरिनेछ ।

कांग्रेस पार्टीमा योगदान पुर्याएका कार्यकर्ताहरुको रेकर्ड राखी तिनलाई उचित राजनीतिक अवसर, पुरस्कार र सम्मान गर्ने काम निरन्तररुपमा अगाडि बढाईने छ ।

पार्टी अनुशासनलाई कडाईका साथ लागु गरिनेछ र पार्टी भित्र बसेर गरिने पार्टी विरोधी गतिविधिलाई अक्षम्य अपराध ठानी कुनै किसिमको राहत दिईने छैन ।

पार्टीको विभिन्न तहबाट आएका विचार र कार्यक्रमलाई गम्भिरतापूर्वक लिदै त्यस्ता निर्णय र सिफारिसलाई उच्च प्राथमिकतामा राखिने छ । विभिन्न तहको निर्वाचनमा व्यक्तिको छनौट गर्ने केन्द्रिय परम्परालाई अन्त्य गरी तल्लो तहको निकायलाई निर्णय लिन सक्षम, गतिशील र शक्तिशाली बनाईने छ ।

राजनीतिको मूल्य पद्धतिमा आएको सांस्कृतिक बिचलनलाई गाउँ देखि केन्द्रसम्म सुधार गर्नुपर्ने स्पष्ट आवश्यकता छ । पार्टी बाहिर बसेर लोकतान्त्रिक मूल्य पद्धतिलाई निरन्तररुपमा सुधार, संरक्षण र विस्तार गर्न सक्रिय स्वतन्त्र व्यक्तिहरु मार्फत देशव्यापी रुपमा कांग्रेसमा “नयाँ संस्कृति निर्माण अभियान” सञ्चालन गरिनेछ ।

पार्टी कार्यकर्ताहरुलाई नेतामुखि नभई नीति र कांग्रेसको मूल्यपद्धतिप्रति निष्ठावान गराउने काम सजिलो छैन । पार्टी भित्र भएका गुट र उपगुटको जरा केन्द्र देखि गाउँसम्म ऐजेरु पलाएझैँ पलाएको छ । यसको अन्त्य नगरी कांग्रेसको भविष्य छैन । गुट र गिरोहको निर्ममतापूर्वक अन्त गरिनेछ साथै गुटको नाममा पार्टी भित्र भागबण्डा खोज्ने कामको अन्त्य हुनेछ ।

नेताहरुको सांस्कृतिक र आर्थिक विचलन अस्विकार्य मानिनेछ, यस्तो कार्यमा संलग्न कुनै पनि तहको नेतालाई पार्टीबाट सदाको लागि बिदा गरिनेछ ।

नेपाली समाजलाई लोकतान्त्रिक आचरण र पारदर्शिता प्रति सचेत गराउने जिम्मेवारी बोध गरी पार्टीलाई त्यस तर्फ परिचालन गरिनेछ । समाजको लोकतान्त्रिकरण र नागरिकको अधिकार र कर्तव्यबारे देशव्यापी रुपमा कांग्रेस पार्टीका कार्यकर्ताहरुले अभियान सञ्चालन गरिनेछ ।

देशलाई संविधान सम्मत र पार्टीलाई विधान सम्मतरुपमा सञ्चालन गरिनेछ । कुनै पनि कारण र बहानामा संविधान र विधानको प्रतिकुल नजाने संकल्प गर्दछु ।

भातृ तथा शुभेच्छुक संस्थाहरुलाई वर्गीय र पेशागत हित संरक्षणको लागि सशक्त बनाईने छ । यस्ता संस्थाहरुलाई बिस्तारै सम्वन्धित क्षेत्रको अध्ययन र अनुसन्धानमा संलग्न गराउने परिपाटीको विकास गरिनेछ । कांग्रेस पार्टीको निर्णयमा ती अध्ययन र अनुसन्धानलाई महत्वका साथ सन्दर्भ सामग्रीको रुपमा उपयोग गरिनेछ ।

सशस्त्र द्धन्द्ध, बिभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलन एवम् मधेश आन्दोलनका शहिद, घाइते, विस्थापित परिवार र शारिरिकरुपले अशक्तको पक्षमा पार्टीले ठोस नीति र कार्यक्रम ल्याईनेछ ।

नेपाली कांग्रेसको केन्द्र देखि प्रदेश र शहर देखी गाउँसम्मै नेटवर्किङ, विस्तार र डिजिटलाईजेशनको प्रकृयालाई तीव्रताका साथ विकास गरिनेछ , केन्द्र र सात प्रदेशको पार्टी सचिवालयलाई चुस्त र दुरुस्त राखिनेछ ।

देशको सामाजिक र भौतिक पूर्वाधारको प्रतिफल लगानी अनुसारको हुन सकिरहेको छैन, खासगरी सार्वजनिक विद्यालय र अस्पतालको अवस्था दयनीय छ । त्यस्तै निर्माण गरिएका बाटाहरु पनि वातावरणमैत्री छैनन् र वातावरणीय प्रतिकुलता पर्याप्त देखिन्छ । आम नागरिकले पढ्ने विद्यालय र उपचार लिने अस्पताललाई सर्वसुलभ र प्रभावकारी बनाउने तर्फ हाम्रो सम्पुर्ण ध्यान केन्द्रित हुनेछ ।

राजनीति र राजनीतिक दलका नेताहरु प्रति आम नागरिकको वितृष्णा बढ्दो छ, देशको संविधान र व्यवस्था प्रति नागरिकको सोचमा परिवर्तन नगरी राजनीतिक स्थिरता ल्याउन सम्भव छैन । तसर्थ राजनीतिलाई सम्मानित सेवाभावबाट अगाडि बढाउने र राजनीतिमा देखिएको पेशेवर पद्धतिलाई निरुत्साहित गर्न ठोस कार्यक्रम अगाडि ल्याइने छ ।

कम्युनिष्ट प्रभावबाट निरंकुशताको खतरा सधैँ रहने तर्फ सचेत भै नेपाली समाजको लोकतान्त्रिकरण र कांग्रेस पार्टीको पनि ईमान्दार रुपान्तरण जरुरी छ, साथै कांग्रेस र कम्युनिष्टको सम्बन्धबारे पार्टी भित्र व्यापक बहसलाई खुला गरिनेछ ।

नेपालको सुखद भविष्य युवा नेपालीहरुको पौरख र मेहनतबाट मात्र सम्भव छ, त्यस्तै कांग्रेस पार्टीको भविष्य पनि युवाहरुको लोकतन्त्रप्रतिको निष्ठा र देश विकासप्रतिको समर्पण भावबाट मात्र सम्भव छ भन्ने विश्वासका साथ युवालाई रोजगारी र सम्मानजनक अवस्था देश भित्रै सिर्जना गर्न कांग्रेस मार्फत पहल गरिनेछ ।

कृयाशिल सदस्यता बिवाद कांग्रेस पार्टीको लागि सधै महाधिवेशनको मुखमा लज्जास्पद झैँ भएको छ , तसर्थ महाधिवेशनको एक वर्ष अघि नै कुनै पनि स्थितिमा कृयाशिल सदस्यता सम्वन्धी काम कारबाही बन्द गरिनेछ ।

पार्टी गरिब, निमुखा र वञ्चनामा परेका समुदायको लागि आवाज बनेर आउनेछ । यसको लागि देशको बिपन्न परिवारलाई प्रत्यक्ष लाभ पुग्ने किसिमका कार्यक्रमहरु ल्याउन सरकार माथि निरन्तरको दबाव सृजना गरिनेछ ।

नेपालको सांस्कृतिक पहिचानलाई अक्षुण राख्दै विविधतामा पनि एकताको अनुपम उदाहरणलाई थप सशक्त बनाउन पार्टीले बिबिध जाति र भुगोलका बासिन्दा बिच सांस्कृतिक बिचार बिमर्श, आपसी भेटघाट र अन्तरक्रियालाई योजनाबद्धरुपमा अगाडि बढाईनेछ । यसो गर्दा पार्टी र देशमा जातीय सदभाव, प्रेम र एकता बढाउने ठोस आधार निर्माणमा कांग्रेस पार्टीको सक्रियता रहनेछ ।

नेपालमा दलहरुको भूमिका समानान्तर सत्ताको जस्तो भएको छ, यसबाट राज्यको भुमिकामा नियन्त्रण र पारदर्शीता गर्न लामो समय देखि गाह्रो भएको छ । राजनीतिक दलको राज्य संयत्रमा हस्तक्षेपको अन्त गर्दै पार्टीको भूमिका समाज रुपान्तरणमा राज्यको सहयोगी भएर अगाडि आउनेछ ।

देशमा विद्यमान उग्र दक्षिणपन्थी र उग्रवामपन्थी विचारधाराबाट यो मुलुकको भविष्य छैन, तसर्थ कांग्रेसको मध्यमार्गी विचारलाई स्थापित गराउन देशभक्तिपुर्ण कार्यक्रमहरुलाई महत्वका साथ अगाडि बढाईने छ ।

समाजवाद नेपाली जनताको भविष्य हो, यो समतामूलक समाज निर्माण गर्ने औजार पनि हो । नेपाली समाजमा व्याप्त असमानता, गरिबी र अभावलाई सामाजिक समाजवाद मार्फत निरुपणको प्रयास गरिनेछ , कांग्रेस पार्टी मार्फत देशबाट गरिबी उन्मुलन गरी समृद्ध नेपाल निर्माणको पहल गरिनेछ ।

कोरोना सन् २०१९ बाट नेपालमा नागरिकको सामाजिक र आर्थिक अवस्थामा दुरुह भएको छ, अझै पनि कोरोनाबाट थिलथिलो भएको अर्थतन्त्रको रिकभरी शुरु हुन सकेको छैन । अब अर्थतन्त्रको रिकभरी द्रुतगतिमा आर्थिक पुनरुत्थानको पुर्नोदय गर्न कांग्रेस पार्टीले सक्रियता बढाईने छ ।

भ्रष्ट्राचार क्यान्सरको रुपमा नेपाली समाजमा ब्याप्त छ, सरकारी सेवा प्रदायक निकाय देखि समाजका प्रत्येक पक्षमा भ्रष्ट्राचारले जरा गाडेको छ । समाजमा जसरी पनि पैसा कमाउने वर्गको कारण नैतिकरुपले निष्ठावान वर्गलाई निराश बनाएको छ, कांग्रेस पार्टीको माध्यमबाट नैतिकवान समाज निर्माणमा पहल गरिनेछ ।भ्रष्ट्राचारजन्य क्रियाकलापमा आरोपित ब्यक्तिहरुलाई पार्टीमा निषेध गरिने छ ।

नेपालको न्यायिक क्षेत्रमा ब्याप्त भ्रष्ट्राचारले नेपाली नागरिकले मात्र निराशा र दुःख पाएका छैनन, अन्तराष्ट्रिय स्तरमै नेपालको न्यायिक क्षेत्रको बदनामी पनि भैरहेको छ । नेपालको न्याय सेवालाई निष्पक्ष र प्रभावकारी बनाउन अपनाउनुपर्ने सवै प्रकारको उपायहरुको अबलम्वन गरिनेछ ।

संसदको गरिमा र भूमिका कमजोर भएर नेपालको लोकतन्त्र कमजोर र प्रभावहिन भएको देखिन्छ, संसदलाई जनताको आवाज उठाउने थलो बनाउने र सत्तापक्षलाई पारदर्शी शासनको लागि घचघचाउनुका साथै नागरिकप्रति संसदलाई उत्तरदायी बनाउने तर्फ सशक्त भूमिका कांग्रेस पार्टी मार्फत अगाडि सारिने छ ।

नेपालको कृषि क्षेत्रमा रहेकालाखौं किसानहरुले प्रत्येक वर्ष बिउबिजन, मलखाद, उत्पादनको न्यूनतम मूल्य, भण्डारण, माटोको परीक्षण लगायत कृषिसँग जोडिएका सबै पक्षलाई कांग्रेस पार्टीले महत्वका साथ सरकार समक्ष आवाज उठाउने छ, यस कार्यमा कृषि विमा, पशु बिमा र किसान बिमा कार्यक्रमलाई अगाडि ल्याउन कांग्रेस पार्टीले सशक्त आवाज उठाउने छ । त्यस्तै सेवा र औद्योगिक क्षेत्रमा गरिने सुधारका कार्यक्रमहरुलाई पनि समय सापेक्ष सुधार गर्न कांग्रेस पार्टीको माध्यमबाट निरन्तर सरकारलाई रचनात्मक सुझाव र सल्लाह अगाडि ल्याईने छ।

अन्त्यमा,

नेपाली कांग्रेसको चालु अधिवेशनलाई हाम्रा छिमेकी देशहरु र अन्तराष्ट्रिय समुदायले पनि चासोको साथ हेरिरहेका छन । कांग्रेसको अधिवेशन कांग्रेसजनको लागि मात्र सरोकारको विषय होइन, यो सम्पुर्ण नेपाली समाज रुपान्तरणको प्रक्रिया हो । चालु अधिवेशनले कस्तो नेतृत्वको हातमा कांग्रेस जान्छ भन्ने चिन्ता र चासो सर्बत्र भएकोले सबै निष्ठावान र इमान्दार साथीहरुले आफ्नो बिवेकको मत प्रयोग गरी सक्षम र फ्रेस कांग्रेस निर्माणको महायज्ञमा आफुलाई उभ्याउनु हुनेछ भन्ने आशा, भरोसा र विश्वासका साथ ।

 

जय नेपाल

डा शेखर कोइराला

केन्द्रीय सभापति पदका उम्मेद्वार