अल्जियर्स । अल्जेरियाका अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसलाहले स्वतन्त्र व्यक्तिहरु रहेको समूहसँग सामयिक राजनीतिकको सहज निकासका सन्दर्भमा वार्ता गर्ने घोषणा गर्नुभएको छ । उक्त वार्तामा सरकार र सेनाका पदाधिकारीहरु रहने छैनन् ।
राष्ट्रपति बेनसलाहले टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा सबै राजनीतिक दल र विशिष्ट व्यक्तिहरुसँग परामर्श गर्नु परेको बताउनुभयो ।
उहाँले यो संवाद सबै राजनीतिक दल, नागरिक समाज संस्थाहरु, युनियन र गत फेब्रुअरीमा प्रदर्शनमा उत्रिएका जनसमुदायका प्रतिनिधिहरुसँग गरिने स्पष्ट गर्नुभयो ।
राष्ट्रपति बेनसलाहले यो संवादको नेतृत्व सबै पक्षबाट स्वीकार्य स्वतन्त्र एवं सम्मानित व्यक्तिहरुबाट हुनेछ भन्नुभयो । उहाँले संवादका लागि छानिएका व्यक्तिहरु कुनै राजनीतिक दल वा राजनीतिक स्वार्थप्ररित व्यक्तिहरु नहुने पनि बताउनुभयो ।
राष्ट्रपति बेनसलाहले संवादको मुख्य उद्देश्य नै स्वतन्त्र र निस्पक्षतापूर्वक राष्ट्रपतिको निर्वाचन गराउनु हो भन्नुभयो । यस संवादमा स्वतन्त्र निर्वाचन आयोगको गठनका साथै प्रभावकारी अनुगमनका विषयहरु पनि जोडिएको उहाँले बताउनुभयो ।
अल्जेरियामा गत फेब्रुअरी २२ देखि नै हरेक शुक्रबार स्वतन्त्र रुपमा जतिसक्दो चाँडो राष्ट्रपतिको निर्वाचन गर्न प्रदर्शन हुँदै आएका छन् । यही प्रदर्शनका क्रममा गत अप्रिल २ मा पूर्व राष्ट्रपति अब्देलाजीज बोउतेफ्लीकाले राजीनामा दिनुभएको थियो ।
हाल, प्रदर्शनकारीहरुले अन्तरिम राष्ट्रपति बेनसलाहमाथि पदत्याग गर्नुपर्ने दबाब दिइरहेका छन् । साथै उनीहरुले प्रधानमन्त्री नुरेद्दीन बेदोईले पनि राजीनामा गर्नुपर्ने माग गरिरहेका छन् । प्रधानमन्त्री नुरेद्दीन पूर्व राष्ट्रपति अब्देलाजीजकै शासनकालमा नियुक्त हुनुभएको थियो ।