काठमाडौं । कप्तान लिओनल मेस्सीले रातो कार्ड पाएको तनावपूर्र्ण खेलमा अर्जेन्टिनाले चिलीलाई हरायो र कोपा अमेरिका फुटबलमा तेस्रो भयो ।
आइतबार विहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गर्यो । खेलमा अर्जेन्टिनाले १२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका थिए । १० मिनेटपछि पाउलो डिबलाले गोल गर्दै अग्रता दोब्बर बनाए ।
खेलको ३७ औं मिनेटमा अर्जेन्टिनालाई नराम्रो झड्का लाग्यो, जब मेस्सीले रातो कार्ड पाए । उनीसँगै चिलीका ग्यारी मेडलले रातो कार्ड पाएका थिए ।यो उनको करियरकै दोस्रो रातो कार्ड हो ।खेलपछि रातो कार्ड पाएका लियोनल मेस्सीले प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएका छन् । मेस्सी पदक लगाउन पनि मैदानमा गएनन् ।
उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको बताए। ‘ब्राजिललाई जिताउने खेल भइरहेको छ, कुनै शंका छैन,’ मेस्सीले भने ।‘म यो भ्रष्टाचारको भागिदार हुन चाहन्न । म सँधै साँचो बोल्छु, इमान्दार छु, त्यसैका कारण म शान्त पनि छु,’ उनले भने ।
रातो कार्डको सम्बन्धमा मेस्सीले ब्राजिलका बारेमा केही बोलेका कारण आज त्यसको प्रतिशोध लिएको प्रतिक्रिया दिए ।‘पछिल्लो पटक ब्राजिलको विरुद्ध जे भनेँ, त्यसको प्रतिशोध लिएका हुन् । त्यो घटनामा पहेँलो कार्ड पर्याप्त थियो ।’
उनले भनेका छन्, ‘हामी यो कोपा अमेरिका कपको दौरानमा भएको भ्रष्टाचारको हिस्सा बन्न चाहन्दैनौं ।’
भ्रष्टाचार भएको भन्दै उनले मेडल पनि लिएनन् । उनले भने, ‘ ग्यारी मेडलले सीमा नाघिसकेका थिए । रेफ्रीले यस्तो निर्णय गर्छ भन्ने लागेको थिएन । भीआर हेर्नुपर्थ्यो ।’
यो संस्करणमा सुरुदेखि नै प्रतियोगिता व्यवस्थापनको आलोचना गर्दै आएका उनले ब्राजिललाई विजेता बनाउन सबै काम भएको दाबी गर्दै आएका छन् । ब्राजिलसँग सेमिफाइनलमा हारेपछि अर्जेन्टिनाले रेफ्रिविरुद्ध उजुरीसमेत दिएको छ ।
मेस्सी कोपा अमेरिका जित्न चाहन्थे तर, सेमिफाइनलमा ब्राजिल बाधक बन्यो । चेलीलाई हराउँदै अर्जेन्टिना तेस्रो त भयो तर, मेस्सीले रातो कार्डसँगै प्रतियोगिता अन्त्य गरे । मेस्सीका लागि यो प्रतियोगिता निकै खल्लो भयो । प्रतियोगितामा उनले एक गोल पनि गर्न सकेनन् ।