काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माणमा सरकार युद्धस्तरमा जुटेको छ।
यही भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको थियो। बाढी प्रभावित क्षेत्रमा पुगेर गरिएको स्थलगत मूल्याङ्कनपछि तीमध्ये २० वटा पुल तत्काल मर्मत गर्नुपर्ने र ३३ वटा पुल पुनर्निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।
सरकारले मर्मत गर्नुपर्ने २० वटा झोलुङ्गे पुलका लागि भदौ १७ गते कार्यादेश जारी गरिसकेको छ। तीमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मत कार्यमा प्रगति भइरहेको छ।
यी पाँचवटै पुलको मर्मत कार्य एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुल सञ्चालनमा आएपछि बाढीबाट प्रभावित स्थानीयवासीको आवतजावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भई पुनर्निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ। पुनर्निर्माण प्रक्रिया अघि बढेसँगै प्रभावित क्षेत्रका नागरिकको आवतजावत सहज बनाउने सरकारको तयारी छ।









