१९ असार २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा नजिकिँदै कांग्रेस-राजपा, मोर्चाबन्दी तयारी



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन्। प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ। दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन्। यसबाट सरकारविरुद्ध यी दुई दल मिलेर अघि बढ्ने बलियो संकेत मिलेको छ।

कांग्रेसका शीर्ष नेताहरूसँग भेटघाट भएको राजपा अध्यक्ष मण्डलका संयोजक अनील झाले स्वीकारे। उनले भने, ‘भेटघाटमा लोकतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यता जोगाउन मिलेर अघि बढ्नुपर्छ भन्ने कुरा भएको छ।’ साझा मुद्दा बनाएर अघि बढ्ने विषयमा दुवै पार्टी सकारात्मक भएको जानकारी दिँदै उनले भने, ‘एकदुई दिनमा थप कुराकानी हुन्छ। त्यसबेला न्यूनतम साझा अजेन्डा तय गर्नेछौं।’

स्रोतका अनुसार दुई पार्टीबीच सर्लाही गोली काण्ड (कुमार पौडेल हत्या) को छानबिन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिने विषयमा कुराकानी भएको छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाले राखेको मागमा कांग्रेसले सहमति जनाएको भेटघाटमा सहभागी राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए। उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। हामीले उठाएको यो मुद्दामा कांग्रेसका नेताहरूले सहमति जनाउनुभएको छ।’ सर्लाही गोलीकाण्डलगायत घटनाबाट सरकारले गैरन्यायिक हत्यामा उत्रिएको ठहर गर्दै कांग्रेस-राजपा नेताले यसको परिणाम गम्भीर हुने निष्कर्ष निकालेका छन्। ‘यो भनेको बूढी मरी भन्ने पीरभन्दा पनि काल पल्क्यो भन्ने चिन्ता हो। सरकाले यसरी गैरन्यायिक हत्या गर्दै जाने हो भने लोकतन्त्र रहन्छ ?’ यादवले प्रतिप्रश्न गरे।

अघिल्लो साता देउवा निवास बूढानीलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवा र राजपा अध्यक्ष मण्डलका संयोजक झा, सदस्य यादव तथा नेता महन्थ ठाकुरबीच सरकारको कामकारबाहीलाई लिएर कुराकानी भएको थियो। सो वार्तामा कांग्रेस नेता बालकृष्ण खाँणको पनि उपस्थिति थियो। त्यसयता विभिन्न तहमा वार्ता भइरहेको स्रोतले बतायो। दुई दलबीचका वार्ता लोकतन्त्र जोगाउन सरकारको ‘निरंकुश चरित्र’ विरुद्ध मोर्चाबन्दी गर्ने विषयमा केन्द्रित छन्।

विभिन्न तहमा भएका वार्तामा सहभागी नेताका अनुसार लोकतन्त्र र लोकतान्त्रिक र मूल्य–मान्यता जोगाउन दुई पार्टी मिलेर अघि बढ्नुपर्ने निचोड निकालिएको छ। सरकारले संसद् र संसदीय समितिलाई कमजोर बनाउँदै लगेको विषयमा पनि सदनमा कडा रुपमा प्रस्तुत हुने सहमति भएको छ। ‘सरकारले संसद् र संसदीय समितिलाई बाइपास गर्दै जनप्रनिधिलाई कमजोर बनाउँदै गएको महसुस हामीले गरेका छौं। घटनाक्रमले पनि त्यस्तै देखाइरहेको छ,’ यादवले भने, ‘त्यसैले अब हाम्रो पहिलो प्राथमिकता लोकतन्त्र जोगाउनु हो। लोकतन्त्र कमजोर बनाउँदै सिध्याउने सरकारको षड्यन्त्र देखिन्छ।’ राजपाका अर्का एक पदाधिकारीले भने, ‘तत्काल सरकारविरुद्ध संसद्मा आवाज उठाउँछौ। आवश्यक पर्यो भने मोर्चाबन्दी गर्दै सडक आन्दोलनमा जान सक्छौं।’

देउवानिवास बूढानीलकण्ठमा वार्ता हुनुअघि पनि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पनि दुई पार्टीका नेताहरूबीच कुराकानी भएको थियो। राजपा अध्यक्षमण्डलका सदस्य यावद कांग्रेस नेता दिलेन्द्र बडू र सुरेन्द्र पाण्डेबीच कुराकानी गर्न कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए। कांग्रेस नेता बडूले आफ्नो पार्टीका सभापति देउवासँग कुराकानी गर्न राजपाका नेतालाई सुझाएका थिए। त्यसपछि देउवा र राजपाका शीर्ष नेताबीचको भेटघाटको कार्यक्रम कांग्रेस नेता खाँणले मिलाएका थिए। स्रोतका अनुसार कांग्रेस केन्द्रीय समितिको बैठकपछि फेरि शीर्ष तहमा अर्को भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

राजपा सांसद रेशम चौधरीलाई जन्मकैद गर्ने कैलाली जिल्ला अदालतले फैसला गरेकै दिन राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको थियो। त्यसपछि राजपा प्रतिपक्षी मोर्चामा उभिएको छ। चैतमा राजपाले सरकारविरुद्ध एक दिन सांकेतिक प्रदर्शन पनि गरेको थियो। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस र राजपा नेताहरू नजिकिँदै गएका छन्।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।