
काठमाडौं । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । चन्द्रग्रहण बिहान १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेट जाँदा सम्म लाग्नेछ ।
मौसम अनुकूल भएमा नेपालमा राति १ बजेर ४६ मिनेटबाट खण्डग्रास चन्द्र ग्रहण देखिने छ । १ बजेर ४६ मिनेटमा सुरु हुने ग्रहण राति ३ बजेर १५ मिनेटमा मध्य र बिहान ४ बजेर ४४ मिनेटमा सकिने छ ।
खगोलविद्हरुका अनुसार यो अवधिमा चन्द्रमाको आधाभन्दा भन्दा बढी भाग छोपिएको अवस्थामा देखिनेछ ।
यो ग्रहण नेपालसहित भारत, चीन, मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आसपासका मुलुकबाट प्रष्टै देखिने छ । बरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुशार क्यानडा र उत्तर अमेरिकामा बसोवास गर्नेहरुले भने यो ग्रहणको अनुभव लिन पाउने छैनन् । चन्द्रग्रहणमा आँखालाई हानी नोक्सानी पुर्याउने खालका किरण नहुने भएकाले जो कोहिले नाङ्गो आँखाले सजिलै हेर्न सकिने छ ।
सन् २०१९ को पहिलो चन्द्रग्रहण जनवरी २० र २१ को बीचको राति लागेको थियो । यो खग्रास चन्द्रग्रहण थियो । यसअघि सन् १८७० जुलाई १२ मा गुरुपूर्णिमाको दिनमा खण्डग्रास चन्द्रग्रहण लागेको थियो । त्यसयता यस्तो भएको थिएन ।
मध्य मनसुनको मौसममा आज रातिको आकाश खुल्ने सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
के गर्ने, के नगर्ने ?
चन्द्र ग्रहण लागेको बेला के गर्ने, के नगर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । चन्द्रग्रहण लाग्ने रातको अघिल्लो दिन अपराह्न ४ बजेर ४६ मिनेटपछि भोजन गर्न निषेध छ । मन्दिर जाने, पूजापाठ गर्ने काम पनि रोक्नुपर्छ ।
बालक, बृद्धबृद्धा, औषधी सेवन गर्नुपर्ने अवस्था बाहेकका व्यक्तिले खानेकुरा सेवन गर्नु हुँदैन । चन्द्रग्रहणको बेला सुत्नु हुँदैन ।
के हुन्छ ?
निद्रयां जायते व्याधि, मुत्रे दारिद्रमाप्नुयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकर । अभ्यन्जने भवेत्कृष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत सर्प बधे च नरक व्रजेत ।
यो अवस्थामा सुतियो भने रोग व्याधी उत्पन्न हुन्छ । शौच गरियो भने दरिद्रता हुन्छ । यौन सम्पर्क गरियो भने गाउँको सुँगुर बराबर हुन्छ । भोजन गरियो भने अद्योगतिमा लागिन्छ । यी आदि कार्य गरियो भने नरकको बन्धनमा परिन्छ ।
कसलाई राम्रो ?
धार्मिक विश्वासलाई आधार मान्दा चार वटा राशीलाई मात्रै शुभ मानिएको
छ –‘कर्कट, तुला, कुम्भ तथा मीन राशि भएकाहरुलाई शुभ मानिएकाले यी राशी भएकाले भोलीको ग्रहण हेर्न हुने बताइएको छ ।’
कसलाई हानी ?
मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु, मकर राशि भएकाहरुलाई भने यो ग्रहण नियाल्न नहुने ।
खगोलविद्हरुले ग्रहणलाई प्रयोगात्मक अध्ययन अनुसन्धान प्रकृया पुष्टिगर्ने सुनौलो अवसरका रुपमा लिने गर्छन् । धर्मशास्त्रीहरु ग्रहण अघि र पछि नदीतट, कुण्ड, तलाउमा नुहाई धुवाई गरी शुद्घहुन, धार्मिक मन्त्रोचारण गर्न र ब्रत बस्न सुझाउने गर्छन् ।










