८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा ५ वटा बुद्धमुर्ति तोडफोड



अ+ अ-

बुटवल । रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको छ ।

बुधबार साँझसम्म ठीकठाक अवस्थामा रहेका मूर्ति बिहीबार बिहान तोडफोड भएको अवस्थामा भेटिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । मूर्तिहरु कसले र किन फुटायो भन्ने अहिलेसम्म खुलेको छैन ।

शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँच वटा बुद्धमूर्ति कामै नलाग्ने गरी तोडफोड भएका हुन् । केही बुद्धमूर्ति सडकमै ल्याएर फ्याँकिएको छ ।

तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मुर्ति राखिएको थियो ।

प्रदेश सरकारले अहिले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा यो घटनाले नकारात्मक प्रभाव पार्न सक्ने लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले बताए ।

लुम्बिनी भ्रमण वर्षको अवसर पारेर गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बुद्धमूर्ति अनावरण गरेका थिए ।

उक्त मुर्तिहरु कसले र किन तोडफोड गर्यो भन्नेबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । बुद्ध मूर्ति स्थापनाका लागि नगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ । जसमध्ये गत आर्थिक वर्षको अन्त्यसम्म २३ लाख रुपैयाँ खर्च भएको र बाँकी चालु आर्थिक वर्षमा खर्च गरिने नगरपालिकाले जनाएको छ ।