८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र र संघीयताको रक्षामा विप्लव समूहबाट चुनौती थपियो: गृहमन्त्री



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गणतन्त्र र संघीयताको रक्षामा विप्लव समूहबाट चुनौती थपिएको बताएका छन् ।

मन्त्रालयले वार्षिक कार्यसम्पादन समीक्षा र योजनाबारे जानकारी दिन मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा
राजनीतिक स्थायित्व नभएसम्म मुलुकमा पूर्ण शान्ति सम्भव नभएको भन्दै गृहमन्त्री थापाले राष्ट्रिय शान्तिको बाधक नै अहिले विप्लव समूह भएको दावी गरे ।

विप्लव समूह चुनौतिका रुपमा रहेको भन्दै यो समस्यालाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

गृहमन्त्री बादलले देशमा शान्ति सुरक्षालाई अझ सुदृढ बनाउनुपर्ने महसुस गरिएको बताए । उनले भने, ‘संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, त्यसलाई सदृढ गर्ने, त्यो हाम्रो राजनीतिक उपलब्धीसँग जोडिएको छ । यसमा अहिले चुनौती निश्चित रुपमा विप्लव समूहबाट भएको छ । राजनीतिक उपलब्धीको रक्षा गर्ने चुनौती र जिम्मेवारी हाम्रो अगाडि छ ।’

एक वर्ष अगाडिको अवस्था र पछाडिको अवस्थालाई हेर्दा राजनीतिक उपलब्धीको रक्षा गर्न सरकार धेरै हदसम्म सफल भएको दाबी उनले गरे । देशमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्न गृह मन्त्रालय सफल भएको र कतिपय अन्तर्राष्ट्रिय संघसंस्थाको निष्कर्ष पनि त्यही रहेको उनले बताए ।

सुन तस्करीको सञ्जाल तोडेको, युवाहरु विदेश जाने क्रम घटेको, अध्यागमनमा सुधार गरेको, सीमाबाट हुने तस्करी रोकिएको, तस्करी घटेको कुरालाई राजश्व वृद्धिले पुष्टि गरेको भन्दै उनले गृह मन्त्रालय सफल भएको सुनाए ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राइले शान्ति सुरक्षा कायम गर्न मन्त्रालयले सकेसम्म प्रयास गरिरहेको भन्दै विप्लव समूह मूलधारमा आएपछिमात्रै पूर्ण शान्ति कायम हुने बताए ।

त्यस्तै गृहन्त्रालयले निर्मला हत्या काण्डमा निरन्तर छानविन र अनुसन्धान भइरहेको पनि प्रस्ट पारेको छ ।