८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ कम्पनीले पायो भुक्तानी प्रणाली अपरेटरको अनुमति



अ+ अ-


काठमाडौंः चीनको सांघाईमा दर्ता भएको युनियनपे इन्टरनेसनल कम्पनी लिमिटेडले भुक्तानी प्रणाली अपरेटर (पेमेन्ट सिस्टम अपरेटर) को अनुमति पाएको छ ।
नेपाल राष्ट्र बैंकले युनियनपेलाई जुलाई १५, २०१९ मा यस्तो अनुमति दिएको हो । राष्ट्र बैंकका तर्फबाट निर्देशक आनन्द पौड्याल र कार्यकारी निर्देशक देवकुमार ढकालले प्रमाणपत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालमा कारोबार गर्न पाउने गरी अनुमति पाएको युनियनपेले नेपाल र चीनबीचको बैंकिङ भुक्तानीलाई सहज बनाउने बताइएको छ । युनियनपेले खासगरी इलेक्ट्रोनिक कार्ड नेटवर्क एन्ड स्वीचको कार्य गर्नेछ । यसले बैंक कार्ड सेवा उपलब्ध गराउनुका साथै अनलाइन सपिङका लागि डेबिट कार्डहरु प्रदान गर्दछ । चीनमा पिपुल्स बैंकबाट अनुमति लिएको युनियनपे चीनमा ठूलो वित्तीय संस्थाका रुपमा रहेको त्यसको वेबपेजमा उल्लेख छ ।
चीनका सबै बैंकको एटिएम मेसिनको संचालन र अन्तरबैंक कारोबार यही युनियनपे मार्फत हुने गरेको छ । विद्युतीय प्रणाली मार्फत रकम ट्रान्सफरको कार्यमा यसको चीनमा बर्चश्व रहेको छ ।
नेपालका लागि चिनियाँ राजदूत हाउ यांकीले ट्वीटर मार्फत युनियनपेले कारोबार अनुमति पाएकामा बधाई दिएकी छिन् । उनले बढीभन्दा बढी चिनियाँ बहुर्राष्ट्रिय कम्पनीले नेपालमा लगानी र व्यवसाय गर्ने विश्वास पनि लिएकी छिन् ।