१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्या प्रकरण : मुख्य घटना ओझेलमा



अ+ अ-

कञ्चनपुर । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार वर्षदिन पुग्यो । एक वर्षसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । दोषी पत्ता लगाउन विभिन्न किसिमले अनुसन्धान चलिरहेको सरकारले दाबी गरिरहेकै छ । कसुरदार प्रस्ट नभइसक्दा घटनासँग जोडिएर अदालतमा झन्डै आधा दर्जन मुद्दा परिसकेका छन् । कतिपयले यसलाई घटना अन्तै मोडिन लागेको हो कि भन्ने शंका पनि गरेका छन् ।

अहिले जिल्ला अदालत कञ्चनपुरमा तत्कालीन प्रहरी प्रमुखसहितका नाममा सार्वजनिक न्यायविरुद्ध र यातना कसुरमा दुइटा मुद्दा विचाराधीन छन् । निर्मलाकी आमा दुर्गादेवीले तत्कालीन एसपी डिल्ली विष्टसहित ८ जनाका नाममा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसुरमा जाहेरी दिएकी हुन् । उनकै जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दायर गरेको हो ।
प्रहरीले मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेर कञ्चनपुरको भीमदत्त–१९ बाग्फाँटाका दिलीप विष्टलाई यातना दिएको थियो । दिलीपका दाजु खड्कले यातना कसुरमा तत्कालीन एसपी विष्टसहित ४ जनाविरुद्ध जाहेरी दिएपछि त्यो मुद्दा पनि अदालतमा छ । आरोपी सबै प्रहरी धरौटीमा छुटिसकेका छन् ।

यससँगै एसपी डिल्ली विष्टका छोरा किरणले पनि पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालतमा गालीरबेइज्जतीसम्बन्धी मुद्दा दिएका छन् । उक्त मुद्दालाई सार्वजनिक न्यायविरुद्धकै मुद्दासँग लगत कायम गरिएको छ । अधिवक्ता विनोद भट्टले पनि पत्रकार भण्डारीविरुद्ध नै प्रतिष्ठाविरुद्धको कसुरमा अदालतमा मुद्दा दिएका छन् । उक्त मुद्दालाई पनि सार्वजनिक न्यायविरुद्धको मुद्दा साथै राखी कार्यान्वयन गर्ने आदेश भएको छ ।

यातना र प्रमाण नष्टको मुद्दामा अदालतले मागेको एमिकस क्युरीको विषयमा अदालतको मानहानि हुने गरी समाचार र फेसबुक पोस्टमा लेखेको ठहर गर्दै अदालतले पत्रकार भण्डारीलाई क्षमायाचना वा १ घण्टा कैद र १ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । यो घटना पनि अप्रत्यक्ष रूपमा निर्मलासँगै जोडिएको छ ।

‘मुख्य कुरा अपराधी पत्ता लगाउने हो, सबैले चाहेको पनि त्यही हो,’ नागरिक समाजका पूर्वअध्यक्ष तथा निर्मलाका हत्यारा पत्ता लगाउन गठित नागरिक संघर्ष समितिका सदस्य नरबहादुर साउदले भने, ‘तर अहिले त मुख्य कुरा ओझेलमा पर्ने गरी व्यक्तिगत चाहनाका आधारमा धमाधम मुद्दा पर्न थाले ।’ यसले अपराधी पत्ता लगाउनैपर्ने मूल विषय ओझेलमा पर्न सक्ने उनले बताए ।

पछिल्लो समय निर्मला प्रकरणलाई जोडेर व्यक्तिगत चाहनाका आधारमा समेत मुद्दा पर्न थालेको उनको बुझाइ छ । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगले बुझाएको प्रतिवेदनका आधारमा अनुसन्धान अझै पनि हुन नसकेको साउद बताउँछन् । ‘प्रतिवेदन कार्यान्वयन हुने हो भने अपराधी तत्काल पत्ता लाग्छ,’ उनले भने, ‘विभिन्न पक्षबाट घटनालाई अन्तै मोडन खोजिएजस्तो भएको छ ।’

निर्मलाकी आमा दुर्गादेवीलाई पनि अहिले अदालतमा एकपछि अर्को गरी धमाधम मुद्दा परिरहेका घटना अन्तै मोडिन लागेको जस्तो लागेको छ । ‘हामीले त सुरुदेखि नै हत्यारा पत्ता लगाएर न्याय चाहियो भनेका छौं । अहिले पनि त्यही भनिरहेका छौं,’ उनी भन्छिन्, ‘अहिले अपराधी पत्ता लाग्ने कुरा एकातिर छ तर एकपछि अर्कोगरी मुद्दा परिरहेका छन् ।’ उनले प्रमाण नष्टको आरोपमा ८ जना प्रहरीविरुद्ध जाहेरी दिएपछि पनि अदालतमा आफ्नो मनसाय प्रहरीलाई कारबाही गराउनेभन्दा पनि अपराधी पत्ता लागोस् भन्ने नै भएको भन्दै इजलासमै लिखित पत्र बुझाएकी थिइन् ।

गतवर्षको साउन–भदौमा दोषी पत्ता लगाउन दबाब दिने आन्दोलनमा होमिएका अधिकारकर्मी र निर्मलाका आफन्तजनको गतिविधि भने यतिबेला देखिन छाडेको छ । महेन्द्रनगर बजारको मदन चोकमा शुक्रबार साँझ निर्मलाको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । भेला भएकाहरूले निर्मलालाई सम्झँदै मैनबत्ती बाले । स्थानीय हेमराज जोशीले भने, ‘धेरैपटक उनको स्मृतिमा यही चोकमा मोमबत्ती बाल्दै आयौं, अपराधी पत्ता लागे मात्रै उनको आत्माले शान्ति पाउँछ भन्ने हामीलाई लाग्छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।