• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसंग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर 

‘सङ्गीतका सदावहार वसन्त’, लाेभी आँखाकाे युट्युबमा भ्युअर एक कराेड



बागलुङ: वसन्त थापाद्वारा सङ्गीत र स्वरवद्ध पछिल्लो लोकदोहोरी ‘लोभी आँखा’ बुधबार युट्युबको करोड क्लबमा प्रवेश ग¥यो । उहाँकै सङ्गीत-अभिनय रहेको ‘सालको पातको टपरी’ ले हालसम्म चार करोड ८० लाख बढी ‘भ्युअर्स’ पाएको छ ।

‘सालको पातको टपरी’ गत असोज १ मा र ‘लोभी आँखा’ जेठ ६ गते युट्युबमा सार्वजनिक भएको थियो । ‘सालको पातको टपरी’ युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो लोकदोहोरी बन्न सफल भएको छ । गत फागुन २३ गते सार्वजनिक गीत ‘जाम सुस्तै’ को म्युजिक भिडियो युट्युबमा ४९ लाख बढी पटक हेरिएको छ । उक्त गीतमा पनि सङ्गीत, शब्द, स्वर र अभियनसमेत थापाकै छ ।

गत जेठ ७ मा आएको अर्को लोकदोहोरी ‘चौतारीको वर’ ले हालसम्म ३६ लाख बढी ‘भ्युअर्स’ पाएको छ । उक्त गीतमा पनि थापाको सङ्गीत छ । यी त हालैका प्रतिनिधि गीत मात्र हुन् । थापाको नयाँ लोकदोहोरी ‘बोकेझार’ को ‘टिजर’ सार्वजनिक भएको छ । गीत आउँदो असोज १ गते सार्वजनिक हुँदैछ ।

विसं २०६८ ताका सार्वजनिक ‘डाँडै फुर्के सल्लो’, ‘रुमाल हल्लाइहल्लाई’ लगायतका लोकदोहोरी पनि अत्यधिक सफल रहे । ती गीतमा पनि थापाले सङ्गीत दिनुभएको छ । विसं २०६६ मा सार्वजनिक ‘नजाउ है सानु पँधेरीमा’ गीतले थापालाई एकाएक चर्चामा ल्यायो । त्यसयता थापालाई कहिल्यै पछाडि फर्कनु परेको छैन ।

उक्त गीतपछि नेपाली लोक दोहोरीको सङ्गीतले नयाँ ‘मोड’ लिएको विश्वास गरिन्छ । स्रोता÷दर्शकको प्रशंसासँगै गीतले राष्ट्रिय ‘अवार्ड’ समेत पायो । मौलिक सिर्जनामा अब्बल थापाले अहिलेसम्म झण्डै ५०० गीतमा सङ्गीत र सय बढीमा स्वर दिनुभएको छ । पञ्चेबाजा गीतमा पनि थापाको नाम सबैभन्दा अघि आउँछ ।

विसं २०७० मा सार्वजनिक पञ्चेबाजाको ‘वारि घुम्टे पारि गाजा’ बढी चर्चित छ । ‘बागलुङ बजारमा बाघको शालिक’, ‘माछा मिठो असला दरमखोलाको’, ‘शुभविवाह’ लगायतका पञ्चेबाजा पनि उत्तिकै रुचाइएका छन् । मुख्य बिधा लोक सङ्गीत रहेपनि थापाले सुगम, गजल, लोकपप शैलीका गीतमा पनि स्वर र सङ्गीत दिनुभएको छ ।

“अहिले चलचित्र ‘छ माया छपक्कै’ मा पनि काम गरिरहेको छु”, थापाले रासससँग भन्नुभयो । विसं २०६९ मा सार्वजनिक गजल गीत ‘यो माया हराएको शहर हो प्रिया’ लाई पनि स्रोताले रुचाए । थापाको सङ्गीत रहेको उक्त गीतबाट नै गायक राज सिग्देलले ‘डेब्यु’ गर्नुभएको थियो । ठाडो भाका, सालैजो, यानीमायाजस्ता मौलिक गीतमा पनि थापाले सङ्गीत सिर्जना गर्नुभएको छ । बागलुङ, गलकोट नगरपालिका–७ मल्मका थापाले साङ्गीतिक यात्राको छोटै अवधिमा महत्वपूर्ण सफलता हात पार्नुभएको छ ।

साधना र सिर्जनाको जगमा उहाँ अहिले नेपाली लोकसङ्गीत क्षेत्रको विशिष्ट प्रतिभाको रुपमा स्थापित हुनुहुन्छ । “गीत गाउने रहरले काठमाडौँ छिरेको १६ वर्ष पुग्यो”, थापाले विगत सम्झदैँ भन्नुभयो, “म अहिले जहाँ छु, आफ्नै सिर्जना र स्रोता÷दर्शकका कारणले छु ।” लोकसङ्गीतमा व्यावसायिक रुपमा टिक्ने थोरै कलाकारमध्येको सूचीमा थापाको नाम दरिएको छ ।

“सङ्गीतप्रतिको सोख र मोहले नै आज यो ठाउँमा पु¥यायो”, उहाँले भन्नुभयो “नारायणगोपाल, रामकृष्ण ढकाल, यम बरालको पुस्ताका गीत सुनेर हुर्कियौँ, हामीलाई सङ्गीतसँग जोड्ने त्यो बेलाको माध्यम रेडियो नेपाल मात्र थियो ।” थापाले विसं २०५९ मा ‘निलो फेवाताल’ गीतबाट साङ्गीतिक यात्रा शुरु गर्नुभएको थियो ।

उहाँको सिर्जना कर्मको केन्द्र नै लोक सङ्गीत हो । “रुचि त सबै खाले गीत, सङ्गीतमा छ”, थापाले भन्नुभयो, “व्यावसायिक रुपमा भने म लोकदोहोरीबाटै अघि बढेको छु ।” मौलिकता, सिर्जनात्मकता, प्रस्तुतिमा नयाँपन र साधनाले सङ्गीतमा सफल भइने विश्वास उहाँमा छ । “सिर्जनाकर्मबाट सन्तुष्ट छु, एउटा सर्जक पनि व्यावसायिक भएर बाँच्न सक्छ भन्ने उदाहरण स्थापित गर्न तल्लीन छु” थापाले भन्नुभयो ।

सुसुप्त अवस्थामा रहेका मौलिक लोक भाखालाई टिपेर त्यसलाई नयाँपन दिनमा थापा पोख्त हुनुहुन्छ । उहाँ इमेज, बिन्दबासिनी, अन्नुपूर्ण म्युजिक अवार्ड, उत्कृष्ट लय सर्जक सम्मानलगायत दर्जनौँ अवार्ड तथा पदकबाट सम्मानित भइसक्नुभएको छ । साङ्गीतिक यात्राका क्रममा बेलायत, दक्षिण कोरिया, जापान, कतार, दुबई, भारतलगायतका देशमा पुगिसक्नुभएको छ ।

“नेपाली लोकदोहोरीमा भरिने सङ्गीत अहिले व्यावसायिक बनेको छ”, थापाले भन्नुभयो, “पहिले सरसापटीमा लय दिने, अथवा मैले यस्तो गीत रचेको छु भनेर गाउने प्रचलन थियो, अहिले त्यो छैन, गायक तथा निर्माता स्वयं नै सङ्गीत चाहियो भनेर आउनुहुन्छ ।” थापाले लोक तथा दोहोरी गीतमा सङ्गीत गरेबापत राम्रै पारिश्रमिक लिनुहुन्छ । पछिल्लो समय भने आफ्नै गीतमा बढी समय दिनुपरेको उहाँको भनाइ छ ।

गायन र सङ्गीतलाई एकैसाथ अघि बढाउने धेरै कम सर्जकमध्येमा थापा पर्नुहुन्छ । केही वर्षअघि गाएका ‘डाँडै बिसौनी’, ‘किन माया मसँग तरकतरक छ’ लगायतका गीतले पनि थापालाई चिनाए । मौलिक लयमा सिर्जित ‘बामरी’ गीतबाट पनि थापाले प्रंशसा बटुल्नुभयो ।

“गाउँघरका भाखा टिपेर ल्याउने र गीत रकेर्ड गर्ने चलन थियो, जसलाई लय सङ्कलन भन्ने गरिन्थ्यो, तर अहिले हामीले लय सङ्कलन होइन सिर्जना गरिरहेका छौँ, त्यसैले हामी सर्जक हौँ” थापा भन्नुहुन्छ । सङ्गीत व्यावसायसँग पनि जोडिनुभएका थापाको अभ्यास डिजिटल प्रालि नामक सङ्गीत कम्पनी पनि छ ।

कम्पनीबाट प्रर्वद्धित गीत उहाँकै नामको युट्युब च्यानलबाट सार्वजनिक हुने गरेका छन् । थापा बागलुङ कलाकार समाज र क्षेत्री कलाकार समाजको अध्यक्ष हुनुहुन्छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल सङ्गीत उद्योग सङ्घलगायतका सङ्घ संस्थामा पनि आवद्ध हुनुहुन्छ ।