२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल पाउनै मुस्किल, किसान मारमा



अ+ अ-

सिरहा । सखुवानन्कारकट्टि गाउँपालिका–३ परिहारपुर गाउँका किसान जगबिर यादव शुक्रबार मल किन्न साइकलमा कृषि सामग्री कम्पनी लिमिटेड लहान पुगे। लिमिटेडमा कर्मचारीले उनलाई सहकारीमार्फत मात्रै किसानले मल किन्न पाउने जवाफ दिए।

उनी फेरी नजिकैको श्री नामको सहकारीमा पुगे। त्यहाँ पनि उनले डीएपी मल पाएनन्। रितै घर फर्के। उनीजस्तै मल किन्नलाई सुखीपुर नगरपालिका–३ कुशहा गाउँका शम्भुकुमार महतो पनि लिमिटेड पुगेका थिए। उनी डेढ हप्ता धाउँदा डीएपी मल पाएनन्। शुक्रबार उनले यूरिया मल किनेर घर फर्के। उनीहरु जस्तै यहाँका सैयौं किसानलाई डीएपी मल पाउनै मुस्किल भएको छ। मल नपाएर किसानहरुले खेतमा लगाएको धान उम्रिन सकेको छैन।

‘धान रोप्ने बेला डीएपी मल हाल्नुपर्छ। बजार धाउँदा–धाउँदै थाकेँ तर मल पाइन,’ जगबिरले भने, ‘खेतमा लगानी लगाएर धान उब्जनी हुन्छ कि हुँदैन भन्ने चिन्ता लाग्यो।’ सहज रुपमा मल नपाउँदा किसान बर्सेनि मारमा परेको उनले सुनाए। तीन विघामा लगाएको धान मल अभावकै कारण उम्रिन नसकेको उनको भनाइ छ। मलबीना उब्जनी कम हुने किसान बताउँछन्।

असार, साउन र भदौँमा मुख्य रुपमा किसानलाई मल आवश्यक पर्छ। त्यही बेला अभाव हुने गरेको छ। ‘सामग्री लिमिटेडले सहकारी मल दिन्छ। सहकारीले महंगोमा बेच्छ। आफ्नो मान्छेलाई मात्रै दिन्छ,’ शम्भुकुमार महतोले भने, ‘सर्वसाधारण किसान मारमा पर्छन्। सरकारले मल उपलब्ध गराइदिए हामीलाई ठूलो राहत हुनेथियो।’ भारतीय बजारबाट मल ल्याउन कठिन हुने र नेपालमा मल नपाउँदा वर्सेनि उत्पादन घट्दै गइरहेको उनी बताउँछन्।

किसानको माग भन्दा डीएपी मल निकै कम आएको कृषि सामग्री लिमिटेडले जनाएको छ। सिरहामा करिब ८ हजार टन डीएपी र यूरिया मल आवश्यक छ। जसमा आर्थिक वर्ष ०७५/०७६ डीएपी तीन हजार ९ सय ७९ र यूरिया मल ६ हजार ९ सय ९६ टन प्राप्त भएको थियो। प्राप्त भएको मल सबै बिक्री भइसकेको छ। सम्पूर्ण मलको ७० प्रतिशत कृषि सामग्री र ३० प्रतिशत साल्ट ट्रेडिङ लिमिटेडले आपूर्ति गर्छ।

कृषि सामग्रीमा एकसय ८ वटा सहकारी र साल्ट ट्रेडिङ ४० वटा सहकारीले मल÷खाद्यको डिलर लिएका छन्। साल्ट ट्रेडिङले आफ्नो ३० प्रतिशत मल समयमै बेचेको लहान शाखा प्रमुख जितेन्द्र साह बताउँछन्। ‘अहिले पनि सहकारीहरुले मल माग गरेका छन्,’ उनले भने, ‘सरकारले लागू गरेको भिसिटिएस प्रणालीका कारण मल ढुवानी हुन सकेको छैन।’ साल्ट ट्रेडिङले ३२ हजार बोरा डीएपी र यूरिया मल बिक्री गरेको प्रमुख साहले जानकारी दिए।

सहकारीलाई दुई हजार एक सय ८८ रुपैयाँमा डीएपी र सात सय ३८ रुपैयाँमा यूरिया मल सामग्रीले बिक्री गर्ने गरेको छ। जसमा सहकारीले प्रतिबोरा १२ रुपैयाँ ५० पैसा कमिशन पाउँछ। गाउँ–गाउँमा मल लिएर बेच्दा सहकारीले ढुवानी भाडा खर्च थप लिएर बेच्न पाउँछन्। तर, सिरहामा सहकारीहरुले बढी मूल्य लिएर बेच्ने गरेको किसानले गुनासो गरेका छन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।