२० असार २०८३, शनिबार
,
Latest
चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदुरमा अझै सुत्केरी भएमा श्रीमानले समेत छुँदैनन्



अ+ अ-

बैतडी । दशरथचन्द–९ जोशीबुंगाकी पिंकी रानाका दुवै छोराछोरी स्थानीय जोशीबुंगा स्वास्थ्य चौकीमै जन्मिए । प्रसूतिपछि घर फर्कने बेला श्रीमान्‌ले समेत छुन नमानेपछि शिशु र लत्ताकपडा उनी आफैंले बोकेर घर ल्याउनुपर्‍यो ।

सहारा चाहिने बेला सुत्केरी आफैंलाई गाह्रो पर्ने यस्तो समस्या बेहोर्ने उनी एक्ली भने होइनन् । यहाँका ग्रामीण क्षेत्रका महिलाहरूको यो साझा समस्या हो । सुत्केरी अवधिमा कसैले छुन नहुने अन्धविश्वासले गर्दा महिलालाई गाह्रो हुने गरेको छ ।

‘श्रीमान् शिक्षक हुन् । सुत्केरी भएका बेला अरूले नछोए पनि श्रीमानले समेत नछुँदा साह्रै चित्त दुखेको छ,’ राना भन्छिन्, ‘अस्पतालमा त सिस्टरहरूले, अरू कर्मचारीहरूले छोए, स्याहार गरे । तर आफ्नै घरपरिवारका सदस्यहरूले छोएनन् । दुःखका बेला किन छुँदैनन् होला भनेर भन्नै अप्ठेरो लाग्छ ।’ सहारा चाहिने बेलामा नदिनुले सुत्केरीलाई चित्त दुख्ने उनले बताइन् ।

‘छुनु हुँदैन भनेर घर जाने बेला बच्चा पनि बोक्न मानेनन् । आफैंले बच्चा र कपडाहरू बोकेर घर जानुपर्‍यो,’ उनले भनिन्, ‘घर पुग्दासम्म पेट, टाउको दुखेर रिंगटा लागेर बाटैमा ढल्ने जस्तो भएको थियो ।’ गाउँका सुत्केरीले नचोखिँदासम्म दिनहुँ नुहाउनुपर्ने र कपडा धुन टाढाको खोलामा जानुपर्ने बाध्यता रहेको उनले बताइन् । दशरथचन्द–९ कै पुष्पा महर एक महिनाकी सुत्केरी हुन् ।

उनलाई पनि सुत्केरी अवस्थामा कसैले छोएनन् । जेठानीसंँगै घरका अन्य सदस्यहरू बेथा लागेका बेला स्वास्थ्य संस्थामा त आए, तर बच्चा जन्माएपछि उनलाई छोएनन् । बच्चा र कपडा सबै बोकेर आफैंले बोकेर घर पुगेको उनले बताइन् । ‘सबै महिलाका लागि यो ठूलो समस्या छ,’ उनले भनिन्, ‘सुत्केरी त आफ्नै घरपरिवारको सहयोग चाहिने बेला हो भनेर पनिबुझ्दैनन् ।’

छोरी जन्मिए ९ र छोरा भए ११ दिनसम्म सुत्केरीलाई नछुने चलन गाउँघरमा रहेको उनले बताइन् । सुत्केरी भएका बेला महिलाहरूलाई अरू बेलाभन्दा धेरै स्याहारसुसार चाहिने भए पनि परिवारका सदस्यहरूले नै नछुने चलनले आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने गरेको छ ।

स्वास्थ्य संस्थामा कुर्न आएकाहरूले पनि सुत्केरी भएपछि नछुने पाटन–५ को वसन्तपुर स्वास्थ्य चौकीकी इन्चार्ज सुनीता चौधरीले बताइन् । ‘धेरै सम्झाइबुझाइ गर्दा पनि मान्दैनन् । के गर्नु हामीले पनि,’ उनले भनिन्, ‘आमा र नवजात बच्चालाई सहारा चाहिने बेला भनेकै समयमा त्यस्तो गर्छन् ।

अरूले नछुँदा सुत्केरीहरूलाई शारीरिक समस्या देखापर्न सक्ने चौखाम स्वास्थ्य चौकीका इन्चार्ज हेमन्तसिंह साउदले बताए । ‘प्रसूतिको केही घण्टामै बच्चा, कपडा बोकेर घरसम्म आफैं लैजान लाउनु आमाको स्वास्थ्यमाथि खेलबाड हो,’ उनले भने, ‘गाडी नचल्ने ठाउँ छन्, कतिका घर पनि धेरै टाढा हुन्छन् ।’

नर्मल डेलिभरीका अवस्थालाई सामान्य मान्दा पनि अपरेसन गरेरबच्चा जन्माएका आमालाई सहारा दिनैपर्ने उनले बताए । ‘त्योबेला टाँका टुट्नेदेखि अन्य समस्या हुन सक्ने देखिन्छ । उनीहरूसँंग आएकाले छुन मान्दैनन्,’ उनले भने, ‘गाह्रो नै भएपछि कहिलेकाहीँ हामी आफैं बोकेर घरसम्म पुर्‍याइदिन्छौं । सधैं हामीले पनि सक्दैनौं ।’

देउता रिसाउने डरले सुत्केरो बार्नुपर्ने चलन रहेको बूढापाकाहरू बताउँछन् । सुत्केरी नचोखिँदै छोएमा बिरामी हुने अन्धविश्वास रहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।