२० असार २०८३, शनिबार
,
Latest
चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यतीको भन्सार पास रोकियो



अ+ अ-

काठमाडौँ । यती एयरलाइन्सले थाइल्यान्डबाट शनिबार उडाएर ल्याएको एउटा एटीआर जहाजको वास्तविक खरिद मूल्य पेस नगरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भन्सार पास रोक्का गरिदिएको छ ।

यतीले सन् २००७ मा निर्मित जहाजको वास्तविक मूल्य पेस नगरेकाले भन्सार कार्यालयमा रोकिएको भन्सार प्रमुख गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । यतीले यो जहाजका दुई मूल्य पेस गरेको छ । उसले भन्सारमा जहाजको खरिद मूल्य ३६ करोड ५८ लाख रुपैयाँ भएको दाबी गरेको छ । तर जहाजको बिमा गरिएको पत्रमा ६० करोड ६१ लाख रुपैयाँ बराबर मूल्य कायम गरेको छ ।

‘खरिद गरिएको बिलमा न्यूनतम मूल्यांकन गरिएको देखिन्छ । तर यही मोडलको एकै वर्ष उत्पादित जहाज बुद्ध एयरले ल्याउँदा ८२ करोड रुपैयाँ परल मूल्य देखाएको थियो, हाम्रो राजस्व नियमले यस्तो मान्दैन,’ भन्सार प्रमुख ठाकुरले भने । बुद्ध एयरले चैतमा फ्रान्सको टुलुजबाट भित्र्याएको एटीआरमा ८२ करोड परल मूल्यमा १ प्रतिशत भन्सार दरका आधारमा ८२ लाख रुपैयाँ हाराहारी राजस्व बुझाएको थियो । सन् २००७ मा निर्मित उक्त एटीआर विमान बुद्धअघि फ्रान्सेली प्रवासी क्षेत्र ताहितीस्थित एयर ताहितीले उडाउँदै आएको थियो ।

यतीले शनिबार बैंककबाट ५ घण्टा उडाएर काठमाडौंमा सिधा अवतरण गराएको विमान १२ वर्ष पुरानो हो । यती स्रोतका अनुसार यसअघि यो विमान थाइल्यान्डको नोक एयरले उडाउँदै आएको थियो । तर उक्त कम्पनी आर्थिक संकटमा परेपछि यो जहाजको बेलायती लगानीकर्ता कम्पनी इन्भेस्टटेकबाट यतीले ३२ लाख ५० हजार डलर (३५ करोड ८१ लाख रुपैयाँ हाराहारी) मा खरिद गरेको हो ।

यो विमान खरिद गर्ने पाँचौं कम्पनी हो यती । भारतको एयर डेकोनले यो विमान १२ वर्षअघि ब्रान्ड न्यु खरिद गरेर नौ महिना उडाएर भारतकै किङफिसर एयरलाइन्सलाई बेचेको थियो । किङफिसर आर्थिक संकटमा परेपछि त्यहाँ चार वर्ष उडेको यो विमान दक्षिण अफ्रिकाको इन्भेस्टटेकको स्वामित्वमा गएको थियो । उक्त कम्पनीले तीन महिनापछि यो विमान सन् २०१२ डिसेम्बरमा थाइल्यान्डको नोक एयरलाई भाडामा दिएको थियो ।

फ्रान्स र इटालीको एटीआर कम्पनीले उत्पादन गरेको यो जहाज घुम्दै पाँचौं कम्पनीका रूपमा शनिबार काठमाडौंमा अवतरण भएको छ । नागरिक उड्डयन प्राधिकरणले यसलाई नेपाली रजिस्ट्रेसन नम्बर अल्फा नोभेम्बर गल्फ दिएको छ । नेपालको हवाई कानुनले १५ वर्षसम्म पुरानो विमान खरिदमा छुट दिएको छ । नेपालमा सबैभन्दा सस्तो भन्सार दर पाइने दुई वस्तुमध्ये जहाज र हीरा पर्छन् । यिनको भन्सार दर आयातकर्ताले १ प्रतिशत मात्रै तिर्नुपर्छ ।

पाँचौं एटीआरका रूपमा खरिद गर्ने यतीले अब यो जहाज छुटाउन बिमापत्रमा कायम मूल्य ६० करोड ६१ लाखको भन्सार तिर्नुपर्छ । तर यतीले भन्सारको यो निर्णयमा आर्बिटेसन गर्ने तयारी गरेको छ । आर्बिटेसनमा जाने भएपछि जहाज छुटाउन धरौटी तिरे पुग्छ । ठाकुरका अनुसार, यो अधिकतम मूल्यको १ प्रतिशत नै हुन्छ ।

यतीले वैशाखमा थाइल्यान्डबाटै ५६ लाख डलरमा खरिद गरेको चौथो एटीआरमा पनि दुइटा मूल्य भन्सारमा पेस भएपछि भन्सार पास रोकिएको थियो । उक्त जहाजबारेको भन्सार मूल्यबारे यतीले भन्सार विभाग र अर्थ मन्त्रालयलमा आर्बिटेसन (उजुरी) दिएको छ । त्यसबारे निर्णय भइसकेको छैन ।

तर नेपाली रजिस्ट्रेसन नम्बर अल्फा नोभेम्बर चार्ली भएको उक्त विमान यतीले धरौटी तिरेर उडानमा ल्याइसकेको छ । त्यसताका यतीले ६० करोड मूल्यमा बिमा गराएको थियो । उसले यो अंकमा भन्सार तिर्न इन्कार गरेको थियो । एटीआर ७२–५०० मोडलका ब्रान्ड न्युको बजार मूल्य २ अर्बभन्दा बढी पर्छ ।

नेपालमा सबभन्दा धेरै एटीआर विमान उडाउने बुद्ध एयर हो । यससँग ७२ यात्रु क्षमताका ७ वटा र ४२ सिट क्षमताका तीन एटीआर विमान छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।