३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

९४ सम्पदा बने, १८ बन्दै

९४ सम्पदा बने, १८ बन्दै
अ+ अ-

काठमाडौँ । पुनर्निर्माणलाई एक वर्षको समयसीमा दिँदै यस वर्ष युनेस्कोले नेपालका विश्व सम्पदालाई खतराको सूचीमा राखेको छैन । काठमाडौं उपत्यकाका ७ विश्व सम्पदाको पुनर्निर्माण एक वर्षभित्रमा पूरा गर्ने पुरातत्त्व विभागको प्रतिबद्धतापछि सूचीमा नपरेको हो ।

अजरबैजनको बाकुमा गत महिना भएको विश्व सम्पदा कमिटीको ४३ औं ‘सेसन’ मा युनेस्कोले काठमाडौंका ७ सम्पदालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको थियो । ‘पुरातत्त्व विभागकै सक्रियतामा प्रस्तावमा विमति राख्दै त्यसो नगर्न अनुरोध हुँदै आएको हो,’ पुरातत्त्व विभागका निमित्त महानिर्देशक दामोदर गौतम भन्छन्, ‘यो वर्ष पनि हामीले अनुरोध गर्‍यौं । एक वर्षभित्रमा पुनर्निर्माण गरिसक्नुपर्ने सर्तमा सूचीमा परेको छैन ।’

सन् २०१५ मा युनेस्कोको ‘जोइन्ट वर्ल्ड हेरिटेज रियाक्टिभ मनिटरिङ मिसन’ ले काठमाडौंको विश्व सम्पदा अध्ययन गरेको थियो । मिसनले अधिकांश सम्पदा भत्किएको र त्यसको संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन खतराको सूचीमा राख्नुपर्ने सुझावसहित प्रतिवेदन दिएको थियो । प्रतिवेदनअनुसार खतराको सूचीमा राख्न ड्राफ्ट तयार भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको नेतृत्वमा नेपालबाट टर्कीको स्तानबुलमा भएको ‘सेसन’ मा नेपालले ६ वर्षमा बनाइसक्ने प्रतिबद्धता जनाएपछि रोकियो । सेसनमा २१ राष्ट्र सहभागी थिए ।

‘खतराको सूचीमा राखेको भए सरकारको ध्यानाकर्षण हुन्थ्यो, अन्तर्राष्ट्रिय समुदायको सहयोग पनि आउँथ्यो,’ युनेस्कोको सल्लाहकार संस्था इमोमस नेपालका प्रमुख काइ वाइ जे भन्छन्, ‘सूचीमा राख्दैमा डराउनु पर्दैन । झन् सम्पदालाई राम्रो बनाउने अवसर हुन्छ ।’ त्यसबेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ६ वर्षको समयसीमा तोकेर सम्पदा पुनर्निर्माण गर्ने योजना बनाएको थियो । त्यही योजना पुरातत्त्व विभागले युनेस्कोलाई दिएको थियो ।

प्रत्येक वर्षका लागि अनुमानित बजेट विनियोजन समेत गरिएको छ । भुइँचालो गएको मितिले ६ वर्षभित्र ३५ अर्ब २३ करोड, ३२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान भएको थियो । पहिलो वर्ष ८ अर्ब ३० करोड, दोस्रो वर्ष ८ अर्ब १८ करोड, तेस्रो वर्ष ७ अर्ब ५६ करोड, चौथो वर्ष ५ अर्ब ८२ करोड र अन्तिम वर्ष ५ अर्ब रुपैयाँ खर्च गर्ने अनुमान छ । विभागका अनुसार काठमाडौं उपत्यका र बाहिरका १७ जिल्लामा गरी ८ सय ९१ सम्पदामा क्षति पुगेको छ ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लामा मात्र ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो। तीमध्ये १ सय ३३ पूर्ण क्षति र ६ सय २० आंशिक क्षति भएका थिए। त्यसमध्ये विश्व सम्पदा क्षेत्रमा १ सय ४० र विश्व सम्पदाबाहिर ६ सय १३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये ३ सय ८० सम्पदा बनेका छन् । बनेकामध्ये विश्व सम्पदा सूचीमा ९४ वटा निर्माण सम्पन्न भएका छन् । विश्व सम्पदा सूचीबाहिर २ सय ८४ सम्पदा बनेका छन् । १ सय २३ सम्पदा निर्माणाधीन अवस्थामा छन् ।

सम्पदालाई विश्व सम्पदा, राष्ट्रिय सम्पदा र स्थानीय सम्पदा गरी तीन वर्गमा विभाजन गरेर निर्माण भइरहेको विभागले जनाएको छ । विश्व सम्पदा कमिटीले एक वर्षको समयसीमा दिए पनि यो अवधिमा निर्माण सम्पन्न गर्न कठिन हुने विभागले जनाएको छ । विश्व सम्पदामध्ये पशुपति, वसन्तपुर, पाटन र भक्तपुरका केही सम्पदाको निर्माण सुरु नै भएका छैनन् । केही ठाउँमा विदेशी सहयोगको विरोध भएको छ भने केहीमा आफ्नो सम्पदा आफैं बनाउनुपर्ने माग राख्दै काम अघि बढ्न सकको छैन ।

वसन्तपुरको आगंछे, जगन्नाथ, गोपीनाथमा विदेशी सहयोगमा नभई आफ्नै स्रोतले बनाउनुपर्ने माग स्थानीयवासीले राखेका छन् । युनेस्कोले पनि सम्पदा ठेक्कामा दिँदा यसको मौलिकता मासिने भन्दै नदिन भन्दै आएको छ तर राष्ट्रिय कानुनअनुसार ठेक्कामा दिनुपर्ने बाध्यता भएको विभागले जनाएको छ ।

‘१० करोडसम्मको उपभोक्ता समितिलाई दिन सकिने गरी प्राधिकरणले नियम बनायो,’ गौतम भन्छन्, ‘रानीपोखरीमा र काष्ठमण्डपमा त्यसैअनुसार परीक्षण भइरहेको छ ।’ ठेक्कामा दिइएकै कारण सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको गौतम बताउँछन् । ‘अन्य क्षेत्रको निर्माणमा ठेकेदारले ढिलाइ गर्ने समस्या छ,’ गौतम भन्छन्, ‘त्यही समस्या सम्पदामा पनि देखियो ।’

पुरातत्त्व विभागका विश्व सम्पदा शाखका पुरातत्त्व अधिकृत देवेन्द्र भट्टराईका अनुसार पशुपतिमा २४ सम्पदा पुनर्निर्माण भएका छन् । एउटा अन्तिम चरणमा पुगेको छ । तीनवटाको भने निर्माण सुरु नै भएको छैन । निर्माण सम्पन्न भएका सम्पदामा वनकाली सत्तल, भस्मेश्वर सत्तल, पन्ध्र शिवालय सत्तल, चौतरिया शिवालय र गुह्येश्वरी सत्तल छन् ।

त्यसैगरी पोडे पाटी, राममन्दिर, अमरकान्तेश्वर, सुरेशकान्तेश्वर, भूतेश्वर मन्दिर, कुलानन्द झा सत्तल, घ्याम्पे पाटी कोटिलिंगेश्वर मन्दिर, ताराप्रकाशेश्वर मन्दिर, वाग्मती किनाराको सत्तल, गुह्येश्वरी मन्दिर, भन्डारतहबिल कार्यालय पनि सम्पन्न भए । रुद्रगाडेश्वर सत्तल, गुह्येश्वरी उत्तर सत्तल, गोरखनाथ पाकशाला, योगी नरहरीनाथ सत्तल, शंकरनारायण सत्तल, किरातेश्वर सत्तल र मृगस्थलीका शिवालय निर्माण सम्पन्न भएका छन् । डटुटोलको द्योंछें, जितजंगप्रकाश मन्दिर र सत्तल, गुह्येश्वरी सत्तल पूर्व, सप्तमी सत्तल निर्माण भइरहेका छन् । तीन सम्पदा निर्माण सुरु नै भएका छैनन् । निर्माण सुरु नभएकामा विश्वरूप मन्दिर, सत्तल, बज्रघर र पञ्चदेवल छन् ।

हनुमानढोका दरबार क्षेत्रमा १७ सम्पदा निर्माण सम्पन्न भएका छन् । निर्माणाधीन अवस्थामा ६ सम्पदा छन् । निर्माण सुरु नै नभएका ४ वटा छन् । निर्माण सम्पन्न भएकामा देगुतलेजु मन्दिर, पञ्चमुखी हनुमान, लक्ष्मीनारायण, कागेश्वर, गद्दी बैठक, नाट्यश्वर मन्दिर, तलेजु मन्दिर, दसैंघर, सिंह ढोकाअगाडिको शिवमन्दिर, नगराघर, मरु सत्तल, तारिणी बहाल, ढुकुटीघर, प्रताप मल्लको ढुंगाको स्तम्भ, वंशगोपाल मन्दिर, कचा देगज छन् । नौतले दरबार, दसअवतार मन्दिर, काष्ठमण्डप, माजुदेगको निर्माण धमाधम भइरहेको छ । आगम छें, जगन्नाथ, गोपीनाथ र शिवपार्वती मन्दिरको निर्माण सुरु भएको छैन ।

विश्व सम्पदा सूचीकै स्वयम्भूमा १९ वटा निर्माण सम्पन्न भएका छन् । दुई निर्माणाधीन छन् । निर्माण सम्पन्न भएकामा वसुवन्धु चैत्य, तासिगोमाङ चैत्य, अनन्तपुर मन्दिर, प्रतापपुर मन्दिर, पुरानो स्वयम्भू चैत्य, मञ्जुश्री सत्तल, शान्तिपुर पाटी, मयूरको ढुंगााको स्तम्भ, सदाक्षरी लोकेश्वरको ढुंगाको स्तम्भ, दुई तारको ढुंगाको स्तम्भ छन् । त्यसैगरी, अनन्तपुरको ठूलो घण्टा, भयुपुर मन्दिर, वसुपुर मन्दिर,द्योछें, सेतो सत्तल, अजिमा मन्दिर, आनन्दकुटी विहार, देवाधर्म विहार निर्माण भइसकेका छन् । शान्तिपुर र ज्ञानमाला भजन घर निर्माण भइरहेको छ ।

भक्तपुर विश्व सम्पदा क्षेत्रका सम्पदामध्ये १७ वटाको निर्माण सम्पन्न भएका छन् । पुनर्निर्माण ३ वटाको भइरहेको छ । एउटाको निर्माण सुरु नै भएको छैन । निर्माण सम्पन्न भएकामा यन्त्रा भत्शाला, शिलु महादेव मन्दिरको पूर्वतीरको नारायण मन्दिर, यक्षेश्वरको दक्षिणतीरको नारायण मन्दिर, गोल्डेन गेट छेउको गणेश मन्दिर छन् ।

त्यसैगरी, सिद्धिलक्ष्मीको पूर्वतीरको नारायण मन्दिर, बलाखु गणेश पाटी, रामेश्वर, बद्रीनाथ, केदारनाथ, पुजारी मठ, दरबार क्षेत्रको पश्चिम गेट, गोलमाडी गणेश मन्दिर, सिद्धि लक्ष्मी मन्दिर, दुईमाजु चोक, बालखु गणेश पाटी ९उत्तर० र तलेजुको तबला घर पनि सम्पन्न भइसकेका छन् । वत्शाला मन्दिर, शिलुमहादेव मन्दिर र तब सत्तल निर्माण भइरहेका छन् । यक्षेश्वर मन्दिरको निर्माण भने सुरु नै भएको छैन ।

चाँगुनारायणमा ५ सम्पदा निर्माण सकिएका छन् । एउटा निर्माणाधीन छ । निर्माण सम्पन्न भएकामा चाँगुनारायण मन्दिर, किलेश्वर महादेव, छिन्नामस्ता मन्दिर, अमात्य सत्तल र सरस्वती मन्दिर छन् । चौघेरा सत्तल पुनर्निर्माण भइरहेको छ ।

पाटनको विश्व सम्पदा क्षेत्रमा ११ वटाको निर्माण सकिएका छन् । निर्माणाधिनमा ५ वटा छन् । एउटाको निर्माण सुरु नै भएको छैन । निर्माण सम्पन्न भएकामा तलेजु (दक्षिण), तलुजु (उत्तर), सुन्दरी चोक, मणिमण्डप (उत्तर), केशव नारायण मन्दिर, योग नरेन्द्र मल्लको ढुंगाको सालिक छन् ।

त्यसैगरी बहादुर शाह भवन, भीमसेन ढुंगाको स्तम्भ, कृष्ण मन्दिर, मणिमण्डप (दक्षिण) र विश्वनाथको निर्माण सकिएको छ । चामरनारायण मन्दिर, हरिशंकर मन्दिर, केशवनारायण चोक, राधाकृष्ण मन्दिर र भीमसेन मन्दिर निर्माणाधीन अवस्थामा छन् । देगुतलेजु मन्दिरको निर्माण सुरु नै भएको छैन ।

विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये निर्माण सम्पन्न भएको बौद्ध मात्रै हो । बौद्धनाथ विकास समितीले चन्दा उठाएर २३ करोड रुपैयाँ लागतमा मन्दिर पुनर्निर्माण गरेको थियो । यहाँ एउटा मात्रै सम्पदा छ ।

सबैभन्दा पहिला सम्पन्न भनिएको बौद्धनाथ नै पुरातात्त्विक मापदण्डअनुसार बनेको छैन । चैत्यको गर्भभन्दा माथि कंक्रिट राखेर बनाइएको छ । मेलम्ची घ्याङ गुठीका प्रमुख भूमतीबज्र लामाका अनुसार चैत्यमा सिमेन्ट, रड राखेर निर्माण गरिएको छ । ‘हामीले भन्दाभन्दै समितीले कंक्रिट राख्यो,’ लामा भन्छन्, ‘यहाँको काठ पनि मापदण्डअनुसार छैन ।

काठको एउटै गिंड राख्नुपर्थ्यो तर यहाँ गाँसेर राखिएको छ ।’ पुरातत्त्व विभागले पहिला पनि कंक्रिट राखेकाले फेरि पनि त्यही राख्न अनुमति दिएको दाबी गरेको छ । ‘पहिला कंक्रिटै राखिएको रहेछ,’ विभाग विश्व सम्पदा शाखाका प्रमुख सुरेश सुरज श्रेष्ठ भन्छन् । अरू सम्पदामा पनि पुरातात्त्विक मापदण्डविपरीत निर्माण सामग्री प्रयोग भएका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत गर्दा भन्दा सम्पदाको गुण र लक्षण बिग्रँदै गए भने युनेस्कोले खतराको सूचीमा राखिदिन्छ । खतराको सूचीमा राख्दा पनि ती सम्पदालाई पहिलाकै अवस्थामा ल्याइएन भने सूचीबाटै हटाइदिन्छ । ‘सम्पदाका गुणमा धेरै ह्रास आएका छन्,’ काइ वाइजे भन्छन्, ‘अब विश्व सम्पदा क्षेत्रको पुनरावलोकन गर्नुपर्ने समय आएको छ ।’

विज्ञका अनुसार उपत्यकाका सात विश्व सम्पदा सूचीमध्ये अधिकांशको सुरुका गुण र लक्षण खस्कँदै गएका छन् । पुरातत्त्वविद् भीम नेपालका शब्दमा अहिले सम्पदा कसैको पनि नियन्त्रणमा नभए जस्तो देखिन्छ । सम्पदा क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन लागू भएको छ तर कार्यान्वयन भएका छैनन् । सम्पदाको नियमन गर्ने निकाय पुरातत्त्व विभाग हो । विभागले प्रभावकारी नियमन गर्न सकेको छैन ।

‘विश्व सम्पदाको मुख्य क्षेत्र र सन्निकट क्षेत्रमा कुनै पनि मर्मतसम्भार तथा पुनर्निर्माणजस्ता कार्य गर्दा निर्दिष्ट मापदण्डअनुसार गराउनुपर्छ,’ पुरातत्त्वविद् विष्णुराज कार्की भन्छन्, ‘यसको मूल उद्देश्य, मौलिकता, संवेदनशीलता, परम्परागत प्रविधि एवं भौगोलिक खण्डीकरण हुनबाट जोगाउन मापदण्ड लागू गरिएको छ तर यो मापदण्डविपरीत काम भइरहेका छन् ।’ २०७२ सालको भुइँचालो गएयता सम्पदा पुनर्निर्माण गर्ने क्रममा यसको मूल्य मान्यतामा बढी असर पारिएको विज्ञ सुनाउँछन् ।

वसन्तपुर क्षेत्रमा निर्माण भइरहेका सबै सम्पदा मापदण्डअनुसार छैनन् । कोहीमा किला ठोकिएका छन् । कोहीको स्वरुप परिवर्तन गरिएका छन् । कोहीको साइज घटाइएका छन् । कहीँ भूमिगत संरचना बनाइएका छन् । कहीँ तोकिएको उचाइभन्दा बढी निर्माण भइरहेका छन् । ‘तोकिएको अधिकतम उचाइ ३५ फिट हो । योभन्दा बढी जान पाइँदैन,’ काइ वाइजे भन्छन्, ‘तर दरबारसँगै जोडिएको महर्जन बिजनेस एसोसिएट्सले यो मापदण्डविपरीत जाने योजना बनाएको छ ।

यो विश्व सम्पदाका लागि खतराको संकेत हो । सम्पदाका लागि खतरा नै उचाइ हो । उचाइ बढी भयो भने अगाडिका सम्पदा छेकिन्छन् ।’ काइ वाइले यस्तै उचाइका कारण अस्ट्रियाको भियनालाई खतराको सूचीमा राखेको उदाहरण दिन्छन् । ‘एउटै घरका कारण भियना खतराको सूचीमा पर्‍यो,’ उनी भन्छन्, ‘एउटा व्यापारिक प्रोजेक्टले ४३ फिट मात्रै उचाइ बनाउनुपर्ने ठाउँमा ६६ मिटर बनाएछ । त्यही कारण खतराको सूचीमा पर्‍यो ।’

पछिल्लो समय जर्मनीको ड्रेसडेनलाई विश्व सम्पदा सूचीबाट हटाइएको छ । त्यसको मुख्य कारण आधुनिक निर्माण नै हो । भौतिक र सांस्कृतिक दृश्य मासिने गरी चार लेनको पुल बनाएको भन्दै सम्पदा सूचीबाट हटाइएको हो । ‘त्यहाँका मान्छेले पुल पाए । भौतिक सुविधा पाए,’ कार्की भन्छन्, ‘तर आफ्नो क्षेत्र विश्व सम्पदाबाट गुमाए । हटाएकामा त्यहाँका बासिन्दा दुःखी छन् । हाम्रो अहिलेको गतिविधि हेर्ने हो भने हाम्रा सम्पदा पनि हटाइदिने दिशातिर अग्रसर छन् ।’

विज्ञका अनुसार प्रत्यक्ष हेर्दा पशुपति, वसन्तपुर, चाँगुनारायण, स्वयम्भू र बौद्धनाथका सम्पदाको गुण मासिने गरी काम भएका छन् । सम्पदा सूचीमा सूचीकृत हुने बेलाको भन्दा धेरै परिवर्तन आएको छ पशुपति क्षेत्र । विश्व सम्पदाको सीमा तोकिएको क्षेत्रभित्र जथाभावी डोजर चलाइएका छन् । सम्पदा क्षेत्रमा हेलिकप्टरसमेत उडाउन पाइँदैन भन्ने विश्वव्यापी मान्यता छ । त्यति संवेदनशील मानिने ठाउँमा डोजर चलाउँदा जमिनमुनिका पुरातत्त्व मासिने खतरा हुन्छ । जंगल मासिएका छन् ।

वनकालीमा कंक्रिट राखेर पार्क बनाइएको छ । भण्डारखाल पनि पार्क बनाइएको छ । मृगस्थलीमा मृग राखिएका छन् । मृगले रुखका जरा मात्रै होइन, माटोसमेत खाएका छन् । ‘मरुभूमि बनेको छ मृगस्थली,’ पशुपतिका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘जंगल नाश भएर गएको छ । पहिला जस्तो थियो, त्यस्तो छैन अहिले यहाँ । यसलाई सुधार गर्न ढिला भइसक्यो ।’ काठमाडौं उपत्यकालाई एउटा क्षेत्र मानेर ७ सम्पदालाई विश्व सम्पदा सूचीमा राखिएको हो ।

धेरैले उपत्यकामा ७ विश्व सम्पदा भन्ने गरिएको छ । तर त्यसो होइन । एक विश्व सम्पदाभित्र सातवटा स्मारक छन् । यी कुनैमध्ये एउटा मात्रै स्मारक सम्पदा सूचीबाट हट्यो भने सबै हट्छन् । यसलाई जोगाउने जिम्मेवारी पाएका महानगर, पुरातत्त्व विभागलगायतले मापदण्डविपरीत काम रोक्न नसेको पुरात्त्वविद् नेपाल गुनासो गर्छन् ।

काठमाडौंका सम्पदाका जानकार तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ सम्पदा संरक्षणमा नयाँ चुनौती आएको बताउँछन् । श्रेष्ठको शब्दमा व्यावसायीकरणले गर्दा विश्व सम्पदा नै चेपुवामा परेको छ । ‘आधुनिक निर्माण सामग्री मात्रै बलियो हुन्छ भन्ने मनोविज्ञानले जरा गाड्यो,’ उनी भन्छन्, ‘सम्पदामा यस्तो गर्दै जाने हो भने हामीलाई अन्तर्राष्ट्रिय जगत्ले सम्पदा संरक्षण गर्न नसक्ने नालायक भनेर सूचीबाटै हटाइदिन सक्छ ।’

विश्व सम्पदा सूचीमा पर्न विश्व सम्पदासम्बन्धी वडापत्रमा हस्ताक्षर गरेको हुनुपर्छ । वडापत्रमा हस्ताक्षर गर्ने पक्ष राष्ट्र हुन्छ । नेपालले १९८७ मा वडापत्रमा हस्ताक्षर गरेको थियो । राष्ट्रले आफ्नो देशभित्रको कुनै अन्तर्राष्ट्रिय महत्त्व भएको सम्पदालाई फाराम भरेर सूचीकृतका लागि पठाउन सक्छ । सूचीकृत गर्नुपर्ने आधार, यसको महत्त्व, मौलिकता, विश्वसनियता, स्वच्छन्दता, अखण्डता, पूर्णताजस्ता गुण र लक्षण स्पष्ट रूपमा लेखेर पठाउनुपर्छ ।

सम्पदाको विवरणमा सम्पदाको इतिहास र विकास क्रम, सम्पदा स्थलको आकारप्रकार र सम्पदा स्थलसँग सम्बन्धित सबैभन्दा पछिल्लो अभिलेखको मिति, सम्पदा संरक्षणको अवस्था र सम्पदा प्रवर्द्धनका लागि भइरहेको नीति तथा कार्यक्रम पनि उल्लेख गर्नुपर्छ । सम्पदा सूचीमा परेका सम्पदालाई प्रभाव पार्ने तत्त्व के हुन् रु त्यसबारे पनि उल्लेख गर्नुपर्छ । विकासका दबाब, अतिक्रमण, कृषि, खानी, परियोजना, दूषित वायु, मौसम परिवर्तन, भूकम्प, बाढी, आगलागी, आगन्तुक, पर्यटकको चाप, जनसंख्या वृद्धिलगायत जोखिम पक्ष पनि उल्लेख गर्नुपर्छ ।

यही प्रक्रियाअनुसार काठमाडौं उपत्यका र लुम्बिनी गरी दुई सांस्कृतिक सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् । काठमाडौं क्षेत्रअन्तर्गत वसन्तपुर, पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भू, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण छन् । २०३६ कात्तिकमा काहिरोमा बसेको विश्व सम्पदा समितिको बैठकले विश्व सम्पदाको मान्यता दिएको थियो । सौराहा र सगरमाथा गरी दुई वटा प्राकृतिक सम्पदा पनि विश्व सम्पदा सूचीमा छन् ।

संरक्षणविद् साफल्य अमात्यका अनुसार सामान्यतः दुई किसिमले सम्पदामा खतरा आउँछ । सम्पदा निर्माण सामग्रीमा ह्रास आएर, कलाकृतिमा ह्रास, वास्तुकला र नयाँ सहरी योजनासँगको तालमेल नमिले आउने ह्रासलगायत निश्चित खतरा हुन् । प्रभावकारी कानुन नभएर, भएका कानुनलाई पनि कमजोर बनाएर, अन्य विकास परियोजनाले खतरा पुर्‍याएमा, युद्धलगायतले पुर्‍याउने खतरा अनिश्चित खतरा हुन् ।

‘अहिले यी दुवै किसिमका खतरा छन् विश्व सम्पदामा,’ उनी भन्छन्, ‘यसलाई राज्यले यसलाई गम्भीर रूपमा लिएकै छैन ।’ पटकपटक खतराको सूचीमा राख्दा पनि यसमा सुधार गर्नतिर लागेन भने सम्पदा सूचीबाटै हटाइदिने व्यवस्था छ । नेपाललाई २००३ देखि २००७ सम्म खतराको सूचीमा राखिएको थियो । उपत्यकाका ७ क्षेत्रमध्ये ६ क्षेत्रको सम्पदाको मौलिकता मासिँदै गएको युनेस्कोले औंल्याएको थियो । त्यसबेला तोकिएको निर्देशनअनुसार संरक्षणका काम भएका थिए । त्यसपछि खतराको सूचीबाट हटाइएको थियो ।

विश्व सम्पदा क्षेत्रमा २०४६ सालदेखि पटकपटक खतरा उत्पन्न भएको संस्कृतिविद् साफल्य अमात्य बताउँछन् । प्राचीन स्मारक ऐनअनुसार बनेका मापदण्डलाई वास्ता नगरेर स्मारक क्षेत्रमा ठूला घर बन्न थाले । त्यसले गर्दा सम्पदाको भौतिक र कलात्मक वातावरणमाथि प्रतिकूल असर पर्न थाले । यसलाई सरकारले रोक्न सकेन । विश्व सम्पदा केन्द्र र विश्व सम्पदा समितिले वातावरण अनुकूल बनाउन सरकारलाई बेलाबेलामा घचघच्याउँदै आएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।