• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

वडाध्यक्षले बेचे १३ रोपनी वन



काभ्रे । धुलिखेलमा वन क्षेत्रको १३ रोपनी जग्गालाई व्यक्तिगत बनाएर बिक्री गरेको पाइएको छ । धुलिखेल–१० मा पर्ने साविक सारदाबतासे गाविसको सेतीमाटी सापकोटा पाखा वनको ११ रोपनी वन क्षेत्रको जग्गा तत्कालीन वडाध्यक्ष बलराम पराजुलीले आफ्नो बनाई बेचेका हुन् । खरिद गर्ने समूहले छुट दर्ता गरी थप २ रोपनी सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरेको छ ।

२०३२ सालमा आफ्नो नाममा नापी गराएको कित्ता नं १४ को ९ रोपनी ८ आना र १५ नं कित्ता वनको ११ रोपनी २ पैसा जग्गा गरी २० रोपनी ८ आना जग्गा पराजुलीले बैंकमा धितो राखेर कर्जा लिएका थिए । लिलाम हुने स्थिति भएपछि पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली, पुरानो झाँगाझोली–९ का बबिता खत्री, भोजपुर च्याग्रे–६ का झुमादेवी, साविक काभ्रे नित्यचण्डेश्वरी–२ का विदुरबहादुर बस्नेत र शारदाबतासे–३ का रवीन्द्र अधिकारीका नाममा सगोलमा पास गरिदिएका थिए ।

लालपुर्जामा २० रोपनी ८ आना १ पैसा २ दाम क्षेत्रफल भए पनि मालपोत कार्यालयमा छुट दर्ता निवेदन दिएर २ रोपनी सार्वजनिक जग्गा पनि उनले दर्ता गरिदिएका थिए । वडामा निवेदनसमेत नदिई विभागको स्वीकृतिबिनै छुट जग्गा दर्ता गराएर जग्गालाई २२ रोपनी कायम गरिएको हो ।
कित्ता नं १५ मा पर्ने वन क्षेत्रमा पाटारपाटा बनाई खेती गरेको भन्दै इन्द्रबहादुर भुजेललाई तत्कालीन बनेपा इलाका वन कार्यालयले २०४१ पुस ५ गते हाजिर हुन आउन पत्र काटेको थियो । तत्कालीन शारदाबतासे गाउँ पञ्चायत–३ हाल वडा नम्बर ५ बस्ने उनीविरुद्ध २०४२ साउन २ गते सोही कसुरमा अदालतमा मुद्दासमेत दर्ता भएको थियो । त्यस मुद्दामा तत्कालीन प्रधानपञ्च पदमध्वज थापा क्षत्रीसमेतले सर्जमिन गरी उक्त जमिन वन क्षेत्रभित्र पर्छ भनी मुचुल्का गरिदिएका थिए ।

नयाँ आवाद गरिएको वन क्षेत्र भएकाले तत्कालीन प्रधानपञ्च खत्रीसमेतको बकपत्र, उजुरी निवेदन, घटनास्थल सर्जिमिन मुचुल्का एकै प्रकारको देखिएकाले शारदाबतासे गाउँपञ्चायत– ३ (ख) को फिल्डबुकमा समेत जंगल जनाई नाप, नक्सा भएको जग्गा इन्द्रबहादुर भुजेलको हकदाबी नलाग्ने र निजका नाममा रहेको कित्ता नम्बर १६ को १६ रोपनी ३ आना जग्गा बाहेकमा हक नपुग्ने भनी २०४६ माघ २४ गते फैसला भएको थियो । कित्ता नम्बर १५ को क्षेत्रफल धनहर ०–१४–३–२ र भीरपाखो ९–१५–१ को सरकारी वन जंगल पर्ती जग्गा आवाद गरेबापत भुजेललाई प्रतिरोपनी ५० रुपैयाँका दरले ५४४ रुपैयाँ ७२ पैसा दण्ड जरिवाना पनि तोकिएको थियो । अहिले त्यही जग्गा व्यक्तिका नाममा दर्ता भएको हो ।

स्थानीय ७७ वर्षीय प्रेमबहादुर केसीले कित्ता नम्बर १५ को पुरै भाग वन जंगल भएको दाबी गर्दै आफूले जानेदेखि नै बस्तुभाउ चराउने सार्वजनिक पाखोका रूपमा प्रयोग भएको बताए । ‘१४ र १६ नम्बर कित्ताको बीचमा १५ नं कित्ताको वन क्षेत्र थियो, अहिले कसरी व्यक्तिको भयो कि भगवान् जान्दछन्, कि गर्नेले नै जान्नुपर्‍यो,’ उनले भने ।
स्थानीय रामकृष्ण विष्टले व्यक्तिका नाममा दर्ता भएकोमा आश्चर्य प्रकट गर्दै २०३२ सालमा सार्वजनिक रहेको जग्गा २०४५ सालमा छुट दर्तामार्फत आफ्नो बनाएको हुन सक्ने तर्क गरे । २०४४ असोज ३० गते पराजुलीले छुट दर्ता प्रक्रिया थालेका थिए । भूलवश छोरा कृष्णप्रसाद पराजुलीका नाममा दर्ता भएको भन्दै २०४४ सालमा आमा रेशकुमारीका नाममा दर्ता भएको जग्गा बलरामले २०५५ असोज ९ गते आफ्नो नाममा ल्याएर २०७५ भदौ १४ गते बिक्री गरेका थिए ।

धुलिखेल–१० का वडाध्यक्ष पुष्पराज राउतले जग्गाका विषयमा हालै ११९ जना स्थानीयले उजुरी दिएको जानकारी दिँदै त्यसबारे अध्ययन थालिएको बताए । उनले १४ नं कित्ताको २० रोपनी ८ आना १ पैसा २ दाम जग्गा बिक्रीका लागि आफूले रवीन्द्र्र अधिकारी र विदुरबहादुर बस्नेतलाई सिफारिस दिएको दाबी गरे । ‘व्यक्तिका नाममा रहेका जग्गा बिक्री गर्ने भनेपछि सिफारिस दिएको हुँ,’ राउतले भने, ‘त्यो देखाएर वन क्षेत्र अतिक्रमण गरियो । स्थानीय र हाम्रो चासो र चिन्ता पनि त्यही हो ।’

जग्गा खरिद गर्नेमध्येका एक अधिकारीले सम्पूर्ण प्रक्रिया पूरा गरेर व्यक्तिकै जग्गा किनेको दाबी गर्दै गलत भए कारबाही भोग्न तयार रहेको तर्क गरे । व्यक्तिका नाममा दर्ता वन क्षेत्रमा हालै प्लटिङ गरिएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।