३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बेड नम्बर ६३० : हात चलाउनै हुँदैन, के गरी खाने ?

बेड नम्बर ६३० : हात चलाउनै हुँदैन, के गरी खाने ?
अ+ अ-

काठमाडौँ । जेठ १२ गते सुकेधारा विस्फोटमा परी घाइते भएका छोटु ठाकुर संघर्षको लामो बाटो हिँडेर सैलुन मालिक भएका थिए । यतिबेला उनीसँग आफ्नो भन्ने केही छैन । ट्रमा सेन्टरको छैटौं तलामा छटपटाएको दुई महिनाभन्दा बढी भइसक्यो । अस्पतालले डिस्चार्ज गरे पनि घर फर्किएका छैनन् । भन्छन्, ‘सबथोक सकियो, अब कहाँ जाऊँ ?’

ट्रमा सेन्टरको छैटौं तला । अप्रेसन गरेका बिरामी अधैर्यपूर्वक घर फर्किने दिन कुरेर बसिरहेका छन् । अस्पतालको दक्षिणपट्टि भित्तामा टाँसिएको पोस्टरमा लेखिएको छ, ‘गेट वेल सुन ।’

बिस्तारै निको हुँदै गइरहेका बिरामीको अनुहारमा खुसी फक्रिन थालेको देखिन्छ । बेड नम्बर ६३० का छोटु ठाकुरको मुहारमा भने निराशाको बाक्लो बादल मडारिइरहेजस्तो देखिन्छ । स्वास्थ्यमा उल्लेख्य सुधार आइसक्दा पनि उनी खुसी हुन सकिरहेका छैनन् । महोत्तरी गौशालाका ५६ वर्षीय उनलाई डाक्टरले डिस्चार्ज गरेको ५ दिन भइसक्यो तर घर फर्किएका छैनन् । फर्केर कहाँ जाने, कुनै टुंगो छैन ।

सबैजसो बेडमा सुतिरहेका बिरामीको छेउमा आफन्त वा परिवारका सदस्य झुम्मिएका छन् । उनीहरू सुस्त–सुस्त स्वरमा सुखदुःख साटिरहेका देखिन्छन् । छोटुको बेडछेउमा अनौठो शून्यता छ । उनका कुरुवा छैनन् । काठमाडौंमा बसेर ११ कक्षा पढ्दै गरेकी छोरी दिन बिराएर आउँछिन्, एकाध घण्टा कुर्छिन् र फर्किन्छिन् । महोत्तरीबाट आएका छोरा केही दिन कुरेर फर्किए । श्रीमती पनि केही दिन कुरेर घर सम्हाल्न फर्किइन् । केही दिन अघिसम्म उनको बेडछेउमा चौबिसै घण्टा केही प्रहरी घुमिरहेका हुन्थे । तिनले कुर्न छाडेको पनि एक साताभन्दा बढी भइसकेको छ ।

छोटु प्रहरीको निगरानीमा किन परे ? उनी किन दुई महिनायता अस्पतालको बेडमा पल्टिरहेका छन् ? यो कथा जान्न जेठ १२ गतेको घटनातर्फ फर्किनुपर्छ ।

उक्त दिन अपराह्न काठमाडौंका अनामनगर र सुकेधारामा झन्डै दस मिनेटको अन्तरमा विस्फोट भयो । नेत्रविक्रम चन्द समूहले १३ गते घोषणा गरेको बन्दको अघिल्लो साँझ शक्तिशाली विस्फोट भएको हो । अनामनगरस्थित लोकमञ्जरी कार्कीको घर र सुकेधारास्थित सैलुनमा भएको विस्फोटमा परी पाँच जनाको मृत्यु भयो । घाइते भएका ३ जना अहिले पनि उपचार गराइरहेका छन् । तिनैमध्येका एक हुन्, विस्फोट भएको सैलुनका मालिक छोटु । पाँच दिन आईसीयूमा उपचारपछि उनी होसमा फर्केका थिए । त्यसयता दुई महिनाभन्दा लामो समय ट्रमा सेन्टरको बेडमा पल्टिरहेका छन् ।

सुकेधारा विस्फोटमा दुई जनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारक्रममा मृत्यु भएको थियो । मृतकहरू दिपिन विक, गोकुल रानामगर, निरन्तर मल्ल र रामकुमार श्रेष्ठ तथा घाइतेहरू हरि खडका र सुरेन्द्र महर्जन चन्द समूहका नेता–कार्यकर्ता भएको प्रहरीले पुष्टि गरिसकेको छ । घटनालगत्तै प्रहरीले छोटु पनि चन्द समूहमा आबद्ध रहेको हुन सक्ने आशंकमा निरन्तर निगरानीमा राखेको थियो । दुई महिना बितिसक्दा पनि प्रहरीले उनको संलग्नता पुष्टि गर्न सकेको छैन ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फणीन्द्र प्रसाईंले अरूमाथि मुद्दा अगाडि बढाइए पनि छोटुलाई प्रतिवादी नबनाइएको बताए । प्रहरी स्रोतका अनुसार घटनालगत्तै प्रहरीले उनको मोबाइलको कल डिटेल र सम्पर्कमा रहेका मानिसमाथि निगरानी गरेको थियो तर न उनको राजनीतिक संलग्नता पुष्टि भयो न घटनामा कुनै भूमिकै देखियो । एक उच्च प्रहरी अधिकारीले छोटु घटनामा उपयोग भएको बताउँदै भने, ‘अनुसन्धान निरन्तर चल्ने प्रक्रिया रहेकाले हामी औपचारिक रूपमा बोल्न सक्दैनौं ।’

छोटु संघर्ष, हैरानी र दुःखको लामो बाटो हिँडेर सैलुनको मालिक भएका थिए । यतिबेला उनीसँग आफनो भन्ने केही छैन । कपाल काट्ने पुस्तैनी पेसा अँगालेका उनले१५ वर्ष लामो काठमाडौं बसाइक्रममा निकै संघर्ष गरे ।

अरूको सैलुनमा कपाल काटे, सानातिना फुटकर काम गरे । कमाइ हुने आशामा दस वर्षअघि कतार पनि पुगे तर बिरामी भएकाले डेढ वर्षमै फर्किन बाध्य भए । दुई वर्षअघि साथीभाइसँग ऋण गरेर र वर्षौंको कमाइ जोगाएर सुकेधारामा सैलुन खोले । छोटुले सुस्तरी दायाँ पल्टेर मसिनो स्वरमा सुनाए, ‘ऋणधन गरेर दस लाख लगानी गरेको थिएँ ।’ उनले सटरको अग्रभागमा सैलुन बनाएका थिए भने बीचमा प्लाइले बारेर पछाडिपट्टि खाट राखेर सुत्ने व्यवस्था मिलाएका थिए । उनका अनुसार आफ्नै लगानीको भए पनि सैलुन सोचेजस्तो चलेको थिएन । कहिलेकाहीँ मासिक दस हजार भाडा तिर्नै पनि गाह्रो हुन्थ्यो ।

सुखदुःखको बाटो हिँडिरहेका उनको जिन्दगीको लय पोहोर साल अचानक बिथोलियो । उनलाई हर्ट अट्याक भयो । ‘एक महिना मनमोहन अस्पतालमा उपचार गराएँ, दुई महिना पूरै आराम गरें,’ उनले भने । काम गरेर खाने मान्छे, तीन महिना बिरामी भएपछि उनको हिसाबकिताबको सन्तुलन बिग्रियो । त्यही भएर पछिल्लो तीन महिनाको कोठा भाडासमेत तिर्न सकेका थिएनन् ।

विस्फोटपछिको समय उनी सम्झिन चाहँदैनन् । महिनौं उपचार, आर्थिक संकट र औषधिसँगको झर्कोलाग्दो संगत, अस्पतालको उच्चाटलाग्दो बसाइले उनी मानसिक रूपमै थाकेजस्ता देखिन्छन् । बिहीबार दिउँसो अस्पताल पुग्दा उनी बायाँ फर्केर पल्टिरहेका थिए । केही बोल्ने मुडमा थिएनन् । धेरैबेरपछि सुस्तरी फुसफुसाए तर उनको स्वरमा हैरानी र झर्को मिसिएको थियो । छेवैको बेडमा उपचाररत बुबालाई कुरिरहेका धादिङका सन्तोष तामाङले छोटुले बुधबारदेखि केही नखाएको सुनाए । उनैले छोटुको कुरुवा कोही नभएको र छोरी बेला–बेला आएर केही घण्टा बसी फर्किने गरेको सुनाए । ‘बोल्न खोज्नुहुन्न, केही पनि खानुभएको छैन,’ सन्तोषले भने, ‘हामीले दिँदा पनि खानै मान्नुहुन्न ।’

धेरैबेर पर्खेपछि छोटु बिस्तारै बोले तर घटनाको दिन सम्झिन चाहेनन् । उनले विस्फोटपछि पसलका सामान कहाँ छन्, कसले लगेर राखिदिएको छ, केही थाहा नभएको बताए । त्यही बेला आफनो चस्मा फुटेकाले राम्ररी देख्न पनि सकस भइरहेको उनले सुनाए । ‘नागरिकता, पासपोर्ट र मोबाइल प्रहरीले राखिदिएको रहेछ,’ उनले भने ।

घटनाको केही दिनपछि उनलाई कुर्न छोरा आएका थिए । आफ्नै लालाबाला हुर्काउने जिम्मेवारी रहेका उनी केही साता बसेर महोत्तरी गइसके । श्रीमती पनि केही दिन कुरेर फर्किइन् । छोटुले आफूलाई उपचारका निम्ति पैसाको खाँचो रहेको मात्रै सुनाएनन्, पैसाकै अभावमा एक सातायता औषधि किनेर खान नसकेको बताए । ‘के के भयो भनूँ ? सबै उल्टापुल्टा भयो । अरूलाई सुनाएर पनि के फाइदा ?’

गरिखाने मान्छे अनाहक हिंसाको भुंग्रोमा पर्दा जीवनको लय कसरी खलबलिँदो रहेछ भन्ने उदाहरण हुन् छोटु । हाडजोर्नी विभागका डाक्टर सुरेश ढकालले छोटुको खुट्टाको घाउ निको भइसकेको तर हातको नसामा असर देखिएकाले थप उपचार गर्नुपर्ने बताए । उनले भने, ‘हातको नसामा समस्या देखिएको छ । त्यसका निम्ति दुई महिनाभित्रै अप्रेसन गर्नुपर्ने हुन्छ ।’ डा.सुरेशका अनुसार उनलाई हाडजोर्नी विभागले डिस्चार्ज गरेको पाँच दिन भइसक्यो । ‘बिरामी बुझने मान्छे नभएर हो कि पारिवारिक समस्या भएर हो, उनले अस्पताल छाडेका छैनन् ।’

विस्फोटमा परी छोटुको खुट्टाको गोलीगाँठोनेर गहिरो चोट लागेको थियो । कैंची चलाइरहने दाहिने हातमा पनि ठूलो चोट लागेको थियो । डा.सुरेशका अनुसार उनको हातको हडडी फुटेकाले क्लिप लगाएर अप्रेसन गरिएको छ । पिँडौलाको छाला निकालेर घाउ पुरिएको छ । छोटुले आफू अझै पनि राम्ररी उभिएर हिँड्न सक्ने अवस्थामा नरहेको सुनाए । भने, ‘के सन्चो भयो भन्नु, उभिन राम्ररी सक्दिनँ । हातले राम्ररी कट्टुको इँजार बाँध्न पनि सक्दिनँ ।’

विस्फोटमा नपरेको भए यतिबेला छोटु कैंचीको मसिनो संगीतसँगै अरूका कपालमा हात घुमाइरहेका हुन्थे । दारी मुसारिरहेका हुन्थे अनि बोतलको पानी छिसछिस पार्दै सेवाग्राहीको कपाल भिजाइरहेका हुन्थे ।

दुई महिनायता उनी अस्पतालमा आफनै आँसुले भिजिरहेका छन् । उनले बिस्तारै दाहिने हात उचाल्दै सुनाए, ‘यो हात पनि काम नलाग्ने भयो । केही गर्न सक्दैन यसले ।’ आठ धुरको जमिनमा घर ठड्याएका र लामो संघर्षपछि बल्ल आफनै इलममा उभिन सक्ने भएका छोटु यतिबेला अनौठो मनस्थितिमा छन् । ‘डिस्चार्ज भएर पनि कहाँ जाने ? थप उपचार कसरी गर्ने ? पुरानो ऋण कसरी तिर्ने ?’ उनले भने, ‘हात चलाउनै हुँदैन, के गरी खाने ?’ उनीसँग कैयौं प्रश्न छन् तर उत्तर कहीँ, कतैबाट पाउन सकेका छैनन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।