३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

निवृत्तपछि पनि सुरक्षाकर्मी दुरुपयोग

निवृत्तपछि पनि सुरक्षाकर्मी दुरुपयोग
अ+ अ-

काठमाडौं । नेपाल प्रहरीबाट सेवा निवृत्त अधिकांश उच्च अधिकारी सरकारी पेन्सन खाएर निजी कम्पनीमा काम गर्दै आएका छन्। उनीहरूले सरकारी तलबभत्ता खाएका बहालवाला सुरक्षाकर्मीलाई पनि आफूसँगै लगेर दुरुपयोग गरेको पाइएको छ।

सुरक्षा निकाय र अन्य सरोकारवाला पक्षसँग सहज पहुँच भई काम लिन सजिलो हुने भएकाले निजी कम्पनीले सेवा निवृत्त प्रभावशाली उच्च अधिकारीलाई लिँदै आएका छन्। उनीहरूले काम गरेका निजी कम्पनीमा जलविद्युत्, उड्डयन, अस्पताल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, धार्मिक संघसंस्था, खेलकुद संघसंस्था छन्।

पदमा रहँदा गृह मन्त्रालय र प्रहरी नेतृत्वसँग निकट सम्बन्ध भएका त्यस्ता उच्च अधिकृत अहिले कर्पोरेट जागिरे भएका हुन्। यसैगरी प्रहरी संगठनबाट तलब खाने तल्लो दर्जाका सुरक्षाकर्मीलाई निवृत्त अधिकृतले निजी काममा प्रयोग गरिरहेको तथ्य फेला परेको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको तर गोप्य राखेको ‘आन्तरिक निर्देशिका’ लाई टेकेर पूर्व प्रहरी अधिकृतले सुरक्षाकर्मीलाई धमाधम व्यक्तिगत काममा प्रयोग गरेका हुन्।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रमेशशेखर बज्राचार्य हिमाल हाइड्रोपावरमा काम गर्छन्। बज्राचार्यले एक जना सुरक्षाकर्मी सवारीचालकका रूपमा प्रयोग गरेका छन्। बज्राचार्य भन्छन्, ‘३० वर्ष संगठनमा काम गरियो, धेरै चुनौती मोलियो अहिले एक जना प्रयोग गर्नु नौलो विषय होइन।’

तत्कालीन समयमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग निकट रहेका बज्राचार्य एआईजी हुँदा मानव स्रोतसाधन विभाग प्रमुख थिए। बज्राचार्य मात्रै होइन, अन्य पूर्व प्रहरी उच्च अधिकृतले सुरक्षाकर्मीलाई निजी काममा प्रयोग गरिरहेका छन्।

पूर्व एआईजी राजेन्द्रबहादुर सिंह थापाथलीस्थित नर्भिक हस्पिटलमा काम गर्छन्। उनले पनि निर्देशिकामै टेकेर एकजना सुरक्षाकर्मी चालकका रूपमा प्रयोग गरेका छन्। सिंह भन्छन्, ‘त्यसो हो भने कुनै सुविधा नै नदिए भइहाल्यो नि रु म कार्यालय जाँदा सुरक्षाकर्मी प्रयोग गर्दिनँ। निजी कामका लागि मात्रै चालक प्रयोग गर्छु।’

अर्का पूर्व एआईजी विज्ञानराज शर्मा अहिले माउन्टेन हेलिकोप्टरको अध्यक्ष छन्। डीआईजी हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुख र एआईजी हुँदा उपत्यका प्रहरी प्रमुख रहेका शर्माले दुई जना सुरक्षाकर्मी प्रयोग गरेका छन्। ‘मैले नियमअनुसार नै सुरक्षाकर्मी लिएको हुँ, धेरैले लिएका छन्, लिँदै नलिने कमै होलान्’, शर्माले भने, ‘यसलाई दुरुपयोग गर्‍यो भन्न मिल्दैन।’

पूर्व एआईजी विजयलाल कायस्थ प्रदेश नं. २ को सुरक्षा सल्लाहकार हुन्। उनको घरमा पनि दुई जना सुरक्षाकर्मी कार्यरत छन्। उनी आफ्नो घरमा सुरक्षाकर्मी रहेको स्वीकार्छन्। तर, प्रहरी मुख्यालयको रेकर्डमा भने कायस्थको घरबाट दुईजना सुरक्षाकर्मी रहेको देखिँदैन। कायस्थ भन्छन्, ‘कसलाई कति सुरक्षाकर्मी दिने भनेर आन्तरिक निर्देशिका बनेको छ। त्यही निर्देशिकाअनुसार मैले पनि राखेको हुँ। यसमा अन्यथा लिनुपर्ने देख्दिनँ।’

उनी सुरक्षाकर्मी राख्न नहुने पक्षमा छन्। ‘तर प्रहरी संगठनको मात्रै किन रु कि त सबै सुरक्षा निकायको पूर्व र बहालवालाको घरमा राख्नु भएन।’ उनी पदमा हुँदा त्रिभुवन विमानस्थल र अपराध महाशाखामा थिए। कायस्थले प्रश्न गरे, ‘कतिपय अवस्थामा सुरक्षा चुनौतीका कारण पनि सुरक्षाकर्मी दिनु अस्वाभाविक होइन।’

पूर्व एआइजी दिनेशचन्द्र पोख्रेल भरोसा हस्पिटलका सञ्चालक हुन्। प्रहरी अस्पताल प्रमुख र निमित्त महानिरीक्षक रहिसकेका उनले दुई जना सुरक्षाकर्मी राखेका छन्। एउटा चालक र अर्का घरका सहयोगी। पोख्रेल भन्छन्, ‘अरूले जे सुविधा पाएका छन्, मैले त्यही लिएको हुँ। एउटाले गाडी हाँक्छ र अर्को घरको काममा छ।’ पोख्रेलले सरकारी पेन्सन पनि लिन्छन् र निजी काममा सरकारी सुरक्षाकर्मीको उपयोग गरेका छन्।

पूर्व एआइजी विजयकुमार भट्टले पनि दुई जना सुरक्षाकर्मी राखेका छन्। उनले आफू कुनै कम्पनीमा काम नगरे पनि सहयोगीका रूपमा सुविधाबापत दुई जना सुरक्षाकर्मी राखेको बताए।

अर्का पूर्व एआईजी वीरेन्द्रबाबु श्रेष्ठले पनि चालक र सहयोगी गरी दुई जना सुरक्षाकर्मी राखेका छन्। पदमा रहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अख्तियार र महानगरीय प्रहरी अपराध महाशाखामा बसेका उनी अवकाशपछि घरजग्गा कारोबार गर्दै आएका छन्।

अर्का पूर्व एआईजी जयबहादुर चन्दले एक जना सुरक्षाकर्मी सहयोगीका रूपमा राखेका छन्। सुरुमा उनले दुई जना राखेका थिए। प्रहरी मुख्यालयले एक जना झिकिसकेको छ। चन्दले पनि निर्देशिकाअनुसार नै सुरक्षाकर्मी राखेको बताए। उनले भने, ‘मेरा घरमा मात्रै होइन पूर्व डीआईजीदेखि आईजीसम्मको अभिलेख हेर्नुभयो भने सबैका घरमा छन्।’ उनले चुनौती मोलेर ३० वर्ष संगठनमा काम गर्दा एक जना सहयोगी पाउनुलाई अन्यथा लिन नहुने बताए।

अर्का पूर्व एआईजी हेमन्तबहादुर पालको घरमा एक जना सुरक्षाकर्मी सहयोगीका रूपमा छन्। पूर्व र बहालवाला प्रहरी अधिकृतलाई आवश्यक पर्ने सुरक्षाकर्मी वा सहयोगी प्रहरी मुख्यालयको सुरक्षा महाशाखाले पठाउने गरेको छ। तर, महाशाखाकै जानकारीबेगर सुरक्षाकर्मी पूर्व र बहालवालाको घरमा अझै काम गरिरहेका छन्। नाम उल्लेख नगर्ने सर्तमा मुख्यालयका एक उच्च अधिकृतले भने, ‘पूर्व डीआईजीदेखि आईजीपीसम्म अधिकांशका घरमा एकदेखि दुईजना सुरक्षाकर्मी राखिएको छ। खटाइएका सुरक्षाकर्मीले निजी काममा समय खर्चिंदा आफू पुलिस हुँ भन्ने नै बिर्सिसकेका होलान्।’

प्रहरी मुख्यालयले पूर्व उच्च प्रहरी अधिकृतका घरबाट सुरक्षाकर्मी फिर्ता नल्याएको होइन। प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएपछि उनले पूर्व र बहालवाला अधिकृतको घरमा काम गर्ने एक सय ६३ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएर नियमित काममा फर्काएका छन्। मुख्यालयले भीभीआईपी र घरको सुरक्षा गर्न खटिएका एक सय १७ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाई नियमित काममा लगाएको छ।

उच्च स्रोतका अनुसार पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकालको घरबाट दुई जना, पूर्व एआईजी विजयलाल कायस्थको घरबाट दुई जना, पूर्व एआईजी मिङ्मार लामाको घरबाट एक जना, पूर्व एआईजी माधव नेपालको घरबाट एक जना, पूर्व एआईजी नारायण बास्ताकोटीको घरबाट एक जना, पूर्व एआईजी जयबहादुर चन्दको घरबाट एक जनालाई फिर्ता बोलाइएको छ।

त्यसैगरी पूर्व एसएसपी बलराम शर्मा पौडेलको घरबाट एक जना, पूर्व एसएसपी उत्तमबहादुर सिंहको घरबाट एक जना र पूर्व एसएसपी सुभाष चौधरीको घरबाट एक जना सुरक्षाकर्मी फिर्ता बोलाइएको मुख्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले पूर्व प्रहरी अधिकृतले सहयोगी राखे–नराखेको विषयमा केही बताउन चाहेनन्। मुख्यालयका एक उच्च अधिकृतले भने, ‘अधिकांश पूर्व उच्च अधिकृत (डीआईजीदेखि एआईजी) को घरमा सहयोगी राखिएका छन्। कतिले भान्सामै काम लगाउँछन् त कतिले सुरक्षागार्डका रूपमा।’

पूर्व आईजीपी रमेश चन्द ठकुरीको कार्यकालअघि नै प्रहरी मुख्यालयले आन्तरिक निर्देशिका बनाएर पूर्व उच्च अधिकृतका घरमा सुरक्षाकर्मी राख्न पाउने व्यवस्था गरेको थियो। निर्देशिका अहिलेसम्म संशोधन भएको छैन। पूर्व प्रहरी उच्च अधिकृतले यसरी बहालवाला सुरक्षाकर्मी प्रयोग गर्नुलाई पूर्व गृहसचिवले राष्ट्रिय स्रोत र मानव स्रोतको चरम दुरुपयोग भनेका छन्।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष एवं पूर्व गृहसचिव खेमराज रेग्मीले राष्ट्रको सेवा गर्ने शपथ खाएका सुरक्षाकर्मीलाई निजी काममा लगाउनु सरकारी स्रोतको चरम दुरुपयोग भएको बताए। उनले भने, ‘यो गलत परम्परा हो। यसलाई भ्रष्टाचारसँग जोड्न सकिन्छ। सहयोगीका नाममा सुविधा लिएर सुरक्षाकर्मीलाई भान्सादेखि चालकसम्म बनाउनु कर्मचारी दुरुपयोग हो।’

सरकारले हिम्मत गरेर त्यस्ता दुरुपयोग भएका सुरक्षाकर्मीलाई नियमित काममा लगाउनुपर्ने सुझाव रेग्मीको छ। उनले भने, ‘अहिले प्रहरी प्रमुखले पनि त्यो सक्दैनन्। किनकि उनलाई पनि अवकाशपछि त्यो सुविधा चाहिन्छ।’

अर्का पूर्व गृहसचिव श्रीकान्त रेग्मीले पूर्व प्रहरी उच्च अधिकृतका घरमा बहालवाला सुरक्षाकर्मीको प्रयोग नियमविपरीत रहेको बताउँछन्। ‘सरकारी तलब खाएर पूर्व उच्च अधिकृतको काममा खटिन मिल्दैन,‘ रेग्मीले अन्नपूर्णसँग भने, ‘तर भोलि म पनि अवकाश भएपछि त्यो सुविधा लिनुपर्छ भनेर प्रहरी नेतृत्वले छुच्चो बन्न नखोजेको वा विरोध नगरेको हुन सक्छ।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।