२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिक्षुलाई भिसामा कडाइ



अ+ अ-

लुम्बिनी । यहाँ रहेका थाइल्यान्डका भिक्षु आम्पुल भिसा सकिनुभन्दा एक दिनअघि मंगलबार स्वदेश फर्किए । ६ वर्षदेखि यहाँ बस्दै आएका उनी भिसा अवधि थप्न नसकेपछि फर्किएका हुन् । यसले आफू दुःखी भएको उनले बताए ।

लुम्बिनी बसेर उनले बुद्धको पञ्चशील पालना र आध्यात्मिकता फैलाउँदै आएका थिए । यहाँ बसेर सेवा र शान्तिको प्रचार गर्ने चाहना पूरा नहुँदा खल्लो लागेको उनको भनाइ छ ।

उनी जस्तै फ्रान्सकी भिक्षुणी (माता) थिक म्युटी थुन आफ्ना पाँच जना प्राविधिक कर्मचारीको भिसा अवधि लम्ब्याउन दौडधूपमा छिन् । उनीहरूको भिसा म्याद सकिन एक साता मात्र रहेकाले तनावमा परेको उनले बताइन् । अहिले दिनहुँ लुम्बिनी विकास कोष पुग्छिन् । कोषले भिसा थप्न सिफारिस गरेको छ । गृह मन्त्रालयले अवधि थप गर्नेमा उनलाई शंका छ । ‘मन्त्रालयले एक महिनायता कसैको पनि भिसा म्याद थप्न सिफारिस गरेको छैन,’ उनले भनिन्, ‘तर प्रक्रिया पूरा गरेर छिट्टैपाउने आसमा काठमाडौं जाँदै छु ।’

थाइल्यान्डबाट दुई वर्षअघि भिक्षु मोन्त्री चिन्ताङ र भिक्षु म्याक्स लुम्बिनी आए । मोन्त्री पोख्त सिकर्मी र डकर्मी हुन् । म्याक्स लजिस्टिक प्राविधिक हुन् । आगामी सेप्टेम्बरमा दुवैको भिसा सकिँदै छ । ‘भिसा सकिन दुई महिना पनि छैन,’ मोन्त्रीले भने, ‘काम गर्न मनै लाग्दैन ।’ वर्षौं पर्खेर लुम्बिनी आएर बल्लतल्ल सेवा गर्ने अवसर पाएको उनले बताए । ‘लुम्बिनीमा काम गर्दागर्दै आमाको निधन भयो,’ उनले भने, ‘त्यसले दुःखी छु । यो एउटा प्रक्रिया हो । सबैले बेहोर्नुपर्छ । तर बुद्ध भगवानो सेवा गरेर पुण्य आर्जन गर्ने सपना तुहिन लागेकामा बढी दुःखी छु ।’

मोन्त्रीले लुम्बिनीस्थित थाई विहारमा सिकर्मी र डकर्मीको काम गरेर चिरिच्याट्ट बनाएका छन् । म्याक्सले पनि विहारको राम्रो व्यवस्थापन गरेर लुम्बिनीकै उत्कृष्ट बनाएका छन् । उनीहरू दुवै भिक्षु अनुशासन पालना गर्छन् ।

लामो समयदेखि यहाँस्थित विभिन्न विहारमा बसिरहेका विदेशी भिक्षु–भिक्षुणी र कर्मचारी भिसाको म्याद नथपिँदा पीडित बनेका छन् । कसरी म्याद थप गर्ने भन्ने प्रक्रिया प्रस्ट नहुँदा उनीहरू अन्योलमा छन् । आफ्नो मुलुकबाट उनीहरू बुद्ध शिक्षाको महिमा प्रचार गर्न र आध्यात्मिक महत्त्व फैलाउन यहाँ आएका थिए । विहार, मन्दिर र गुम्बामा बसेर बुद्धको पञ्चशील र असल कुराबारे सचेतना फैलाउने काम गरिरहेका थिए । विहार निर्माण, मर्मत र सञ्चालन गर्नप्राविधिक कर्मचारी आउने गरेका हुन् ।

विदेशी भिक्षु–भिक्षुणी र कामदारलाई गृह मन्त्रालयले भिसा अवधि थप्न कडाइ गरेको कोषको भनाइ छ । एक महिनायता कसैको भिसा अवधि थपेको छैन । सहमति प्राप्त गर्नेले पनि कात्तिक १० गतेसम्मको मात्र पाएका छन् । मागअनुसार म्याद नथपिँदा कतिपय भिक्षु फर्किसके । कतिपय फर्किने तयारीमा छन् ।

कतिपयको सिफारिस पर्यटन र गृह मन्त्रालयमा थन्किएको छ । एक वर्षअघिसम्म कोषले सिफारिस गरेपछि वर्ष दिनका लागि भिसा थप हुन्थ्यो । गत असोजयता ५र६ महिनाका लागि सुविधा दिन थालियो । त्यसपछि २र३ महिनाका लागि मात्र थप गरियो । त्यतिका लागि पटकपटक काठमाडौं जानुपर्ने बाध्यता छ । त्यसले खर्च र झमेला बढेको उनीहरूको भनाइ छ । त्यसैले कम्तीमा एक वर्षको भिसा उपलब्धगराउनुपर्ने स्थानीय भन्ते सुमंगलोले बताए ।

निःशुल्क भिसाले अन्योल
लुम्बिनी भर्खर विकासमा बामे सर्दै थियो । शान्ति र अध्यात्मको केन्द्र बनाउन विश्वकै ध्यान तान्ने नीति सरकारले बनायो । सन् १९९१ तिर विभिन्न मुलुक र त्यहाँका संघसंस्थालाई यहाँ विहार र गुम्बा बनाउन आहान गरियो । त्यसका लागि सरकारले विभिन्न सहुलियतको व्यवस्था गर्‍यो ।

त्यसअन्तर्गत भिक्षु–भिक्षुणी र प्राविधिक कर्मचारीलाई ग्रेटिस भिसा (एकवर्षे निःशुल्क भिसा)उपलब्ध गराउन थालियो । महास्थवीरले सन् १९९३ देखि निःशुल्क भिसा दिन थालिएको भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीले बताए । लुम्बिनीमा विदेशी मुलुकको प्रतिनिधित्व नहुन्जेलसम्म सहुलियत दिने बताइए पनि अहिले रोकिएको उनको भनाइ छ । ‘अहिले आएर त्यसो गर्न हुन्न,’ उनले भने, ‘अहिले पनि लुम्बिनीमा धेरै काम बाँकी छ । यसले नकारात्मक सन्देश जान्छ ।’

यहाँ विभिन्न मुलुकका बौद्ध विहार निर्माण भएकाले पर्यटकलाई सहज भएको उनले बताए । ती विहारमा भिक्षु–भिक्षुणी र कर्मचारी नबसे तिनको रेखदेख र संरक्षणमा समस्या हुने उनको भनाइ छ । कोषले विनियम बनाएर एउटा विदेशी विहार निर्माणका क्रममा १० जना भिक्षु–भिक्षुणी र आवश्यकताअनुसार प्राविधिक कर्मचारी बस्न पाउने व्यवस्था गरेको थियो । त्यसअनुसार चीन, थाइल्यान्ड, म्यानमार र श्रीलंका सरकारका विहार यहाँ छन् । त्यस्तै अमेरिका, जर्मनी, सिंगापुर, फ्रान्स, कम्बोडिया र भियतनामलगायत १४ देशका बौद्ध संघसंस्थाका विहार छन् । तिनमा करिब१ सय ८० भिक्षु र प्राविधिक कर्मचारी छन् ।

समस्याको सुरुवात
यहाँस्थित कोषले नै भिसा उपलब्ध र म्याद थप्ने सिफारिस गर्दै आएको छ । यहाँबाट कोषले पर्यटन मन्त्रालयलाई व्यक्तिबारे सिफारिस गर्छ । पर्यटनले गृह मन्त्रालयलाई कार्य सहमतिका लागि सिफारिस पठाउँछ । गृहले व्यक्तिका बारेमा स्थानीय स्तरबाट जानकारी लिएर कार्यसम्पादन सहमति दिन्छ ।

गृहले पर्यटन मन्त्रालयलाई पत्राचार गर्छ । पर्यटनले परराष्ट्रलाई लेखेपछि कन्सुलर शाखाले भिसा प्रदान गर्छ । गृहले जति अवधिका लागि कार्य सहमति दिन्छ, त्यतिका लागि परराष्ट्र मन्त्रालयले भिसा उपलब्ध गराउँछ । गृह मन्त्रालयको सीमा अध्यागमन शाखाले भिसा नवीकरण कार्यसम्पादन सिफारिस रोकेको कोषका योजना प्रमुख तथा निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए ।

लुम्बिनी विकास कोष ऐनको दफा १६ बमोजिम विनियम बनाएर भिसा नवीकरणका लागि सिफारिस गर्दै आएको थियो । अर्थ वा परराष्ट्र मन्त्रालयको नियम विनियममा यहाँका भिक्षुलाई एकवर्षे निःशुल्क भिसा दिने कुरा उल्लेख हुनुपर्ने भन्दै गृहले कार्यसम्पादन सिफारिस रोकेको योजना प्रबन्धक भट्टराईले बताए । ‘अहिलेसम्म हाम्रै सिफारिसमा मन्त्रालयबाट पत्राचार गरेपछि भिसा नवीकरण हुन्थ्यो,’ उनले भने । कोषको विनियममा भिसा सिफारिस गर्ने कुरा उल्लेख भए पनि निःशुल्क भन्ने छैन ।

कोषले अहिले विनियमावलीमा संशोधन गरेर निःशुल्क भिसा उपलब्ध गराउने उल्लेख गरेर पर्यटन मन्त्रालयमा बुझाएको उनको भनाइ छ । राम्रो काम गरेर लुम्बिनीको पवित्रता बढाइरहेका भिक्षुलाई भिसामा समस्या गर्न नहुने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजिरले बताए । ‘गलत र अनुशासनमा नबस्नेलाई थप्नु हुँदैन,’ उनले भने, ‘तर एकरदुई जनाकोगल्ती, कमजोरीलाई मानक बनाउनुहुँदैन ।’

भिक्षुका कमजोरी
बसोबासका लागि भिसा सुविधा लिएका भिक्षुको पनि कमजोरी पाइएको छ । केही भिक्षुले लुम्बिनीमा बसोबासका लागि भिसा सुविधा लिएर अन्यत्रै बस्ने गरेको गुनासो यहाँ छ । म्यानमार र भियतनामका भिक्षु–भिक्षुणी अहिले काठमाडौं बस्छन् । उनीहरू मुस्किलले वर्षमा २०र२५ दिन लुम्बिनी आएर बस्ने गरेको भियतनाम विहार प्रमुख डा। लामको भनाइ छ ।

कहिलेकाहीँ लुम्बिनीमा आचरणविपरीत काम गर्ने भिक्षु पनि आउँछन् । उनीहरूलाई कारबाही गरेर स्वदेश फिर्ता पठाउनु परिरहेको कोषले जानकारी दिएको छ । ‘केही कमी कमजोरी भए भिक्षु–भिक्षुणीलाई नियमन गर्न सकिन्छ,’ कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भने, ‘तर भिसा नथपेर दुःख दिनुहुँदैन ।’ यसले विदेशमा लुम्बिनीप्रति राम्रो सन्देश नजाने उनले बताए । यो समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको पनि उनले सुनाएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ  ।