१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि बाँकेका किसान चिन्तित News Polar पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै News Polar कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक बस्दै News Polar ‘काठमाडौँ क्लाइमेट विक २०२६’ सम्पन्न, जलवायु न्यायका लागि १६ बुँदे ‘काठमाडौं आह्वान’ जारी News Polar नेपाललाई काठमा आत्मनिर्भर बनाउने कार्ययोजना बनाउन मन्त्री चौधरीको निर्देशन News Polar स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य News Polar बाग्लुङमा माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार News Polar यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ? News Polar विपद्का बेला न्यायपालिका सञ्चालनका लागि बलियो डिजिटल पूर्वाधार आवश्यक : प्रधानन्यायाधीश शर्मा News Polar अर्यालको टिप्पणी : ‘संवैधानिक लोकतन्त्र र राजनीतिक संस्कृतिको जगेर्ना होस्’ News Polar अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार News Polar मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ News Polar बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित News Polar विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै News Polar हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे News Polar निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना News Polar चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल News Polar देवस्थलको संरक्षणसँगै व्यवस्थित बनाइँदै News Polar म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन News Polar सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना
अ अ+ अ-

बागलुङ। लगातारको वर्षापछि निसीखोलामा आएको बाढीले धार परिवर्तन गर्दा बागलुङको निसीखोला गाउँपालिका–४ स्थित झिवाखोला र कानाबगर बजारको ठूलो क्षेत्र बगरमा परिणत भएको छ ।

“मेरो घर यही थियो, अहिले त घरमाथिबाट निसीखोला बगिरहेको छ । जीवनको ४० वर्ष नाघ्यो, यत्रो बाढी निसीखोलामा कहिल्यै आएको थिएन । यही असोज ११ गते बिहान आएको बाढीले घरको नामोनिसान राखेन”, निसीखोला गाउँपालिका–४ झिवाखोलाकी डिलकुमारी रेग्मीले भावुक हुँदै भन्नुभयो ।

उहाँको बस्ने बास छैन । जग्गा कहाँ थियो भन्ने पनि पत्तो छैन । अहिले दुई छोरासहित आफन्तको घरमा आश्रय लिएर बसेको उहाँले बताउनुभयो । रेग्मीजस्ता झिवाखोला बजारको २४ घरको दुखेसो उस्तै छ । बाढीले यस क्षेत्रमा २४ घर बगाएको तथा २१ घरमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ ।

निसीखोलाको पानीको सतह एक्कासी बढेपछि नदीले धार परिवर्तन गरी झिवाखोला बजारको पुरानो बस्तीमा प्रवेश गरेको थियो । बाढीले घर, गोठ, विद्यालय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि अहिले झिवाखोला र कानाबगर उजाड बनेको छ ।

“बाढी आउँदैछ भन्ने सामान्य अनुमान त थियो तर यति ठूलो बाढी आउला भन्ने कसैले सोचेको थिएन”, स्थानीय मिलन हमालले भन्नुभयो, “विद्यालयमा क्षति पुगेको छ । धेरै स्थानीयले घरभित्रका सामान सार्नसमेत पाएनन् ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार बाढीले झिवाखोला बजार र कानाबगरमा ठूलो क्षति पुर्याएको छ । बाढीले निसीखोला किनारमा रहेको मध्यपहाडी लोकमार्गको एक किलोमिटरभन्दा बढी पक्की सडक कटान गरेको छ । सडक कटान भएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ ।

निसीखोला–४ मा रहेको निसीखोला आधारभूत अस्पताल, विद्यालय तथा झिवाखोला प्रहरी चौकीमा क्षति पुगेको छ । प्रहरी चौकीमा क्षति पुगेपछि सेवा अन्यत्रबाट सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको इन्टेक र नहर बाढीले बगाएको छ भने एउटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

बाढीबाट विस्थापित परिवारलाई सुरुमा जनजीवरा र प्रभा माध्यमिक विद्यालयमा बनाइएको अस्थायी शिविरमा राखिएको थियो । अहिले भने उनीहरूलाई आफन्त तथा छिमेकीको घरमा स्थानान्तरण गर्ने प्रयास भइरहेको छ ।

“राहत लिएरमात्र लामो समय शिविरमा बस्न सकिँदैन । पीडितपरिवारलाई सुरक्षित रूपमा बस्ने ठाउँ आवश्यक छ”, निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले भन्नुभयो, “आफन्त र छिमेकीको घरमा कोठा खोजेर अस्थायी बसोबासको व्यवस्था मिलाउने काम भइरहेको छ ।”

बाढीले घरको जग तथा आसपासको जमिन कटान गरेपछि कतिपय परिवारलाई आफ्नो घर रहेको ठाउँ पहिचान गर्न कठिन भएको स्थानीय बताउँछन् । वर्षौँदेखि बस्दै आएको बस्ती एकै रातमा बगरमा परिणत भएपछि स्थानीयवासीमा पुनःस्थापनाको चुनौती थपिएको छ ।

अविरल वर्षापछि आएको पहिरोमा परी निसीखोला गाउँपालिका–३ हरधारामा एकै परिवारका चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उहाँका छोराहरू १३ वर्षीय मनोज विक, आठ वर्षीय मुकेश विक र तीन वर्षीय निशान विक रहेका छन् ।

पहिरोले गोठ पुरिँदा निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको थियो । बाढी तथा पहिरोका कारण गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । निसीखोला गाउँपालिका–४ कै चिनारेमा पहिरोका कारण १० घर विस्थापित भएका छन् । रासस