काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी अतिथिहरूलाई स्वागत तथा सम्मानका लागि खादा प्रयोग गरिने भएको छ । महाधिवेशनस्थल काठमाडौंको खुलामञ्चमा अतिथिहरूलाई लगाइदिने खादा तयारी अवस्थामा राखिएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज अपराह्न खुलामञ्चमा उद्घाटन हुँदैछ । यही असोज २२ गतेसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ ।
महाधिवेशन तालिकाअनुसार आज असोज १८ गते उद्घाटन सत्र हुनेछ । असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ ।
महाधिवेशनमा सहभागी हुने नेता, प्रतिनिधि तथा अतिथिहरूको स्वागतका लागि खुलामञ्चमा आवश्यक व्यवस्थापन मिलाइएको छ । अतिथिहरूलाई खादा लगाएर स्वागत गर्ने तयारीसमेत गरिएको छ ।








