काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा समूहबाट केन्द्रीय सदस्य पदका लागि खगेन्द्र आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। उनले पार्टीको नेतृत्व र नीति निर्माणमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता बढाउँदै उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई राजनीतिक एजेन्डाको केन्द्रमा राख्ने बताएका छन्।
कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीय कार्यसमितिमा छुट्टै व्यवस्था गरिएको छ। प्रदेश र खुला प्रतिस्पर्धाबाट ३५ वर्षमुनिका युवामध्ये कुल २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
काठमाडौं क्षेत्र नं. ३ बाट युवा खुलातर्फ महाधिवेशन प्रतिनिधि निर्वाचित आचार्यले यही व्यवस्थाअन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। उनको उम्मेदवारीलाई कांग्रेसभित्र युवा नेतृत्व विकास, पुस्तान्तरण र समावेशी प्रतिनिधित्वको बहससँग जोडेर हेरिएको छ।
उद्यमशीलता, नवप्रवर्तन, स्टार्टअप तथा रोजगारी सिर्जनाका क्षेत्रमा सक्रिय आचार्य हाल नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक छन्। यसअघि उनले कांग्रेसको उद्यमशीलता तथा साना–मझौला उद्योग विभागमा सदस्य तथा सचिवका रूपमा काम गरेका थिए।
आचार्यले साना तथा मझौला उद्यमीका समस्या, वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र युवालाई स्वरोजगार बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएका छन्। उनका अनुसार राजनीतिक दलको भूमिका निर्वाचन र सरकार गठनमा मात्र सीमित हुनुहुँदैन। आर्थिक अवसर सिर्जना, रोजगारी विस्तार र उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि पनि पार्टीले स्पष्ट नीति अघि सार्नुपर्ने आवश्यकता छ।
उनले युवालाई विदेश जान बाध्य बनाउने अवस्था अन्त्य गर्न स्वदेशमै उद्यम, लगानी र रोजगारीका अवसर विस्तार गर्नुपर्ने धारणा राख्दै आएका छन्। स्टार्टअप तथा नवप्रवर्तनलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै उनले नयाँ सोच र प्रविधिमा आधारित व्यवसायलाई प्रारम्भिक चरणमै पूँजी, परामर्श, बजार तथा नीतिगत सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
युवाका लागि उद्यमशीलता तालिम, सहुलियतपूर्ण ऋण, लगानीको पहुँच र व्यावसायिक परामर्श आवश्यक रहेको बताउँदै आचार्यले साना तथा मझौला उद्योगलाई अर्थतन्त्रको आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन्। महिला उद्यमशीलता, स्थानीय उत्पादन र डिजिटल प्रविधिलाई समेत उनले आफ्नो प्राथमिकतामा राखेका छन्।
१५औँ महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्वलाई पार्टीको संगठनात्मक रूपान्तरणसँग जोड्दै आचार्यले पुस्तान्तरण, आन्तरिक लोकतन्त्र, पारदर्शिता, प्रविधिमैत्री संगठन र परिणाममुखी राजनीतिक कार्यशैली आवश्यक रहेको बताएका छन्। युवालाई प्रचार तथा निर्वाचनका समयमा मात्रै परिचालन नगरी नीति निर्माण र निर्णय प्रक्रियामै सहभागी गराउनुपर्ने उनको धारणा छ।
केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्दै आचार्यले आफ्नो अभियानको मुख्य सन्देश ‘अबको कांग्रेस : युवा, उद्यम र नवप्रवर्तनको कांग्रेस’ अघि सारेका छन्। उनको अभियानले युवा नेतृत्व, रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन र प्रविधिमैत्री संगठन निर्माणलाई प्राथमिकतामा राखेको छ।








