काठमाडौँ, १८ असोजः आज नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु हुँदैछ । काठमाडौंको खुलामञ्चमा आज अपराह्न २ बजेका लागि यो महाधिवेशनको उदघाटनको समय तय गरिएको छ । यही असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा कांग्रेसको इतिहासमा नै सबैभन्दा धेरै प्रतिनिधिहरुको सहभागिता हुन लागेको छ ।
यो महाधिवेशनमा ७ हजार ५०० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने भएका छन् । कांग्रेसको यसअघिका कुनै पनि महाधिवेशनका यतिधेरै प्रतिनिधि सहभागी थिएनन् । यसअघि पनि धेरै भनिएको १४औँ महाधिवेशनमा ४ हजार ७४३ जनामात्र महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए ।
अघिल्लो महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो भने यसपटक प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले प्रतिनिधि आउने व्यवस्था गरिएको छ ।
त्यसैले कांग्रेसको १५औँ महाधिवेशनमा यसअघिका सबै महाधिवेशनका तुलनामा प्रतिनिधिको संख्या उल्लेख्य रूपमा रहेको सो पार्टीले जनाएको छ । काठमाडौँको खुलामञ्चमा आज उदघाटन हुने सो महाधिवेशनको असोज १९ र २० गते खुलामञ्चमै बन्दसत्र चल्नेछ । असोज २१ र २२ गते निर्वाचनको कार्यतालिका तय गरिएको छ । निर्वाचन पनि यही ठाउँमा हुने कार्यसूची कांग्रेसले सार्वजनिक गरेको छ ।
तर निर्वाचनका लागि काठमाडौंका ७ ठाउँमा मतदान केन्द्र तोक्ने तयारी छ । सात प्रदेशका लागि बेग्लाबेग्लै स्थान रहने गरी, एक केन्द्रमा १ हजार मतदाताले मत हाल्न मिल्ने गरी व्यवस्थापन मिलाइने भएको हो । तर ती मत ल्याई गणना भने यहीँ हुनेछ ।
कांग्रेसले दिएको जानकारी अनुसार आजको उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ । ती नेताहरुलाई निम्ता गरिएको सो पार्टीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ लगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई कांग्रेसले महाधिवेशनको उदघाटन समारोहमा निमन्त्रणा गरिएको सो पार्टीका प्रवक्ता देवराज चालिसेले जनाएका छन् । तर पनि सहभागिताको टुंगो भने लागेको छैन । पार्टीको प्रतिनिधित्व प्रायः सबैको हुने निश्चित भएको भए पनि नेताको टुंगो नलागेको प्रवक्ताले जनाएका छन् ।
तर, यो महाधिवेशन कांग्रेस एक भएर गरिँदै भने छैन । आजको महाधिवेशन संस्थापन पक्ष भनिएको गगन थापाले नेतृत्व गरिरहेका कांग्रेसको हो । उता, निवर्तमान सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस पनि छ र सो समूह पनि १५ औँ महाधिवेशनकै नाममा निर्वाचनमा होमिएको छ ।
सो समूहले गत बिहीबार पार्टीको वडा तहको अधिवेशन सम्पन्न गरेको छ भने अरु तहका अधिवेशनको पनि मिति तोकिसकेको छ । देउवा समूहले आगामी मंसिर २१ देखि २३ सम्म पार्टीको महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।
एक कांग्रेस, दुई महाधिवेशन भएको छ । तर एकै महाधिवेशन बनाउने सम्भावना भने घटेर गएको छ । पार्टीको संस्थापन पक्षले पूर्व सभापति देउवालाई यही महाधिवेशनमा ल्याएर प्रमुख अतिथि बनाउने तयार पनि गरेको थियो । तर, अन्तिममा सभापति गगन थापा देउवालाई निमन्त्रणा नगरेकाले सो सम्भव नभएको देउवा पक्षको भनाई छ । यद्यपि, यस विषयमा देउवाको सार्वजनिक धारणा भने आएको छैन ।
त्यसो भए कुन कांग्रेस वैधानिक त ? गगन कि देउवा ? अहिले आएर यही प्रश्न अन्यौलमा छ । किनभने निर्वाचन आयोगले गत पुसमा एकतर्फी विशेष महाधिवेशन गरेको विशेष महाधिवेशनलाई मान्यता दियो र सोही समूहले गत फागुनको निर्वाचन पनि गरायो । तर, फेरि देउवा पक्ष सर्वाेच्च अदालत गयो । सर्वाेच्चले पनि गगनको पक्षलाई तत्काल कांग्रेसको वैधानिकता रहने गरी निर्णय सुनायो ।
तर, सोही मुद्दामा फेरि डेढ महिनाअघि सर्वाेच्चले नै देउवा समूहको माग अनुसार निस्सा दियो । र, अब सुनुवाईको प्रक्रियामा लैजाने बताइरहेको छ । निस्सा दिइसकेपछि सुनुवाई पनि होला । त्यसो भए कांग्रेसको आधिकारिकता सम्बन्धी विवादलाई सर्वोच्चमा विचाराधीन मुद्दा भन्ने कि के भन्ने ?
फेरि निर्वाचन आयोगकै पनि दुई ओटा फरक फरक निर्णय देखिन्छ । जस्तो कि पहिला रुख चिन्ह प्राप्त आधिकारिक कांग्रेसको मान्यता गगनलाई दिइसकेपछि अहिले फेरि देउवा समूहको महाधिवेशनसम्बन्धी जानकारी राख्न प्रमुख निर्वाचन आयुक्तकै तोकमा दर्ता भयो देउवा समूहको निवेदन । आयोगले त कांग्रेसको महाधिवेशनका नाममा गगनको मात्र चिन्छ, अर्काे कांग्रेस चिन्दैन भनेर भन्नुपर्ने होइन र ? अनि किन आयोगले दर्ता गरेर प्रमाणहरु जुटाइराख्न खोजेको त ?
यही आधिकारिताको विवादका कारण भुलभुलैयामा परेका छन् देउवा पनि । उनी पनि आफूलाई निर्वाचन आयोगले अन्तिममा आएर आधिकारिक कांग्रेसको मान्यता दिनेमा आस्वस्त देखिन्छन् । उनले आफू निकट नेताहरुसँग पनि यही कुरा सेयर गर्ने गरेको सुनिन्छ । त्यसैले पनि उनी आफू पक्षीय अलग्गै महाधिवेशन गर्न खोज्दैछन्, तयारी गरिरहेका छन् ।
तर, उनीसँग बिगतमा आफूलाई देउवा बनाउने सारथिहरु भने कोही छैनन् । उनीहरुले छोडेर गगनको महाधिवेशमा सहभागी भैसकेका छन् । केही थान त छन् तर तिनका पछि जनता छैनन् । जस्तो कि कहिल्यै चुनाव नजित्ने प्रकाशशरण जस्ता व्यक्ति मात्र बाँकी छन्, जसले देउवा थेग्ने झिनो प्रयत्न गर्दैछन् । जुन सम्भव देखिँदैन ।
यसरी हेर्दा देउवाको रेल छुटिसकेजस्तो लाग्दैछ । सानेपाबाट छुटेको रेलमा देउवा छुटेजस्तो लाग्दैछ । आज प्रमुख अतिथिका रुपमा उपस्थित भएर देउवाले पार्टीको महाधिवेशन उदघाटन गर्दा जसरी उनी, उनको समूह र नेपाली कांग्रेस जसरी एकैपटक जोगिन सक्छ । अन्यथा केही थान नेतामात्र लिएर सुरु गरेको किराना पसलले देउवाको भरथेग गर्दैन, नत कांग्रेस पार्टी नै फस्टाउन सक्छ ।
यता गगनले पनि के बुझ्नुपर्छ भने आफू हदैसम्मको लचिलो भएर पनि देउवा समूहलाई समेट्नुपर्छ । सरकारले आगामी फागुनमा स्थानीय निर्वाचनको घोषणा गरिसकेको छ । त्यसमा कांग्रेस एक हुँदा मात्र उसलाई फाइदा छ । आज गगन समूहले देउवाको शक्ति क्षिण भएको कारण देखाएर मिलाउन नखोज्दा भोलि निर्वाचन हराउन थोरै मात्र पनि काफी हुनसक्ने खतरा रहन्छ । लाग्छ, त्यसबेला गगनको पनि रेल छुट्न सक्छ ।
त्यसबेला फेरि देउवालाई सहमतिमा ल्याउन गगनलाई ठूलै प्रयत्न गर्नुपर्ने देखिन्छ । त्यो प्रयासलाई आजै बल गरे अहिले नै पार्टी बलियो हुन्छ र निर्वाचन अगावै गाउँ गाउँ जान सहज पनि हुन्छ । तर, दुवै पक्षका आ आफ्ना अडानले रेल कस्को छुट्ने हो, भविष्यले नै बताउला ।








