काठमाडौं । गायिका एलिना चौहानले आफ्नो विगतसँग जोडिएका विषयलाई बारम्बार समाचारमा ल्याएर वर्तमान जीवनसँग जोडिदिँदा आफूलाई पीडा हुने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीलाई आफूलाई आफ्नो वर्तमानमा बाँच्न दिन आग्रह गरेकी हुन्। उनले आफूले कल्पनासम्म नगरेका विषयसमेत समाचारमा देख्ने गरेको उल्लेख गर्दै विगतका घटना र पुराना तस्बिरलाई बारम्बार समाचारमा प्रयोग नगर्न आग्रह गरेकी छन्।
‘म मेरो विगत बिर्सेर धेरै अगाडि बढिसकेकी छु। मैले मेरा पुराना घाउहरूलाई नराम्रो सपना सम्झेर छोडिसकेकी छु। तर हरेक कुरामा त्यही विगत निकालेर, पुराना फोटो टाँसेर समाचार बनाउँदा फेरि त्यही घाउ कोट्याइन्छ,’ उनले लेखेकी छन्।
आफ्नो विगतलाई वर्तमानको परिचय नबनाइदिन आग्रह गर्दै चौहानले विगत आफ्नो जीवनको एउटा अध्याय मात्र भएको बताएकी छन्। ‘विगत मेरो जीवनको एउटा अध्याय हो, मेरो सम्पूर्ण जीवन होइन। कृपया त्यो अध्याय बन्द गरिदिनुस्,’ उनले भनेकी छन्।
उनले आफ्नो पहिचान बनाउन कसैको नाम वा सम्बन्धको सहारा आवश्यक नरहेको समेत उल्लेख गरेकी छन्। आफूले यो कुरा घमण्ड नभई आत्मविश्वासका साथ भनेको बताउँदै उनले विगतसँग जोडिएका नाम वा सम्बन्धलाई बारम्बार निकालेर आफ्नो आजको परिचय बनाइदिन आवश्यक नरहेको स्पष्ट पारेकी छन्।
चौहानले आफूविरुद्ध भ्रामक तथा आत्मसम्मानमा आँच पुर्याउने समाचार फैलाउने मिडिया तथा सम्बन्धित व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जाने चेतावनीसमेत दिएकी छन्।








