काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा दुईदिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वासिङ्टन डिसीतर्फ गएराति प्रस्थान गर्नुभएको छ।
भ्रमणका क्रममा मन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमका वरिष्ठ अधिकारी तथा निजी क्षेत्रका लगानीकर्तासँग छलफल गर्नुहुने अर्थ मन्त्रालयले जनाएको छ ।
छलफलमा द्विपक्षीय सहकार्य सुदृढीकरण, भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माण, नेपाललाई वित्तीय कारबाही कार्यदल (FATF) को ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने प्रयास तथा समग्र आर्थिक सुधारका विषयमा केन्द्रित हुनेछ।
प्रतिनिधिमण्डलले सडक तथा विद्युत् प्रसारण लाइनलगायत ठूला पूर्वाधार आयोजनामा विकास साझेदार र निजी क्षेत्रको लगानी बढाउने सम्भावनाबारे पनि छलफल गर्नेछ।
मन्त्री वाग्ले केही अघि मात्र एसियाली विकास बैंकको कतारको दोहामा सम्पन्न गभर्नर्स बैठकमा सहभागी भएर नेपाल फर्कनु भएको थियो । यसअघि उहाँ भारत भ्रमण गरी भारतीय अर्थमन्त्री निर्मला सिथारमण समेतका उच्च पदाधिकारीसँग भेटवार्ता गरी नेपाल र भारतका सहयोगका क्षेत्रमा विचारविमर्श गर्नु भएको थियो ।








