काठमाडौं: बहुप्रतिक्षित र विवादास्पद निजामती सेवा विधेयक सरकारले संसदको बैठक अन्त्य गरेकै दिन संसदमा दर्ता गरेको छ । बालेन्द्र शाहको नेतृत्वमा छ महिना अघि गतवर्ष चैतमा सरकार गठन भएदेखि नै पुराना कर्मचारीलाइ बिदा गर्ने चर्चा चुलिएको थियो ।
अध्यादेशबाट नै कानुन आउँछ भन्ने अड्कलबाजी बिच संसदको ढोकामा निजामती सेवा विधेयक पुगेको छ । संसदमा यो विधेयक दर्ता भएपनि अधिवेशन नै अन्त्य भएकाले विधेयक के हुने भन्ने अन्योल कायमै छ । कतिपयको भनाइमा सरकारले विधेयक फिर्ता लिनेछ, र अध्यादेशबाट जारी हुनेछ ।
तर अहिले यो विधेयकको पक्ष र विपक्षमा आवाज आउने क्रम जारी छ ।
कतिपयले यस विधेयकले पुराना कर्मचारीलाइ एकमुष्ठ विदाइ गर्ने र सेवा प्रवाहमा नयाँ युवाले अवसर पाउने भन्दै स्वागत गरेका छन् । तर ठूलो संख्याका कर्मचारीले यो विधेयक पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउन थालेका छन् । यो असन्तुष्ठ समूहले कानुनी लडाइँमा जाने निश्चित भइसकेको छ अर्थात् उनीहरू आफ्ना कुराहरू मुखर रूपमा राख्न थालेका छन् ।
निजामती सेवा विधेयक संसदमा दर्ता भएलगत्तै माथिल्लो तहका बहालवाला सहसचिव जितेन्द्र बस्नेतले सामाजिक संजाल फेसबुकबाटै प्रस्तावित विधेयकका प्रावधानप्रति आक्रोश पोखेका छन् । उनले विधेयकमा एक पटकका लागि मात्र ३०/५५ को विभेदकारी, अन्यायपूर्ण र असमान प्रावधान राखी निजामती सेवाको शीर छेदन गरेको बताएका छन् । उनले संसदमा दर्ता भएको विधेयक भर्त्सनायोग्य रहेको पनि उल्लेख गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहसचिव एवं प्रवक्ताका रुपमा कार्यरत छन् । यसअघि उनले काठमाडौं, चितवन, गोरखा र पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । साथै, उनले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकको रूपमा समेत काम गरेका छन् ।
सहसचिव बस्नेतले लेखेकाे स्टाटस
एउटा समूहलाई मात्र कोष्टक (Bracket) मा पारेर एक पटकका लागिमात्र ३०/५५ को विभेदकारी, अन्यायपूर्ण र असमान प्रावधान राखी निजामती सेवाको शीर छेदन गर्ने गरी आज सम्मानित सदन समक्ष पेश भएको विधेयक भर्त्सनायोग्य छ । यस्तो सेवा शर्त विपरीतको भूतप्रभावी प्रावधानले पीडित कर्मचारीलाई अत्यन्तै विभेद, अन्याय र असमान कानूनी व्यवहार हुन लागेको महसुस भएको छ।
सम्मानित सदनबाट लोक सेवा आयोगको परामर्श समेतलाई आत्मसात गर्दै कुनै समूहलाई मात्र लक्षित गरी एक पटकका लागि मात्र प्राकृतिक न्यायको सिद्धान्त विपरीत जवर्जस्ती अवकासमा पठाउने विभेदकारी प्रावधान सच्याएर मात्र विधेयक पास हुने अपेक्षा गरिएको छ।
https://www.facebook.com/share/p/1bSPsv6kuw/?mibextid=wwXIfr








