२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

अपवित्र गठजोड विरुद्ध लडेर राजनीतिक रुपमा विजयी भयौं : डा.शेखर कोइराला

अपवित्र गठजोड विरुद्ध लडेर राजनीतिक रुपमा विजयी भयौं : डा.शेखर कोइराला
file
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीमा यथास्थिति चाहने सबैको अपबित्र गठजोड विरुद्ध लडेर राजनीतिक रुपमा विजयी भएको जनाउनु भएको छ । 

आज एक विज्ञप्ति जारी गर्दै कोईरालाले केही मतबाट पराजित भए पनि प्रतिनिधि र लोकतन्त्रवादीहरुको “मन” जित्न सफल भएको उल्लेख गर्नुभएको छ ।

उहाँले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश सम्पूर्ण कांग्रेसजनमा मात्र होइन आम नेपालीको घर दैलोमा समेत पुर्‍याउन सफल भएको जनाउनु भएको छ ।  

डा.कोईरालाले जारी गर्नुभएको विज्ञप्तिको पूर्णपाठ :

प्रिय साथीहरु,

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सभापति चयन गर्ने प्रकृया पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ । म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु । साथै उहाँको कार्यकालमा नेपाली कांग्रेसको गौरव पुनर्स्थापित हुनेछ भन्ने विश्वास पनि गर्दछु ।

पार्टीका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मत गणना अगाडि बढ्दै छ । मत गणना सकिएर विजय हुनुभएका साथिहरुलाई हार्दिक बधाई । आशा छ कांग्रेस परिवर्तनको पक्षमा उभिने हामी मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुनेछैनौँ । पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिदै कांग्रेस रुपान्तरणको एजेन्डामा निरन्तर कृयाशिल हुनेछौँ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा म पार्टी सभापतिमा पराजित भएको छु । केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरु र लोकतन्त्रवादीहरुको “मन” जित्न सफल भएका छौं । पार्टी भित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं । 

 मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ । मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु ।

मलाई विश्वास छ, पार्टीका प्रतिनिधि साथीहरु, शुभेच्छुक मित्रहरु र आम नेपाली जनता बीच मेरो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । म लगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ,  हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौँ।

पार्टी भित्र रुपान्तरण र परिवर्तनको यो लडाई हामीलाई सहज थिएन । बर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टी भित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रबृति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौ पार्टी भित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान बिपरित हुने निर्णय विरुद्ध ।

पार्टीलाई जवाफदेही,  उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो  अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाहरुको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ ।

पार्टीको १४औँ महाधिवेशनको प्रतिस्पर्धा पार्टी भित्र यथास्थितिवादी र परिवर्तनकारी बीच थियो । हामी परिवर्तनकारी शक्ति थियौँ । हामीसँग निष्ठावान कार्यकर्ताहरुको भरोसा र विश्वास थियो । हामीसँग  हाम्रा अग्रज मूर्धन्य नेताहरु विपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधी लगायत कैयन ज्ञात अज्ञात शहिदहरुको प्रेरणा थियो । जसलाई हामीले छातिमा राखेर कांग्रेसमा परिवर्तनको लागि नेपालका गाउँ शहर, हिमाल पहाड र तराई ( मधेश गयौं।

हामी कांग्रेस कार्यकर्ता साथीहरुको घर दैलोमा पुग्यौँ । हामी काठमाण्डौँको आराम जीवन छोडेर जब गाउँ घर पुग्यौँ कांग्रेस हुनुको गौरव र भावना बुझ्यौँ । कांग्रेसको १४औँ महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा छ तर हामीले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश सम्पूर्ण कांग्रेसजनमा मात्र होइन आम नेपालीको घर दैलोमा पुर्यााएका छौँ ।

म आभार प्रकट गर्दछु, ती तमाम प्रतिनिधि साथीहरुप्रति जसले अनेकन् प्रतिकुलताको बीच पनि हामीप्रति निरन्तर विश्वास र भरोसा प्रकट गर्नुभयो । म आभार प्रकट गर्छु ती तमाम सञ्चारकर्मीहरुप्रति जसले हामीलाई कांग्रेस सुधारको प्रकृयामा सकृय भै सहयोग र समर्थन प्रदान गर्नुभयो । सञ्चार क्षेत्रको सहयोग नभएको भए हाम्रो एजेन्डा सीमित श्रोत र साधनको कारण आम कांग्रेसजन र प्रवुद्ध नागरिकसँग जोडिन सम्भव थिएन । म आभारी छु, ती तमाम लोकतन्त्रवादी नागरिकप्रति जसले हामीलाई निरन्तर निष्ठाप्रति अविचलित रहन प्रेरणा मात्र दिनु भएन दबाव पनि दिनुभयो । निर्वाचन समितिले अनेक प्रतिकुल परिस्थितिको सामना गर्दै लामो प्रकृयामा गएको कांग्रेस महाधिवेशनलाई अहोरात्र खटेर सम्पन्न गरेकोमा धन्यवाद दिन चाहन्छु ।  

अन्त्य, 

पार्टीको १४औँ महाधिवेशनको मत परिणाम पछिका दिन राष्ट्रिय निर्वाचनको चहल पहल शुरु हुनेछ । कांग्रेसलाई एकढिक्का बनाएर मात्र हामी फेरी कांग्रेसलाई एक नम्वरको पार्टी बनाउन सक्छौं । कांग्रेसलाई एक नम्वरको पार्टी बनाउन हामी फेरी हिमाल, पहाड र तराई ( मधेश आउने नै छौं तपाईहरुको घर दैलोमा  हामीप्रति देखाएको स्नेह, सहयोग र सद्भावप्रति म धन्यवाद ज्ञापन गर्दछु र भविष्यमा पनि हामीलाई यस्तै माया र सद्भावको अपेक्षा गर्दछु । धन्यवाद ।  

जय नेपाल 

डा.शेखर कोइराला

२ पौष २०७८