५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

इन्डोनेसियामा बस्ने नेपाली प्रेमी-प्रेमिकाको मानव तस्करी धन्दा

इन्डोनेसियामा बस्ने नेपाली प्रेमी-प्रेमिकाको  मानव तस्करी धन्दा
अ+ अ-

काठमाडौं । घुमघामका लागि नेपालीको नयाँ गन्तव्य इन्डोनेसिया मानव तस्करी गिरोहको समेत ट्रान्जिट बन्न थालेको छ । अस्ट्रेलिया पुर्‍याउने प्रलोभनमा इन्डोनेसिया लगेर बन्धक बनाउने र लुट्ने प्रवृत्ति देखिएको प्रहरीले जनाएको छ ।

इन्डोनेसिया बसेर यसरी मानव तस्करी र ठगी धन्दा चलाउने एक जोडीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतका शिव शर्मा र काभ्रे घर भएकी उनकी प्रेमिका अस्मिरा चौलागाईंसहितलाई पक्राउ गरी अनुसन्धान थालिएको मानव बेचबिखन नियन्त्रण ब्युरोले जनाएको छ । अनुसन्धानका क्रममा विगतमा अमेरिकाजस्तै अहिले अस्ट्रेलिया पठाइदिने भन्दै मानव तस्करी गर्ने नयाँ शैली देखिएको ब्युरोका एसपी गोविन्द थपलियाले बताए ।

ब्युरोले भारतीय नागरिक पुरुषोत्तम लाल तथा दोलखाका शशीकुमार तामाङ, म्याग्दीका डोलेन्द्र कार्की र काभ्रेका अर्जुन कार्कीलाई समेत पक्राउ गरेको हो । गिरोहका मुख्य नाइके पर्वतका शर्मा र भारतीय नागरिक लाल भएको प्रहरीले जनाएको छ । लाल इन्डोनेसियन युवतीसँग बिहे गरेर उतै बस्दै आएका थिए । उनकै सहयोगमा शर्मा र उनकी प्रेमिका चौलागाईंले इन्डोनेसियामा बसेर मानव तस्करी र ठगी धन्दा चलाउँदै आएका थिए ।

थप नेपाली लिन नेपाल आएका वेला लाललाई ३ भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको एसपी थपलियाले बताए । शर्मा र चौलागाईंलाई इन्डोनेसियाबाट ‘डिपोर्ट’ गरी नेपाल ल्याइएको हो । अन्य पीडितसँगै उनीहरू नेपाल आएका थिए ।

प्रेमिकाको प्रयोग
मानव तस्करीमा प्रभाव पार्न शर्माले आफ्नै प्रेमिका प्रयोग गरेका थिए । पक्राउ परेकी अस्मिरा चौलागाईंले आफू ‘विजय दाइमार्फत नै अस्ट्रेलियाको पर्थमा आएको र विश्वास गरेर आउँदा हुने’ भन्दै फोनमा कुरा गर्थिन् । इन्डोनेसिया बसेर उनले आफू अस्ट्रेलियामा रहेको भनेर भ्रममा पार्थिन् ।

प्रहरीका अनुसार शर्माले सुरुमा इन्डोनेसियामै रहेका अर्का एक भारतीयसँग मिलेर मानव तस्करीको प्रयास गरेका थिए । तर, ती भारतीय भारत फर्केपछि लालको गिरोहसँग उनी जोडिएका हुन् । लालले मानव तस्करी र बन्धक बाउने प्रयोजनकै लागि तीनवटा फ्लाट भाडामा लिएको खुलेको छ ।

अनअराइभल भिसाले इन्डोनेसिया ट्रान्जिट
नेपालीको पर्यटकीय गन्तव्य बनेको इन्डोनेसियाले नेपाललाई ‘अनअराइभल भिसा’ दिँदै आएको छ । अर्थात् अग्रिम भिसा लिनुनपर्ने भएकाले मानव तस्करहरूका लागि इन्डोनेसिया सहज गन्तव्य हुन थालेको छ । अस्ट्रेलियाको सपनामा इन्डोनेसिया पुगेका धेरै नेपाली ठगिएर फर्किएको ब्युरोका एसपी अनुपमशमशेर राणा बताउँछन् ।
थाइल्यान्डलगायत देशले पनि नेपालीलाई सहजै भिजिट भिसा दिने भएकाले ती देशलाई ट्रान्जिट बनाएर मानव तस्करी गर्ने प्रवृत्ति विगतमा देखिएको थियो ।

पीडित नै अभियुक्त, इन्डोनेसिया बसेर क्यानडाको नाटक
अस्ट्रेलिया जाने लोभमा इन्डोनेसिया पुगेर ठगिएका सिन्धुलीका अमृत बराल एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पु¥याएर लुटपाट गर्ने गिरोहका फरार अभियुक्त भएको खुलेको छ । म्याग्दीका देवेन्द्र रोकालाई क्यानडा लैजाने भन्दै उनको समूहले दिल्ली लगेर लुटेको थियो । जसमा उनी फरार अभियुक्त भएको खुलेको छ ।

इन्डोनेसियाको मानव तस्करी घटनामा उनी पीडित भएको र रोकालाई क्यानडा लैजाने भन्दै लुटपाट गरिएको घटनामा अभियुक्त भएको मानव बेचबिखन नियन्त्रण ब्युरोका एसपी अनुपमशमशेर राणाले बताए । सो घटनामा इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई यसअघि ब्युरोले पक्राउ गरिसकेको थियो । बराल प्रहरी जवान कार्कीका सालो हुन् ।

ब्युरोले यसअघि कार्कीसहित योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराईलाई पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरी जवान कार्कीले म्याग्दीका देवेन्द्र रोकालाई दिल्लीसम्म पुर्‍याएका थिए । दिल्लीमा रोकाका बुबा र मामालाई बेहोस बनाएर उनीहरूसँग भएको २४ हजार अमेरिकी डलर लुटिएको थियो । गिरोहले मिर्गौलासमेत निकाल्न खोजेको आशंका गरिएको छ ।

विदेश जाने प्रक्रिया बुझ्न एक कन्सल्टेन्सी धाइरहेका रोकालाई सचिन बरालले क्यानडाको सपना देखाएका थिए । आफ्ना दाइ अमृत बरालले क्यानडा लैजान सक्ने आश्वासनसँगै उनले मोबाइल नम्बर दिएका थिए । क्यानडामा रहेका भनिएका बरालले धेरै खर्च नलाग्ने र आफन्तसँगै क्यानडा आउन भनेपछि रोका प्रहरी जवान कार्कीसँग २२ माघमा दिल्ली उडेका थिए । कार्की बरालकै आफन्त भएकाले बाटोमा समस्या नहुने रोकाको विश्वास थियो ।

दिल्ली पुगेपछि उनलाई २४ हजार डलर भए क्यानडाको स्थायी कार्ड मिल्ने, नत्र जान नमिल्ने भनियो । रोका जसरी पनि क्यानडा जान चाहन्थे । उनले पैसा जम्मा गर्न परिवार र आफन्तलाई लगाए । छोराको क्यानडा जाने सपना पूरा गर्न तीन दिनमै उनका बुबाले २४ हजार डलर तयार पारे । देवेन्द्रका बुबा र मामा पैसा लिएर २९ माघमा दिल्ली पुगे ।

उनीहरूलाई लिन विमानस्थलमा सो गिरोहका व्यक्ति पुगेका थिए । बाटोमै पैसा देखाउन भने पनि उनीहरूले मानेनन् । गुँडगाउँको होटेलमा लगेर राखे । होटेलमा पुगेलगत्तै उनीहरूलाई विभिन्न खानेकुरा खान दिइयो । तर, शंका लागेर उनीहरूले खाएनन् । पछि चिया पिएपछि उनीहरू बेहोस भएका थिए । चियामा बेहोस हुने पदार्थ मिसाइएको थियो ।

देवेन्द्रलाई भने सोही दिन क्यानडाको उडान रहेको भन्दै विमानस्थल पठाइएको थियो । विमानस्थलमा एक व्यक्तिले पासपोर्ट र टिकट दिने भनिएको थियो । बिहान ४ बज्दासमेत कोही नआएपछि उनी होटेल पुगे । जहाँ बुबा र मामालाई बेहोस अवस्थामा भेटे । तत्काल अस्पताल लगे, तर बुबाको साथको पैसा गायब भइसकेको थियो । पैसा लुटेपछि मिर्गौलासमेत निकाल्ने प्रयास गरिएको उनीहरूको आशंका छ ।

एउटा मुद्दामा पीडित रहेका बराल अर्को मुद्दाका अभियुक्त भएको खुलेपछि प्रहरीले सोमबार उनलाई अदालतमा बुझाएको थियो । तर, अदालतले मागेको १० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन् । ‘आफू क्यानडामा रहेको भन्दै उनले इन्डोनेसियाबाटै भ्रममा पारेका रहेछन्,’ एसपी राणा भन्छन्, ‘ह्वाट्स एपमार्फत उनले त्यसरी ठगी गरेका थिए, तर आफूले लुटिएको पैसा भने नपाएको बताएका छन् ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।