काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन गर्ने विषयमा छलफल गरेको छ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा बसेको बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १८० बमोजिम १५ सदस्यीय विशेष समिति गठन गर्ने प्रस्तावमाथि समिति सदस्यहरूबाट राय तथा सुझाव लिइएको हो।
बैठकमा विशेष समितिको गठन, संरचना, कार्यावधि तथा कार्यदिशाका विषयमा सदस्यहरूले विभिन्न सुझाव दिएका छन्। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका असर तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्का विषयमा अध्ययन तथा आवश्यक पहलका लागि विशेष समिति गठन गर्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।
समितिको संरचना, कार्यक्षेत्र र कार्यावधिसहितका विषयलाई अन्तिम रूप दिएर प्रतिनिधि सभामा विशेष समिति गठनको प्रक्रिया अघि बढाइनेछ।








