काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत, उद्धार, सुरक्षा व्यवस्था र पुनःस्थापनाका विषयमा छलफल गर्नुभएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार भएको भेटमा सञ्चारमन्त्री डा तिमिल्सिनाले बाढी प्रभावित बस्तीलाई कहाँ र कसरी पुनःस्थापना गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्नुहुँदै एकीकृत बस्ती बसाल्न स्थान पहिचानका लागि सम्बन्धित स्थानीय तहले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्न नहुने र सुरक्षित स्थान पहिचान गरी बस्ती विकासको तयारी गर्नुपर्ने उहाँको भनाई छ । सञ्चारमन्त्री तिमिल्सिनाले तीनवटै तहबीच समन्वय गरेर सुरक्षित क्षेत्रमा एकीकृत बस्ती विकासको अवधारणाअनुसार पुनःस्थापनाको योजना अघि बढाइने बताउनुभयो ।
भविष्यमा बाढी तथा अन्य विपद्बाट प्रभावित नहुने गरी सुरक्षित स्थानमा बस्ती विकास गर्न आवश्यक तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । पुनःस्थापनाका लागि गिट्टी, बालुवा, काठलगायत स्थानीय स्रोतसाधनको व्यवस्थापन स्थानीय तहबाट गर्न सकिने तथा सङ्घीय सरकारले आवश्यक नीतिगत, आर्थिक तथा प्राविधिक सहयोगका लागि नेतृत्वदायी भूमिका खेल्ने उहाँको भनाई थियो ।
उत्तरगया गाउँपालिका अध्यक्ष अर्यालले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कामलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले पुनःस्थापनाका लागि आवश्यक तयारी, प्रभावितको तथ्याङ्क तथा विवरणमा एकरुपता कायम गर्नुपर्ने विषयमा सञ्चारमन्त्री डा तिमिल्सिनालाई जानकारी गराउनुभयो ।
अध्यक्ष अर्यालले अस्थायी आवास व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनाका लागि छुट्टाछुट्टै समिति बनाएर काम गर्दा सहज हुने बताउनुभयो । विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भइरहेको सहयोगलाई प्रभावितको आवश्यकताका आधारमा व्यवस्थित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
छलफलमा प्रभावितको वास्तविक आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधन उचित रूपमा वितरण गर्ने विषयमा पनि कुराकानी भएको छ । त्यस्तै, बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको अवस्था र उनीहरुको लालनपालन, पठनपाठन र भविष्यको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने विषयमा छलफल भएको थियो ।








