काठमाडौं । जलवायु परिवर्तनका असमान र विकराल प्रभाव बढ्दै जाँदा नेपालको संस्कृति, सभ्यता र हिमालयसँग जोडिएको अस्तित्वमा समेत चुनौती थपिएको भन्दै परराष्ट्र मन्त्रालयले जलवायु कूटनीतिलाई थप संस्थागत गर्ने भएको छ।
नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको जलवायु कूटनीतिलाई संस्थागत, समन्वित र परिणाममुखी रूपमा अघि बढाउन परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार जलवायु परिवर्तनबाट नेपालमा परिरहेका प्रभाव, हिमालयको संरक्षण तथा जलवायु न्यायका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन शाखाले समन्वयकारी भूमिका निर्वाह गर्नेछ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र, जैविक विविधता, जलस्रोत तथा जनजीवनमा बढ्दो जोखिमलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने उद्देश्यसमेत शाखा स्थापनाको रहेको मन्त्रालयले जनाएको छ।








