३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग



अ+ अ-

काठमाडौं । अध्यागमन विभागले विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ अवधारणा अघि बढाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभागले प्रदान गर्ने अधिकांश सेवा पेपरलेस बनाउँदै लगिएको र विदेशी नागरिकले नेपालमा विभिन्न सेवा लिन हरेक समय सक्कल राहदानी बोकेर हिँड्नुपर्ने अवस्था अन्त्य गर्न लागिएको बताउनुभएको हो ।

बुधवार विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक तिवारीले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रियाबाहेक सेवाग्राहीसँग सम्बन्धित अधिकांश काम पेपरलेस भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार ट्रेकिङ परमिट, कार्य सहमति तथा भिसा आवेदनलगायतका सेवाका लागि सेवाग्राही भौतिक रूपमा विभागमा उपस्थित हुनुपर्ने अवस्था क्रमशः हटाइएको छ ।

विभागले विदेशी नागरिकको पहिचान तथा व्यक्तिगत विवरण मोबाइल एपमार्फत प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । विदेशी नागरिकले एपमा आफ्नो विवरण अद्यावधिक गरेपछि प्राप्त हुने क्यूआर कोडमार्फत मनी एक्सचेन्ज, आन्तरिक हवाई टिकट, होटल चेक–इन तथा चेक–आउटलगायतका सेवामा सक्कल राहदानी देखाउनुपर्ने अवस्थाको विकल्प उपलब्ध गराउने विभागको तयारी छ ।

महानिर्देशक तिवारीले विभागमा अनावश्यक भीड बढ्दा सेवा प्रवाहसँगै सुशासनमा समेत जोखिम बढ्ने भएकाले अपोइन्टमेन्ट प्रणाली विस्तार गर्न लागिएको बताउनुभयो । विभागले यसअघि नै समय लिएर सेवा लिन आउने व्यवस्था सुरु गरे पनि अपेक्षाअनुसार सेवाग्राहीले अपोइन्टमेन्ट नलिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार विभागले दैनिक २०० देखि ३०० जनालाई पर्यटक भिसा सेवा दिन सक्ने व्यवस्था गरे पनि निकै कम सेवाग्राहीले मात्रै समय लिएर आउने गरेका छन् । त्यसैले दशैँ–तिहारपछि आपत्कालीन वा विशेष अनुरोधबाहेक अपोइन्टमेन्ट लिएका सेवाग्राहीलाई मात्र सेवा दिने व्यवस्था लागू गर्ने तयारी भइरहेको छ ।

विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) पनि कार्यान्वयन गरिरहेको जनाएको छ । हाल १ हजार ६ सयभन्दा बढी सेवा प्रदायक संस्था प्रणालीमा आबद्ध भइसकेका छन् भने करिब २ लाख ८० हजार गतिविधि उक्त प्रणालीमार्फत ट्र्याक भइरहेको विभागले जनाएको छ ।

यस्तै, विभागले सञ्चालन गरिरहेको ‘नेपाली पोर्ट’ प्रणालीमार्फत विदेशी नागरिकको वर्क परमिट, भिसा आवेदन तथा जारी, नेपाली नागरिकको आगमन तथा प्रस्थान अभिलेख र कालोसूची अद्यावधिकलगायतका कामको अनुगमन भइरहेको जनाएको छ । विभागले ई–भिसा कार्यान्वयनको प्रक्रिया पनि अघि बढाएको छ ।

‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली लागू भएपछि मोबाइल एपमा रहेको व्यक्तिगत विवरण र क्यूआर कोडमार्फत विदेशी नागरिकले सेवा लिँदा सम्बन्धित विवरण केन्द्रीय प्रणालीमा स्वतः जोडिने विभागको भनाइ छ । डिजिटल राहदानी विकल्पको प्रयोगबाट हुन सक्ने जोखिम नियन्त्रण गर्न बायोमेट्रिक्स, पिन, ओटीपी, फेस आईडी वा फेस रिकग्निसनजस्ता माध्यमबाट पहिचान प्रमाणीकरण गर्ने व्यवस्था राखिने जनाइएको छ ।

विभागले विदेशी नागरिकलाई सेवा प्रदान गर्ने विभिन्न संस्थालाई समेत उक्त प्रणालीमा आबद्ध गराउने तयारी गरेको छ ।