काठमाडौं । प्रेस काउन्सिल नेपालले रसुवाको बाढीमा माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिहरूको अस्पतालको आईसीयुबाट गरिएको अन्तर्वार्ताप्रति ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले सोमबार विज्ञप्ति जारी गर्दै ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलबाट आईसीयुमा उपचाररत व्यक्तिहरूसँग अन्तर्वार्ता लिई सम्प्रेषण गरिएको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको हो।
यसअघि सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शक अस्पतालको आईसीयुमा उपचाररत रहेको अवस्थामा अन्तर्वार्ता लिई बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्री पनि काउन्सिलको जानकारीमा आएको विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले दुवै सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ। विषयको अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पत्राचारसमेत गरिएको काउन्सिलले स्पष्ट पारेको छ।
काउन्सिलले सम्प्रेषित सामग्रीको प्रकृति, पत्रकार आचारसंहिताको पालना तथा उपचाररत व्यक्तिको अवस्थालगायतका विषयमा अध्ययन भइरहेको जनाएको हो।









