२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी हुनु लज्जास्पद !



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले अस्पतालको उपचार शुल्क तिर्न नसक्दा सुत्केरी महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनु लज्जास्पद भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण एक महिलाले अस्पतालको गेटबाहिरै बच्चा जन्माउनुपरेको घटनाबारे सरकारसँग जवाफ मागेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र कर्णले राजविराज नगरपालिका–१४ परसाही टोलकी बबिता पासवानले प्रसव पीडाका क्रममा अस्पतालबाहिरै शिशु जन्माउनुपरेको बताए । उनका अनुसार अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भनेकोमा पासवानसँग २ हजार ५ सय रुपैयाँ मात्रै थियो । ७ सय रुपैयाँ अपुग भएपछि उपचारमा आनाकानी गरिएको र अन्ततः अस्पतालको गेटबाहिरै बच्चा जन्मिएको उनले बताए ।

सांसद कर्णले गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न, असहाय तथा निम्न आय भएका नागरिकका लागि उपचारको प्रमुख भरोसाको केन्द्र भएको उल्लेख गर्दै आर्थिक अभावकै कारण सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनु आपत्तिजनक भएको बताए ।

उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे ।

‘गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न, असहाय तथा निम्न आय भएका नागरिकका लागि स्वास्थ्य उपचारको भरोसाको केन्द्र हो । तर यही अस्पतालमा आर्थिक अभावका कारण एक गर्भवती महिलाले अस्पतालको गेटबाहिर सडकमै शिशु जन्माउनु परेको छ,’ उनले भने, ‘एउटा महिला पैसाको अभावका कारण अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनुले हाम्रो स्वास्थ्य प्रणालीमा रहेका कमजोरीलाई चित्रण गरेको छ ।’

रास्वपाकै सांसद अंकिता ठाकुरले पनि घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै आर्थिक अवस्था कमजोर भएकै कारण बिरामी उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न माग गरिन् ।

नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गरेको उल्लेख गर्दै ठाकुरले आर्थिक अभावका कारण सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने घटना गम्भीर र संवेदनशील विषय भएको बताइन् ।

उनले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कडा कारबाही गर्न सरकारसँग माग गरिन् ।

‘जहाँ पैसाले सास र आस तय गर्छ, त्यहाँ अस्पताल अस्पताल रहँदैन, सौदाबाजीको पसल बन्छ,’ उनले भनिन्, ‘गरिब र विपन्न जनताले अस्पताललाई मन्दिर र डाक्टरलाई भगवान् सम्झन्थे । तर मंगलबार राति २ बजे त्यही मन्दिरबाट मानवतालाई सडकमा हुत्याइयो ।’

प्रसव पीडामा रहेकी पासवान अस्पताल पुगे पनि उपचारअघि नै पैसाको विषय उठाइएको र पैसा अपुग भएपछि उनलाई अस्पतालबाहिर निकालिएको ठाकुरको भनाइ थियो ।

‘मध्यराति २ बजे चिसो र धुलाम्य सडकमा उनलाई निकालियो र ती आमाले अस्पतालको गेटबाहिर रोडमै बच्चा जन्माउन बाध्य हुनुप¥यो,’ उनले भनिन्, ‘संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गरेको छ । तर राजविराजको सडकमा संविधान रोइरहेको थियो, लोकतन्त्र लजाइरहेको थियो ।’

सांसदहरूले घटनालाई स्वास्थ्य सेवामा रहेको गम्भीर कमजोरीको रूपमा लिँदै सरकारले तत्काल छानबिन गरी घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । साथै, आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारबाट वञ्चित हुन नदिने प्रभावकारी व्यवस्था सुनिश्चित गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन् ।




भर्खरै