१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

तल्लो मोदी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु



अ+ अ-

पर्वत । जिल्लाको मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको हो ।

कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका– ५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन सुरुआत गरेको जनाएको छ ।

रु तीन अर्ब ६० करोड लागत अनुमान गरी २०६९ साउनमा सुरु भएको आयोजनाले ६० महिना अर्थात् २०७४ असार भित्रै उत्पादन दिने दाबी गरेको थियो । भूकम्प नाकाबन्दी, कामदारको आन्दोलन, उपकरणमा क्षति, मुआब्जा विवादलगायतका झन्झटले निर्धारित समयभन्दा करिब चार वर्ष पाँच महिना ढिला उत्पादन थालेको हो ।

आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पनि जोडिएको छ । करिब ५०० मिटर टाढा रहेको मोदीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएको हो । समय लम्बिएसँगै विद्युत् उत्पादन लागत बढेको भए पनि खर्चबारे आयोजना पक्षले जानकारी सार्वजनिक गरेको छैन ।

आयोजनाको सम्पूर्ण खर्चको विवरण सार्वजनिक भई नसकेको आयोजनाका प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयो । विसं २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग खरिद सम्झौता भएको आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य थियो । तर समयमै आयोजना नसकिँदा सम्झौता के हुने भन्ने निश्चित नभएको आयोजना पक्षले बताएको छ ।

टनेल, पावर हाउसलगायतका संरचना निर्माणकै क्रममा मानवीय तथा प्राकृतिक प्रतिकूलताका कारण उत्पादन मिति दुई वर्षपछि सरेको थियो । विसं २०७२ को भूकम्प, स्थानीयको अवरोधलगायत कारणले क्षति बेहोरेको आयोजनाले परीक्षणका क्रममा टनेलमा पानी चुहिएपछि उत्पादन मिति थप दुई वर्षपछि धकेलिएको हो ।

आयोजनाबाट उत्पादित बिजुली पातीचौरस्थित १३२ केभी ए प्रसारण लाइनको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणमा पठाइएको आयोजनाका सूचना अधिकारी सुरेन्द्र बेल्बासेले बताउनुभयो ।  
    
योसँगै मोदीखोलामा तीन वटा जलविद्युत् आयोजना सञ्चालमा आएका छन् भने थप तीन चार वटा निर्माणाधीन अवस्थामा रहेका छन् । (रासस)