१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुबेतलाई रोक्न राम्रो तयारी गरेका छौं: प्रशिक्षक कालिन



अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत नेपालले बिहीबार (आज) कुवेतसँग खेल्दै छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसका लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। प्रशिक्षक योहान कालिनले यसअघिका कप्तान विराज महर्जनलाई टोलीमा समावेश गरेका छैनन्। विराज हालै मलेसियाको शीर्ष डिभिजन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा थिएनन्।

प्रशिक्षक कालिनले कुबेतसँग राम्रो प्रदर्शन गर्न खेलाडी तयार रहेको बताए। ‘कुबेत बलियो टोली हो। घरेलु मैदानको साथ उसलाई छ। हामीले कुबेतलाई रोक्न राम्रो तयारी गरेका छौं। कुबेतसँग हाम्रो रणनीति रक्षात्मक हुनेछ। नतिजाका लागि भन्दा पनि हामी उत्कृष्ट खेल खेल्ने प्रयास गर्नेछौं,’ कालिनले भने। नेपाली टोलीका कप्तान किरण चेम्जोङले कुबेतसँग यसअघि पनि मैत्रीपूर्ण खेल खेलेकाले सजग भएर खेल्ने बताए।

यसैगरी कुबेतका प्रशिक्षक रोमियो जोज्याकले नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुने बताए। ‘हामीले विश्वकप छनोटलाई लक्षित गरी लामो तयारी गरेका छौं। छनोट खेल १३ महिनासम्म चल्छ। कुबेतले छनोटको लक्ष्यसहित सबैलाई जित्नेगरी तयारी गरेको छ। भर्खर इराकसँग खेलले पनि टोलीमा उत्साह थपिएको छ। हामीले नेपालसँगको खेललाई मात्र हेरेका छैनौं,’ जोज्याकले भने।

नेपाल र कुबेतबीच यसअघि ६ पटक भिडन्त भएको थियो। कुबेत पाँच खेलमा विजयी भएको छ। एक खेल बराबरीमा सकिएको छ। दुई टोलीबीच पछिल्लो पटक गत मार्चमा मैत्रीपूर्ण खेल भएको थियो। उक्त खेलमा नेपाल १–० गोलले पराजित भएको थियो। फिफा वरीयतामा पनि कुबेत केही बलियो छ।

विश्वकपअन्तर्गत दोस्रो चरणको एसियाली छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। समूहमा नेपालसँगै बलियो अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन्।

नेपालले आफ्नो दोस्रो खेल चाइनिज ताइपेविरुद्ध उसैको भूमिमा भदौ २४ गते खेल्दैछ । यी देशले एक अर्काविरुद्ध होम एण्ड अवे खेल खेल्नेछन् । उत्कृष्ट टिम विश्वकप फुटबल २०२२ को छनोटको फाइनल खेल खेल्नेछ ।

नेपाली फुटबल टिम

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल ।

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान ।

फरवार्ड : विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिषेक रिजाल ।