९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ
अ अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारको खोज, उद्धार तथा राहत प्रयासबारे काठमाडौंस्थित कूटनीतिक समुदायलाई जानकारी गराउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

ब्रिफिङमा मन्त्री खनालले भदौ १० गते नेपाल–चीन सीमास्थित रसुवागढीमा भोटेकोशी नदीमा आएको बाढीले केही मिनेटमै ठूलो परिमाणमा पानी, माटो तथा गेग्रान बगाएर तल्लो क्षेत्रमा व्यापक क्षति पुर्‍याएको जानकारी दिनुभयो । उहाँले उक्त बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै हालसालैको स्मृतिमा नेपालले यस्तो प्रकृतिको विपद् भोग्नुपरेको आफूलाई जानकारी नभएको बताउनुभयो ।

मन्त्री खनालका अनुसार बाढी रसुवाबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेको थियो । यसबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको उहाँले जानकारी दिनुभयो ।

सरकारले विपद्को पहिलो दिनदेखि नै खोज, उद्धार, सुरक्षित स्थानान्तरण, उपचार तथा राहतलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा मन्त्रिपरिषद्का आकस्मिक बैठकमार्फत तत्काल राष्ट्रिय स्रोतसाधन परिचालन गरिएको र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित संघ, प्रदेश र स्थानीय तहका निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा स्थानीय समुदाय उद्धारमा खटिएको उहाँले बताउनुभयो ।

खोज, उद्धार तथा राहतका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै मन्त्री खनालले विदेशी नागरिकको सुरक्षा तथा कल्याणलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।

विदेशी नागरिकको खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, नेपाल पर्यटन बोर्ड, विदेशस्थित नेपाली नियोग तथा बेपत्ता विदेशी नागरिकका परिवारसँग निरन्तर समन्वय गरिरहेको उहाँले बताउनुभयो । मन्त्रालयमा स्थापना गरिएको आपत्कालीन नियन्त्रण कक्ष तथा विदेशस्थित नेपाली नियोगले परिवारलाई प्रमाणित सूचना उपलब्ध गराउने, पहिचान प्रक्रियामा सहजीकरण गर्ने र आवश्यक अवस्थामा स्वदेश फिर्तीको व्यवस्थामा सहयोग गरिरहेको उहाँको भनाइ थियो ।

मन्त्री खनालले विपद्को व्यापकता र जटिलतालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ऐक्यबद्धता तथा सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । भारत, चीन, दक्षिण कोरिया, जापान, अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, सिंगापुर, अस्ट्रेलिया, बेलायत, जर्मनीलगायत विभिन्न मुलुक तथा युरोपेली संघ, विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघलगायत संस्थाले उपलब्ध गराएको सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

उहाँका अनुसार नेपालले अन्तर्राष्ट्रिय समुदायबाट उद्धार विशेषज्ञता, उपकरण, लजिस्टिक, चिकित्सा तथा फरेन्सिक सहयोग र आर्थिक सहायता प्राप्त गरेको छ ।

बाढीबाट क्षतिग्रस्त घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारको प्रारम्भिक मूल्याङ्कन भइरहेको जानकारी दिँदै मन्त्री खनालले विस्तृत आवश्यकता मूल्याङ्कनपछि पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोतको यकिन गरिने बताउनुभयो । क्षतिको विस्तृत विवरण तयार भएपछि अन्तर्राष्ट्रिय साझेदारलाई आधिकारिक रूपमा जानकारी गराई पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरिने उहाँले स्पष्ट पार्नुभयो ।

अन्तर्राष्ट्रिय सहयोग पारदर्शिता, जवाफदेहिता र स्पष्ट लक्षित क्षेत्रका आधारमा परिचालन गर्ने सरकारको प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । मौद्रिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत परिचालन भइरहेको जानकारी दिँदै मन्त्री खनालले विपद्को नाममा हुन सक्ने ठगीबाट सचेत रहन र नक्कली क्यूआर कोड, लिंक तथा बैंक खाताबाट सावधान रहन आग्रह गर्नुभयो ।

मन्त्री खनालले भोटेकोशी बाढीलाई तत्कालीन मानवीय संकटका रूपमा मात्रै नभई हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य योगदान गरे पनि तातिँदो हिमालयका असरको ठूलो भार नेपाली जनताले बेहोर्नुपरेको उहाँको भनाइ थियो ।

उहाँले जलवायु न्याय, प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी तथा विपद् प्रतिरोधी पुनर्निर्माणलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । हानि तथा क्षति कोषको बोर्डका सहअध्यक्षहरूलाई तत्काल सहयोगका लागि नेपालले पत्र पठाइसकेको जानकारीसमेत उहाँले दिनुभयो ।

यसैबीच, मन्त्री खनालले भोटेकोशी बाढीको प्रभाव निश्चित भौगोलिक क्षेत्रमा मात्र सीमित रहेको भन्दै नेपालका बाँकी क्षेत्र सुरक्षित र खुला रहेको बताउनुभयो । देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको र काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण, सगरमाथा तथा बर्दियालगायत प्रमुख पर्यटकीय गन्तव्य पर्यटकका लागि खुला रहेको उहाँले जानकारी दिनुभयो ।

कूटनीतिक नियोगका प्रतिनिधिमार्फत आफ्ना नागरिक तथा सम्बन्धित सरकारलाई नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न आग्रह गर्दै मन्त्री खनालले नेपाल पर्यटक स्वागतका लागि तयार रहेको बताउनुभयो ।

उहाँले विपद्को कठिन समयमा छिमेकी, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सरकार राष्ट्रिय स्रोतसाधन परिचालनसँगै अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यलाई निरन्तरता दिने बताउनुभयो । उहाँले कूटनीतिक समुदायलाई विपद्को अवस्थाबारे नियमित रूपमा जानकारी गराउँदै जाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।