१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताला फोरेर पनि एमबीबीएस र बीडीएसको परीक्षा तोकिएकै समयमा हुन्छ



अ+ अ-

काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन डा.जेपी अग्रवालले तोकिएकै समयमा एमबीबीएस र बीडीएसको परीक्षा हुने बताएका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनले सार्वजनिक शिक्षण संस्था सञ्चालन हुने चिकित्सा शिक्षाका स्नातक अध्ययनमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति दिने व्यवस्था सरकारले गरेको थियो । तर भदौ बाट सुरु हुन लागेको परीक्षाको शुल्क भने सो व्यवस्था अनुसार नहुँदा विद्यार्थीहरु आन्दोलित हुँदै आएका छन् ।


हाल उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको भिडियो कन्फरेन्सिङ बैठकमा चिकित्साशिक्षाका प्रवेश परीक्षा कुनै हालतमा नरोक्न निर्देशन दिएपछि डिन कार्यालयको ताला खोलिएको छ ।

यही अन्योलताका बीच आईओएमका डीन अग्रवालले परीक्षा तोकिएकै समयमा हुने र विद्यार्थीलाई तयारी अवस्थामा रहन आग्रह गरेका हुन् ।

‘यसै वर्षबाट विद्यार्थीलाई ७५ प्रतिशत छात्रावृत्ति उपलब्ध गराउने सरकारको निर्णय हो । दिने पक्षमा सरकार पनि छ । विश्वविद्यालयले खुल्ला गरेर हामीलाई पत्र पठाएपछि सरकारले विद्यार्थीहरुको लागि प्रदान गरेको ७५ प्रतिशत छात्रावृत्ति अनुदान सुरु हुन्छ’, उनले भने । विद्यार्थीहरुले लगाएको ताला फोरेर पनि परीक्षा लिने तयारीमा सरकार रहेको छ ।

यता आन्दोलनरत विद्यार्थीहरुले भने ऐनमा आइसकेको कुरा कायान्वयन गर्नलाई कुनै पनि समस्या नभए पनि सरकार आफैले कार्यान्वयन गर्न नचाहेको आरोप लगाएका छन् ।

आइओएमको विभिन्न विषयको परीक्षा भदौ २१ बाट सुरु हुँदैछ । सो परीक्षाको लागि २० हजारले आवेदन दिइसकेका छन् । यस परीक्षाको लागि चीन, भारत, अमेरिका लगायतका देशबाटसमेत विद्यार्थीले आवेदन दिएका छन् ।