९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता

रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता
अ अ+ अ-

हेटौँडा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बागमती प्रदेश सरकारले उद्धार, राहत, यातायात व्यवस्थापन तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिएको छ । प्रदेश सरकारले बाढी प्रभावित रसुवा र नुवाकोटमा तीनै तहका सरकारबीच समन्वय गरी तत्कालीन राहतदेखि क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणसम्मका काम अघि बढाएको जनाएको छ ।

बाढी आएको भदौ १० गते साँझ नै प्रदेश सरकारले नुवाकोटको विदुरमा स्थलगत निरीक्षण गरी सङ्घीय सरकार तथा स्थानीय तहका अधिकारीसँग छलफल गरेको थियो । त्यसको भोलिपल्ट भदौ ११ गते बिहान ७ः१५ बजे तीन तहका सरकारका अधिकारीबीच समन्वय बैठक गरी उद्धार गरिएकालाई चार स्थानमा आश्रय, खाना तथा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको थियो । प्रभावित क्षेत्रमा चारवटा हेल्थ क्याम्पसमेत सञ्चालनमा ल्याइएको प्रदेश सरकारले जनाएको छ ।

उद्धार तथा राहतलाई प्रभावकारी बनाउन भदौ ११ गते विदुरमा सम्पर्क तथा समन्वय केन्द्र स्थापना गरी पाँचवटा विषयगत कार्यदल गठन गरिएको थियो । सोही दिन दिउँसो १ः३० बजे प्रदेश सरकारको हेटौँडास्थित गोदाममा मौज्दात रहेका २८० थान त्रिपाल, ५० थान टेन्ट तथा १७० सेट गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा उपलब्ध गराइएको थियो ।

मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश सरकारको टोली धुन्चे पुगेको थियो । बाढीका कारण प्रभावित नागरिकको आवागमन सहज बनाउन विदुर–काठमाडौंबीच करिब १०० नागरिकको आवागमन व्यवस्थासमेत मिलाइएको प्रदेश सरकारले जनाएको छ ।

भदौ १२ गते रसुवा र नुवाकोटमा सर्वपक्षीय बैठक आयोजना गरी उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा आवश्यक निर्णय गरिएको थियो । अस्पताल, यातायात तथा टेलिकम सेवा सञ्चालनमा सहयोग पुर्‍याउन ४०० लिटर डिजेल र २०० लिटर पेट्रोल उपलब्ध गराइएको छ । साथै, उद्धार, राहत र पुनर्स्थापनाका लागि थप १० जना अधिकृत कर्मचारी परिचालन गरिएको प्रदेश सरकारले जनाएको छ ।

बाढीबाट भएको क्षति तथा तत्काल आवश्यक राहत सामग्रीको यकिन विवरण संकलन गर्न प्रदेश सरकारले स्थानीय तहसँग क्षति र राहत आवश्यकताको विवरण माग गरेको छ ।

बाढीका कारण ४० भन्दा बढी पुल क्षतिग्रस्त भएपछि प्रदेश सरकारले बेलिब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माणको सम्भाव्यता अध्ययन र प्राथमिकता निर्धारणको काम अघि बढाएको छ । अत्यावश्यक स्थानमा यस्ता संरचना निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाइएको प्रदेश सरकारको भनाइ छ ।

प्रभावित नागरिक तथा यात्रुको आवागमन सहज बनाउन धुन्चे–महावीर, चौगटे–काठमाडौं र विदुर–काठमाडौं निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । धुन्चेसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने कामलाई समेत तीव्रता दिइएको प्रदेश सरकारले जनाएको छ ।

बाढीका कारण विभिन्न स्थानमा अलपत्र परेका यात्रुका लागि खानपानको व्यवस्था मिलाउनुका साथै अवरुद्ध सडक सफा गरी यातायात सञ्चालनमा ल्याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ । प्रदेश सरकारले आफ्ना कर्मचारीलाई निरन्तर उद्धार, राहत तथा पुनर्स्थापनाको काममा खटिन निर्देशन दिएको छ ।

यसैबीच, विपद् व्यवस्थापनमा विद्यावारिधि गरेका डा. दीपकविक्रम थापा क्षेत्रीलाई बागमती प्रदेश सरकारले विपद् व्यवस्थापनसम्बन्धी डिजास्टर एडभाइजरका रूपमा परिचालन गरेको जनाएको छ । उहाँले विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा जोखिम न्यूनीकरणसम्बन्धी काममा प्रदेश सरकारलाई प्राविधिक तथा नीतिगत सुझाव दिइरहनुभएको छ ।

प्रदेश सरकारले तत्कालीन उद्धार तथा राहतसँगै क्षतिग्रस्त सडक, पुललगायतका पूर्वाधार पुनःस्थापना र प्रभावित क्षेत्रलाई नियमित यातायात तथा अत्यावश्यक सेवासँग जोड्ने कामलाई प्राथमिकतामा राखेको जनाएको छ ।