१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने



अ+ अ-

काठमाडौँ।  शहरी विकास तथा भवन निर्माण विभागले भदौ १० गतेको भोटेकोशी बाढीबाट देशका विभिन्न जिल्लामा ७ हजार ५ सय ७० वटा निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ ।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक ई. रवीन्द्र बोहराले बाढी र पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनस्र्थापना योजनाबारे जानकारी दिनुभएको हो ।

विभागको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङ जिल्लामा भएको छ । नुवाकोटमा ३ हजार ९ सय ७७, धादिङमा ३ हजार ४ सय ५१ र रसुवामा १ हजार ७ सय ७९ घरमा क्षति पुगेको छ । यसैगरी गोरखामा २ सय ६३ र चितवनमा ६१ वटा घर क्षतिग्रस्त भएका छन् । निजी आवासतर्फ करिव १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ ।

त्यस्तै, ४५ वटा सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति पुगेको छ, जसको आर्थिक भार करिव साढे ४ अर्ब रुपैयाँ बराबर रहेको महानिर्देशक बोहराले बताउनु भयो ।

हाल बाढीपहिरो प्रभावित ३ हजार ४ सय ५० जना व्यक्तिहरू १८ वटा विद्यालय र विभिन्न सामुदायिक भवनहरूमा आश्रित छन् । विद्यालयहरू पुनः सञ्चालन गर्नुपर्ने भएकाले विस्थापितहरूलाई तत्काल स्थानान्तरण गर्न विभागले तीन हप्ताभित्र ‘ट्रान्जिसनल सेल्टर’ (अस्थायी आवास) निर्माण गर्ने लक्ष्य राखेको छ ।

महानिर्देशक बोहराकाअनुसार प्रिफ्याब प्रविधिको प्रयोग गरी प्रति आवास करिव एक हजार डलरको लागतमा अस्थायी घरहरू निर्माण गरिनेछ । यसका लागि करिव ९० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा विभिन्न दातृ निकायहरूको समेत सहयोग रहने अपेक्षा गरिएको छ । २०७२ सालको भूकम्पको तुलनामा यस पटकको विपद्को प्रकृति फरक रहेको विभागको ठम्याइ छ ।

उहाँले भन्नुभयो, ‘भूकम्पमा घरहरू मात्र भत्किएका थिए, तर यसपटक बाढीले बस्ती नै बगाएको छ । धेरै स्थानमा जग्गा नै असुरक्षित भएकाले नयाँ जग्गा प्राप्ति र सुरक्षित स्थानको पहिचान गर्नु हाम्रो मुख्य चुनौती हो ।’

स्थायी बसोवासका लागि विभागले नुवाकोटको विदुर क्षेत्रलाई उपयुक्त स्थानका रूपमा प्रारम्भिक अध्ययन शुरु गरेको छ। स्थायी आवास निर्माणका लागि सरकारले प्रतिघर ७ लाख रुपैयाँसम्म अनुदान दिनसक्ने अनुमान गरिए पनि यसबारे मन्त्रिपरिषद्ले ठोस निर्णय गर्न बाँकी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

हाल विभागका चारवटा प्राविधिक टोली धादिङ, नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा खटिएका छन् । ती टोलीको विस्तृत प्रतिवेदन आएपछि ट्रान्जिसनल सेल्टर र स्थायी बस्ती विकासको कामलाई थप गति दिइने विभागले जनाएको छ । –न्युज एजेन्सी नेपाल