काठमाडौं । हिमालयन बैंक लिमिटेडले रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा उक्त रकम प्रदान गर्ने निर्णय गरेको जनाएको छ।
२०८३ भदौ १० गते बिहान रसुवा जिल्लाबाट बग्ने भोटेकोशी नदीमा अचानक गेग्य्रानसहितको बाढी आएको थियो। बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्तीहरू प्रभावित हुनुका साथै ठूलो जनधनको क्षति भएको छ।
हिमालयन बैंकले उक्त अप्रत्याशित प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ।
बैंकले विपद्को यस दुःखद् घडीमा प्रभावित सबैलाई धैर्य धारण गर्न आग्रह गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सम्बन्धित सबै पक्षलाई सक्रिय रूपमा जुट्न अनुरोध गरेको छ।
साथै, बैंकले विपद्बाट प्रभावित समुदायको साथमा रहँदै आवश्यक सहयोगका लागि आफू सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ।









