काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै कांग्रेस संसदीय दलले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीका कारण ठूलो संख्यामा नागरिकको मृत्यु हुनुका साथै धेरै व्यक्ति बेपत्ता र घाइते भएको उल्लेख गर्दै वास्तविक क्षतिको विवरण अझै यकिन हुन नसकेको जनाएको छ ।
भौगोलिक कठिनाइ र सञ्चार सम्पर्क विच्छेदका कारण क्षतिको पूर्ण विवरण संकलनमा समस्या भइरहेको भन्दै कांग्रेसले बेपत्ता नागरिकको खोजी तथा उद्धार, घाइतेको उपचार, विस्थापित परिवारको पुनःस्थापना र प्रभावित नागरिकलाई आवश्यक मनोपरामर्शलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चारलगायत अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःनिर्माण तथा पुनःस्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन तत्काल प्रभावकारी कदम चाल्न पनि कांग्रेसले माग गरेको छ ।
संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वयको अभाव रहेको तथा उद्धार, राहत र पुनःस्थापनाका काम व्यवस्थित र प्रभावकारी नभएको स्थानीयवासीको गुनासो पाएको कांग्रेसले जनाएको छ । तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी पीडितलाई न्यायोचित ढंगले राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ ।
बाढीपीडितको तत्काल उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले संसदीय दलका नेता आङदेम्बेको एक महिनाको तथा नेपाली कांग्रेसका संघीय सांसदहरूको १५ दिन बराबरको तलब सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
यसैगरी, प्रभावित जिल्लाका समस्या तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा संसद्मा गहन छलफल आवश्यक रहेको भन्दै कांग्रेस संसदीय दलले सदन सुचारु गर्न आग्रह गरेको छ । प्रभावित क्षेत्रका समस्याबारे एकीकृत सुझावसहित सरकारको ध्यानाकर्षण गराउन संसद्को भूमिका प्रभावकारी बनाउनुपर्ने कांग्रेसको भनाइ छ ।
कांग्रेस संसदीय दलले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्था, सञ्चारमाध्यम तथा स्वयंसेवकप्रति आभार व्यक्त गरेको छ । उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, संघसंस्था र सहयोगी व्यक्तिहरूलाई समेत धन्यवाद दिएको छ ।
बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यातायात तथा आपूर्ति व्यवस्था प्रभावित भएको भन्दै कांग्रेसले सुरक्षित वैकल्पिक सडक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । साथै दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी हुन सक्ने अवस्थाप्रति सचेत रहँदै नियमित आपूर्ति सुनिश्चित गर्न तथा बजार अनुगमनलाई कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।








