१५ भाद्र २०८३, सोमबार
,
Latest
पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका



अ+ अ-

दाङ, १५ भदौः बर्दियाको गेरुवा गाउँपालिकाका ५६ वर्षीय शिवराज चापागाईँलाई तुलसीपुर उपमहानगरपालिका–७ मा अवस्थित राप्ती शान्ति उद्यानको भ्रमण गर्दा जीवनमै पहिलोपटक मनमोहक स्थानमा पुगेको अनुभूति भयो । उहाँ भन्नुहुन्छ, “उद्यान देख्दा निकै आनन्द आयो, पार्कको बारेमा धेरैको मुखबाट सुनेको थिएँ तर आज प्रत्यक्ष घुम्न पाउँदा खुशी लाग्यो । यहाँको सुन्दरताले आफू लोभिएको छु ।”

उहाँलाई आफन्तको घरमा भेटघाटका लागि आएको मौकामा पार्क घुम्ने अवसर मिलेको थियो । ‘‘पार्कको बारेमा पहिले सुनेको त थिए तर यति सुन्दर र व्यवस्थित होला भन्ने यही आएर मात्र थाहा भयो’’, उहाँ भन्नुहुन्छ । सोही पार्कमा भेटिनु भएकी कपिलवस्तुको तौलिहवाकी ५५ वर्षीया शारदादेवी गुप्ताले उद्यान अवलोकनका लागि आएको बताउनुभयो । शिक्षण पेशामा रहेको बताउनु हुने उहाँ शनिबार र आइतबारको बिदाको सदुपयोग गर्दै शिक्षक, विद्यार्थीहरुलाई पनि यहाँका विभिन्न पर्यटकीय तथा धार्मिक स्थल अवलोकनका लागि ल्याउनुपर्ने धारणा राख्नुहुन्छ ।

श्रीगणेश सामुदायिक वनभित्र निर्माण गरिएको यस उद्यानको शान्त मनोरम दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ । सशस्त्र द्वन्द्वको समयमा देशमा शान्तिको सन्देश दिन भन्दै निर्माण गरिएको यस उद्यान अहिले जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बन्न सफल भएको छ । यस क्षेत्रका नागरिक, समाजसेवी, उद्योगी, व्यापारी, सरकारी निकाय, वन समूहका पदाधिकारी तथा उपभोक्ताहरु सम्मिलित बृहत् भेलाबाट देशमा शान्तिको सन्देश फैलाउने उद्देश्यले निर्णय गरिएको हो । स्थानीय युवा तथा सामुदायिक वनका उपभोक्ता हरि रिजालको संयोजकत्वमा निर्माण समिति गठन गरी २०५९ माघ ८ गते देखि त्यहाँ पार्क निर्माणको काम सुरु गरिएको थियो । पार्क निर्माणको लागि आवश्यक पर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको थियो ।

सुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट रु ३७ लाख ५० हजार अनुदान प्राप्त भएको र सो रकमबाट पार्क निर्माणको कामको थालनि गरीएको पार्क व्यवस्थापन समितिले जनाएको छ । त्यसपछि पनि पटक पटक गरी सरकारी निकाय, तुलसीपुर उपमहानगर नगरपालिका, यस क्षेत्रका जनप्रतिनिधि, लुम्बिनी प्रदेश सरकारबाट प्राप्त आठ करोड रुपैयाँबाट समितिको कार्यालय भवन, पर्खाल, शौचालय, गेट, वनभोजस्थल लगायतका चिडियाखाना, गौतमबुद्धको मूर्तिलगायतका थुप्रै पूर्वाधार निमार्णमा खर्च गरिएको श्री गणेश सामुदायिक वनका अध्यक्ष डिल्ली भण्डारीले जानकारी दिनुभयो ।

विगतका वर्षमा झाँडी र निलकाटा मात्र रहेको यो ठाउँ अहिले यहाँका वन समूहका उपभोक्ता, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीयवासी, सञ्चारकर्मी, आम यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा सरकारी निकायले गरेको अमूल्य योगदानले गर्दा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने ठूलो केन्द्र बनेको छ । पहिले सुनसान रहेको यस क्षेत्र अहिले व्यापारिक केन्द्र बनेको छ । घरघरमा सामान खरिद तथा बिक्रिका लागि पसल रहेका छन् । राप्ती राजमार्गअन्र्तगत तुलसीपुर–सल्यान सडक खण्डदेखि तीन किलोमिटर उत्तरमा रहेको श्रीगै गाउँबाट झन्डै डेढ पूर्वमा पर्ने सो पार्कको पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तरतर्फ गणेशपुर गाउँ पर्दछ ।

यस उद्यान अवलोकन, घुमघामका लागि स्वेदेशी मात्र नभई विदेशी पर्यटकहरु पनि आउने गरेका छन् । वर्षाद्को समयले पनि अवलोकन गर्न आउने पर्यटकलाई रोकेको छैन । उद्यानमा घुमघामका लागि धेरै जिल्लाका र भारतबाट समेत पर्यटकहरु घुम्न आउने सङ्ख्या बढेको पार्क व्यवस्थापन समितिले जनाएको छ । त्यहाँ निर्माण गरिएको शान्ति बाटिकामा पर्यटकहरुले जन्मदिन, बेबी सावर, प्रेम दिवस, वैवाहिक वर्षगाँठलगायत मनाउन आउनेहरुको भिड नै लाग्ने गर्दछ । आर्थिक वर्ष २०८२÷८३ मा तीन लाख ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले सो उद्यान अवलोकन गरेका थिए । यहाँ आउने पर्यटकहरुले तस्बिर खिच्ने, टिकटक बनाउने रमाइलो गर्ने गरेका छन् ।

यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले तिर्ने गरेको शुल्क पार्कको मुख्य आम्दानीको स्रोत हुने गरेको छ । उद्यानको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खान दैनिक चार–पाँच सयको सङ्ख्यामा पर्यटकहरु आउने गरेको राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुधिर केसीले बताउनुभयो । उहाँका अनुसार पार्क अवलोकन गर्न आउनेहरुबाट प्रतिव्यक्ति रु ५० शुल्क निर्धारण गरिएको छ भने वनभोज खान आउने समूहबाट रु तीन सयदेखि पाँचसयसम्म शुल्क निर्धारण गरिएको छ । अहिले सो पार्कमा १६ जनाले रोजगारी पाएका छन् ।

सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष बोधप्रसाद खनालका अनुसार पर्यटक शुल्क, माछापालन, पिक्निक स्पोट भाडामा दिएबापत शुल्क, विभिन्न जातजातिका पोसाक, क्यामेरा, पार्किङ शुल्कबाट करिब वार्षिक रु दुई करोड २० लाख आम्दानी हुने गरेको छ । उद्यानबाट भएको आम्दानी कर्मचारीको खर्च व्यवस्थापन, त्यहाँ पालन गरिएका पशुपंक्षीको आहार तथा उद्यानमा थप संरचना निर्माणमा खर्च हुने गरेको छ । सबै खर्च कटाएर बचत भएको रकम संस्थाको खातामा जम्मा गरिने खनालले बताउनुभयो । तीनै तहका सरकार, विभिन्न क्षेत्रबाट यसको विकास र विस्तारका लागि पटकपटक गरी रु आठ करोड र स्थापनादेखि हालसम्म उपभोक्ताबाट रु सात करोड गरी यहाँ १५ करोड लगानी भइसकेको बताइएको छ ।

करिब १५ हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । उद्यानको उत्तरतर्फ बालबालिकाहरुका लागि बाल निर्माण गरिएको क्षेत्रमा बेबी रेल, पिङ, चिप्लेटी र नजिकैमा स्विमिङ पुलको निर्माण गरिएको छ । त्यसैगरी सो पार्क चराचुरुङ्गीको मधुर स्वर र प्राकृतिक तथा जैविक विविधताले पनि उद्यानलाई भरिपूर्ण पारेको छ । त्यहाँ विभिन्न प्रजातिका वनस्पति र फूलहरुको बगैँचाको सुन्दरता थपेका छन् ।

त्यसैगरी, उत्तरतर्फ सानो चिडियाखाना पनि निर्माण गरिएको छ । यहाँ चितुवा, दुम्सी, घोरल, खरायो, मृग, चित्तल उल्लुलगायतका विभिन्न प्रजातिका जनावर तथा पशुपंक्षीहरु राखिएका छन् । पार्कभित्रको मुख्य आर्कषणमा भगवान् गौतम बुद्धको प्रतिमा रहेको छ । मूलद्वारबाट पार्कभित्र प्रवेश गरेपछि सुरुमै बुद्धको प्रतिमा देख्न सकिन्छ । त्यस्तै त्यहाँ हात्ती, गैँडा, जिराफ, जेब्रा, घोडा, चिपान्जी, गोही लगायतका जनावरहरुको अकृति फाइबर र कङ्क्रिट बाट निर्माण गरी राखिएका छन् । ती तस्वीरहरुसँग सानासाना बालबालिका र युवाहरुले फोटो खिच्ने, मनोरञ्जन लिने गर्दछन् ।

यस उद्यानमा पर्यटकहरुलाई फोटो तथा भिडियोबाट मनोरञ्जन लिनका लागि मगर, नेवार, थारु, तामाङलगायतका जातिहरुले प्रयोग गर्ने पोसाकको पनि व्यवस्था छ । ती पोशाक लगाएर फोटो खिच्ने, टिकटक बनाउनको सङ्ख्या पनि दिनहुँ बढिरहेको देख्न पाइन्छ । सो क्षेत्रमा एउटा बोटिङ पुल एक कृत्रिम जलाशय निर्माण गरिएको छ । पर्यटकहरुलाई ढुङ्गामा सयर गराउन र जङ्गली जनावरको सरक्षणका लागि जलाशय निर्माण गरिएको हो ।

त्यस्तै उद्यानमा आदिकवि भानुभक्त आचार्यको प्रतिमा पनि राखिएको छ । हाल सो उद्यानमा निर्माण गरिएको ग्लोवल फाउन्टेनले विद्यार्थीहरुलाई पृथ्वी कसरी घुम्छ भने बारेमा जानकारी हुने बताएको छ । पर्यटकहरुलाई मनोरञ्जन दिन र आम्दानीको स्रोतका लागि जीप लाइन बनाउने लक्ष्य रहेको पार्क व्यवस्थापन समितिका संयोजक केसी बताउनुहुन्छ ।

पर्यटकलाई निःशुल्क आँखा उपचार सुरु

राप्ती शान्ति उद्यानको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई साप्ताहिक रुपमा निःशुल्क आँखा उपचार सेवा सुरु गरिएको छ । उद्यानको अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकहरुका लागि राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोग तथा राप्ती शान्ति उद्यानको साझेदारीमा प्रत्येक शनिबार निःशुल्क आँखा उपचार सेवा प्रदान गरिएको पार्क व्यवस्थापन समितिका अध्यक्ष सुधिर केसीले जानकारी दिनुभयो ।

राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गिरीले राप्ती शान्ति उद्यानमा साप्ताहिक रुपमा पर्यटकहरुका लागि आँखा उपचार सेवा प्रवाह गरेको बताउनुभयो । उहाँले उद्यानमा स्थापना गरिएको आँखा उपचार केन्द्रमा आउने विरामीहरुको निःशुल्क आँखा परीक्षण गरिनुका साथै मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने विरामी फेला परेमा अस्पतालले ५० प्रतिशत छुटको व्यवस्था मिलाएका छौँ भन्नुभयो । प्रत्येक शनिबार बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म आँखाको उपचार सेवा सञ्चालन गरिएको छ । रासस