१४ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो



अ+ अ-

काठमाडौँ: रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार बाढीको फ्लोका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि पुल बाङ्गिएको हो । करिव ६ सय टन वजन क्षमता रहेको पुल उचालिएर बाङ्गिएको महानिर्देशक जैसीले जानकारी दिनुभयो । जैसीकाअनुसार कोल्पुखोला पुल करिब ४० मिटर लामो प्रि–स्ट्रेस्ड ब्रिज हो । बाढीको बहावले पुलको माथिल्लो भागमा रहेको बियरिङमा अत्याधिक बल लगाएपछि पुलको एकातर्फ धेरै र अर्कोतर्फ कम उचाईमा उठेको उहाँले जानकारी दिनुभयो । पुल आफ्नो बियरिङमा बस्नुपर्ने भएपनि हाल स्टपरमा आएर बसेको उहाँको भनाई छ । यसका कारण पुलले डिजाइनअनुसारको भार वहन गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।

उहाँकाअनुसार पुललाई तत्काल चारैतिर ज्याक राखेर उचाली पुनः बियरिङमा सही स्थानमा राख्ने तयारी भइरहेको छ । यसका लागि गल्छी–बेत्रावती सडक आयोजनाले ठेकेदारसँग समन्वय गरेर आवश्यक प्राविधिक टोली खोजिरहेको उहाँले जानकारी दिनुभयो । पुल मर्मत नभएसम्म हालका लागि हलुका सवारीसाधन मात्र सञ्चालन गर्न दिने तयारी विभागको छ । पुलमा असन्तुलित रूपमा भार पर्दा स्टपरमा थप क्षति हुनसक्ने भएकाले भारी सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको उहाँले बताउनु भयो । नुवाकोटको देवीघाटमा बेली ब्रिज निर्माण गरेर भारी सवारीसाधन सञ्चालनको वैकल्पिक व्यवस्था गर्नेबेलासम्म कोल्पुखोला पुललाई पनि उचालेर बियरिङमा पुनःस्थापना गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो ४० मिटरको प्रि–स्ट्रेस ब्रिज हो । त्रिशूलीबाट ब्याकफ्लो आयो, त्यसपछि बाढीको फ्लोका कारण पुलमाथि बेयरिङमा धेरै दबाब परेछ । यो पुल करिव ५००–६०० टनको होला, त्यसले पुललाई उचालिदिएछ । एकातिर धेरै उचालिएको छ भने अर्कोतिर निकै कम उचालिएको छ, त्यसैले पुल बाङ्गिएको छ । पुल बेयरिङमा बस्नुपर्नेमा स्टपरमा आएर बसेको रहेछ । अब यसलाई हामीले तुरुन्तै चारैतिर ज्याक राखेर उचाल्नुपर्छ । ब्रिज उचाल्ने मेकानिजम हुन्छ, त्यसका लागि हामीले कन्ट्र्याक्टरहरूसँग भेटेर आवश्यक प्रक्रिया अघि बढाउँछौँ । गल्छी–बेत्रावती योजनाले तुरुन्तै यसलाई उचालेर आफ्नो ठाउँमा बेयरिङमा प्लेसमेन्ट गर्नुपर्छ । त्यसपछि मात्रै यसले डिजाइनअनुसारको लोड लिन सक्छ । अहिले यसले अलिकति असुरक्षित तरिकाले लोड लिइरहेको छ । धेरै लोड प¥यो भने स्टपरमा असर पर्न सक्छ । त्यसैले अहिले यसलाई सीमित रूपमा, लाइट भेहिकलका लागि मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्छ । देवीघाटमा बेली ब्रिज बनेर हेभी भेहिकल आउन थाल्ने बेलासम्म यो पुललाई उचालेर आफ्नो स्थानमा राखिसक्नुपर्छ । यसका लागि आवश्यक टोली खोज्छौँ, नेपालमा पुल उचाल्ने कामका लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध छन् भने उनीहरूलाई परिचालन गर्छौ नभएमा भारतबाट ल्याएर भएपनि पुल उचाल्नुपर्छ ।’

उहाँले गल्छी–स्याफ्रुबेसी बेत्रावती सडकखण्ड पनि दुईहप्ताभित्र सञ्चालनमा ल्याउनेगरी विभागले काम गरिरहेको बताउनु भयो । बाढीका कारण करिब ४० किलोमिटर सडक वासआउट भएको छ । नुवाकोटको सदरमुकाम विदुरभन्दा माथि बेत्रावतीसम्मको करिब १० किलोमिटर सडकखण्डमध्ये चारदेखि पाँच किलोमिटर सडक त्रिशूली नदीमा मिसिएको उहाँले जानकारी दिनुभयो । बगेको सडकखण्डमा तत्काल अस्थायी रूपमा सडक सञ्चालन गर्ने उपाय खोजेर काम अघि बढाइएको उहाँको भनाई छ । उहाँले रसुवाको सदरमुकाम धुञ्चे जोड्ने वैकल्पिक मार्ग पहिचान गरिएको जानकारी दिनुभयो । बेत्रावतीतर्फबाट धुन्चे जोड्ने वैकल्पिक बाटो पहिचान गरिएकोले सो मार्ग सञ्चालनमा ल्याउने तयारी भएको उहाँको भनाई छ । तर मैलुङ–स्याफ्रुबेसी खण्डमा भने तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको बिदुरभन्दा माथि बेत्रावतीसम्म करिव १० किलोमिटर सडक खण्डमध्ये ४–५ किलोमिटर सडक पूर्ण रूपमा त्रिशूलीमा गएर मिसिएको अवस्था छ । त्यहाँ हामीले वीपी हाइवेमा जस्तै सडकलाई सडकबाटै सञ्चालन गर्ने अथवा अन्य कुनै वैकल्पिक व्यवस्थाबाट सञ्चालन गर्ने भन्ने विषयमा काम गरिरहेका छौँ । त्यहाँ रनिङ कन्ट्रयाक्टर पनि हुनुहुन्छ । उहाँहरूसँग समन्वय गरेर सडक सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । अहिलेको अवस्था हेर्दा करिब दुई हप्ताको लक्ष्य लिएर हामी काम गरिरहेका छौँ । त्यसको अलावा धुन्चे जोड्नका लागि हामीले अर्को वैकल्पिक बाटो पहिचान गरेका छौँ । अहिले मैलुङतिर जाने अवस्था छैन । मैलुङ–स्याफ्रुबेसी खण्ड पनि सञ्चालन गर्न सकिने अवस्थामा छैन । त्यसैले अहिले धुन्चेलाई जोड्ने गरी बेत्रावतीतिरको सडक खण्ड छिट्टै खुलाउने तयारी गरिरहेका छौँ ।’

चीनको तिब्वतबाट भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ । सडक विभागले क्षतिको यकिन विवरण निकाल्न सकेको छैन । विभागले प्रारम्भिक चारण्मा कम क्षति भएका संरचनालाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ । यस्तै तत्काल सञ्चालन गर्न नसकिने सडक तथा पुलको लागि वैकल्पिक सडकमार्ग पहिचान गर्ने काम भईरहेको विभागले जनाएको छ । –न्युज एजेन्सी नेपाल

 




भर्खरै